१३औ नेपाली मेला-२०२२ भब्य रुपमा सम्पन्न : घान्द्रुक समाज यूकेले जित्यो एम्बेसिडोर कप

नेपाली मेलाको ईतिहासमा सबैभन्दा बढी दर्शकहरुको उपस्थिति, धेरै दर्शकहरु पार्किङ नपाएर फर्किनुपर्‍यो !

केम्पटन पार्क, लण्डन । “हाम्रो संस्कृति, हाम्रो पहिचान, हाम्रो गौरव” भन्ने नाराका साथ तमु धिं यूकेले हरेक बर्ष आयोजा गर्दै आइरहेको १३औ नेपाली मेला-२०२२ भब्यरुपमा सम्पन्न भएको छ । बेलायतको लागि नेपाली राजदुत महामहिम श्री ज्ञान चन्द्र आचार्यको प्रमुख अथित्यमा सम्पन्न मेलामा यस बर्षको एम्बासीडोर कप तथा एनआरएनए कप-२०२२ भने घान्द्रुक समाज यूकेले जितेको छ ।

तमु धिं यूकेको अधक्ष्य हित काजी गुरुङ र बरिष्ठ उपाधक्ष्य तथा नेपाली मेला- २०२२को संयोजक हरि गुरुङले दिप प्रज्वलन गरी मेलाको औपचारिक उध्दघाटन गरेको थियो भने मेलाको प्रमुख अथिति नेपाली राजदुत महामहिम ज्ञान चन्द्र आचार्य, गैर आवसीय नेपाली संघ यूकेको अधक्ष्य प्रेम गाहा मगर लगायत तमु धि यूकेका संस्थापक अध्यक्ष तथा भुपु अध्यक्षहरुद्वारा संयुक्त रुपमा रिबन काटेर मेलाको समुध्दघाटन गरिएको थियो । नेपाल र बेलायतको राष्ट्रिय गान बजाएर सुरु गरिएको औपचारिक कार्यक्रमको सुरुवातमा मेलाको प्रमुख संयोजक हरि गुरुङले उपस्थित सबैलाई स्वागत गर्नुहुँदै स्वागत मन्तब्य दिनुभएको थियो ।

महामहिम राजदुत श्री ज्ञान चन्द्र आचर्यले- “बहु-भाषा, बहु-साँस्कृति भएको देश नेपाल, बिभिधतामा एकता भएका