तमु समाज यूके नृत्य प्रतियोगितामा प्रथम, एम्बासडर कपमा तेस्रो स्थान

शिबशरण गुरुङ, पूर्ब अध्यक्ष तमु समाज युके ।

लण्डन । “हाम्रो संस्कृति, हाम्रो पहिचान, हाम्रो गौरव” भन्ने नाराको साथ- नेपाली कला, संस्कार र संस्कृतिको संरक्षण र सम्बर्द्धन गर्ने, नेपाली कला, संस्कृति र पहिचानलाई मुलुक बाहिर परिचित गराउने, नेपालको पर्यटनको प्रबर्द्धन गर्ने, बेलायतमा रहेको नेपाली समुदयका बिभिन्न संघ संस्था र समाजहरुबिच पारस्परिक सम्बन्धलाई सबल र सुमधुर बनाउने र नेपाली कलाकारहरुको प्रतिभाहरुलाई प्रदर्शन र बिकास गराउने मुख्य उदेश्य लिई प्रत्येक बर्ष तमु धिं एसोसिएसन युकेले आयोजना गर्ने रमाईलो बृहत नेपाली मेला २०२२ अईतबार २८ अगस्तका दिन लण्डन स्थित केमटोन पार्क रेसकोर्समा भव्यताका साथ सम्पन्न भयो ।

बेलायतको लागि नेपाली राजदुत महामहिम श्री ज्ञान चन्द्र आचर्यको प्रमुख अथित्यमा सम्पन्न मेलामा बेलायत स्थित तीन दर्जनबढी संघसंस्थाहरुले भाग लिएका थिए भने हजारौको सन्ख्यामा दर्शकहरुको उपस्थिती रहेको थियो । नेपाली मेलाको प्रमुख आकर्षण सांस्कृतिक झाँकी र नृत्य प्रतियोगितामा यस बर्ष पनि थुप्रै नेपाली संघसंस्था र समाजहरुले भाग लिएका थिए । झाँकी तर्फ सिक्लेस पार्चे समाज प्रथम हुन सफल बन्यो भने नृत्य प्रतियोगितामा तमु समाज यूकेको कौरा नाच बिजयी भयो ।

तमु समाज यूकेले नेपालको आदिबासि जनजाति समूदायका मगर, गुरुङ र दुरा जातीमा प्रचलित प्रमुख लोकनाचहरु मध्ये कौरा नाच प्रस्तुत गरेका थिए । यो कौरा नाच धार्मिक तथा सामाजिक लोकनाच हो । यो नाच नेपालको मध्य पश्चिम अन्चल क्षेत्रका पाल्पा, तनहुँ, लम्जुङ र गोर्खा जिल्लाहरुमा बिशेष गरि नाच्ने गरिन्छ । सरु गुरुङ रानाको कोरियोग्राफिमा तयार पारिएको नेपाली समुदायमा सदियौ देखि बिभिन्न परिस्थीतिले आफ्नो परिवारको सदस्यहरु लाहुरे बनेर बिदेस यात्रामा निस्कनु पर्ने र परिवार संग लामो समय छुट्टिनु पर्ने बियोगान्त परिघट्ना गित, संगित र झोरा नृत्यको माध्यम बाट चित्रण तथा प्रदर्शन गराउने जमर्को गरेका थिए ।

तमु समाज युकेको प्रस्तुती झोरा संस्कृतिक नृत्यले दर्शकहरुलाई अत्याधिक मनोरंजन गराएका थिए । तमु समाज युकेको नृत्यमा भागलिने कलाकारहरुमा ओसिएन, दिया, प्रज्जु, सुमी, झरिना, निया, जिरिसा, सुजता, र गित तथा संगितमा भाग लिनु हुने श्रीमती सुर्य कुमारि गुरुङ, श्रीमती लिल कुमारि गुरुङ, श्रीमती कुबिन्धर गुरुङ, सुश्री बिजु गुरुङ, अर्जुन कुमार गुरुङ, ज्ञान बहादुर गुरुङ, धरम बल गुरुङ, सुव घले, उदय गुरुङ, खेम बहादुर गुरुङ, सन्तोक गुरुङ, गोपाल गुरुङ, सुवास गुरुङ र प्रज्वाल गुरुङ रहेका थिए। श्रीमती सरु गुरुङ रानाको नृत्य कोरियोग्रफीमा संगितको संयोजन तथा निर्देशन श्री कुमार गुरुङले गरेका थिए ।

तमु सामज युकेले नेपाली मेला-२०२२मा भाग लिन अध्यक्ष शिब कुमार गुरुङको संयोजकत्वमा एक समिति गठन गरी झाँकी तथा नृत्य प्रतियोगितामा भाग लिने निर्णय गरेको थियो । सोही अनुरुप समाजले मेलामा रंगी चंगी कला र संस्कृतिको झाँकी प्रदर्शन गरेका थिए । तमु समाज युकेले यस बर्षको नेपाली मेलामा तमु (गुरुङ) भेष भुषामा सजिएर ठुलो संख्यमा नेपाली मेलामा सहभागि बनौं, हाम्रो कला संस्कृतिको जगेर्ना गरौं, भन्ने मूल मर्मलाई आत्मसात गर्दै कौरा नाच सहितको तमु सांस्कृतिक झाँकि सगौरव प्रस्तुत गरेका थिए ।

त्यस्तै एम्बासीडर कपमा तमु समाज यूकेले तेस्रो स्थान प्राप्त गरे । झाँकी तथा नृत्य प्रतियोगिताको प्राप्त अंकको आधारमा सहभागी संघसंस्थाहरुलाई पुरस्कृत गर्ने गर्दछ । उत्कृष्ट नृत्य र आकर्षक झाँकी प्रस्तुत गरे बापत तमु समाज यूकेले तेस्रो स्थान प्राप्त गर्न सफल भएको हो । नेपाली राजदूताबास लण्डनले प्रायोजन गरेको एम्बासडर कप नेपाली कला, संस्कार, संस्कृति र पहिचानलाई संगरक्षण, सम्बर्द्धन र प्रबर्धन गर्न तमु धिं युकेले हरेक बर्ष आयोजन गर्ने नेपाली मेलाको अवसरमा संस्कृतिक झांकी र नृत्य प्रस्तुतिको मुल्यङकन गरि प्रथम हुने समाज व संघ संस्थालाई पुरस्कृत गरिन्छ।

यसबर्ष नेपाली मेलाको झाँकि प्रतियोगिताको निर्णायक मण्डलमा बिमला सेने, गोमा राना, प्रमिला लाबुङ राई पदम गुरुङ र कल्पना राई थिए। यसैगरि नृत्य प्रतियोगिताको निर्णायक मण्डलमा सरु गुरुङ राना, कृष्ण गुरुङ र काबिता घर्ति मगर गुरुङ रहेका थिए। झाँकि तथा नृत्य प्रतियोगिताको उदघोषक द्वय सूर्य गुरुङ र योगेस गुरुङलाई अन्य महिला उदघोषिकाहरुले सघाएका थिए।

तमु समाज युकेले लामो समयको अन्तराल पछि गत बर्षको नेपाली मेलामा झाँकि र नृत्य दुबै ईभेन्टमा प्रसंशानिय सहभागिता जनाए पनि प्रतियोगितामा भाग लिएको थिएन । नेपाली कला संस्कृतिको संरक्षण तथा सम्बर्ध्दन गर्ने हामी सबैको साझा दायित्व सम्झी यस बर्ष समाजले यस बर्षदेखी प्रतियोगितामा भाग लिएको हो । नेपाली मेलामा बेलायतमा रहेका नेपाली समूदयका बिभिन्न संघ संस्थाहरुले प्रस्तुत गरेका बिभीन्न नेपाली लोक नृत्य, कला र संस्कृतिक झाँकीहरुबाट सिङ्गै नेपाल बेलायतमा देख्‍न पाएका थिए । नेपाली मेलामा सबैले आ-आफ्नो मौलिक कला, संस्कार र संस्कृति प्रदर्शन गर्ने अवसर प्राप्त गरेको छ । यसै गरि नेपाली मेला सबैले आ-आफ्नो व्यापर व्यबसायको प्रचार प्रसार तथा प्रबर्धन गर्ने थलो बनेको छ ।

नेपाली मेलाको परिकल्पनाकार सुबास सिङ गुरुङ र संयोजक चित्र बहादुर गुरुङ

सायद कतिलाई जानकार नहुन सक्छ, बेलायतमा नेपाली मेलाको परिकल्पनाकार को हुनुहुन्छ भनेर ! १३औ संस्करणमा आइपुगेको नेपाली मेलाको परिकल्पनाकार तमु धि यूकेको भुपु अध्यक्ष सुबास सिङ गुरुङ हुनुहुन्छ । उहाँ अध्यक्ष हुँदा सन २००९ देखी नेपाली मेला गर्न सुरु गरिएको थियो । नेपाली कला संस्कृतिको संरक्षण, सम्बर्ध्दन, प्रबर्ध्दन र प्रदर्शन गर्ने उध्देश्यले सुरुवात गरेको नेपाली मेलाको अर्को प्रमुख लक्ष्य भनेको बेलायतमा नेपाली पर्यटनको प्रबर्ध्दन गर्नु पनि हो ।

उहाँ सुवास सिङ गुरुङ तमुधिं यूकेको अध्यक्ष हुँदा सुरु गरेको नेपाली मेलामा दोस्रो वर्षमा तमु समाज युकेका संस्थापक अध्यक्ष चित्र बहादुर गुरुङ नेपाली मेलाको संयोजक हुनुहुन्थ्यो । चित्र बहादुर गुरुङ संयोजक भएपछी नेपाली मेला फरक ढाँचामा गयो । उहाँकै परिकल्पना अनुसार बेलायतमा रहेको नेपाली संघ सस्थाहरुको सहभागी बिना र नेपाली राजदूतावासको उपस्तिथि बिना नेपाली मेलाको खासै अस्तित्व र पहिचान नहुने भएकोले मेलामा नेपाली संघसंस्थाहरुबिच झाँकी र नृत्य प्रतियोगिता गर्ने र नेपाली दूतावासबाट कपको अनुरोध गरेर “एम्बासिडर कप” प्रतियोगिता राख्ने सुरूवात गरेको थियो । दूतावासबाट एम्बासिडर कप प्रायोजन गर्दा दुताबासको पनि अपनत्व हुने सोच चित्र बहादुर गुरुङको थियो । सोही अनुरुप तत्पश्चात नेपाली मेलामा एम्बासिडर कप सुरुवात भई हरेको बर्ष दुताबासले प्रायोजन गर्दै आइरहेको छ ।

स्मरण रहोस्- चित्र बहादुर गुरुङले स्थापना गरेको (संस्थापक अध्यक्ष रहेको) तमु समाज यूकेले सन् २०११मा एम्बासिडर कप जित्न सफल भएको थियो ।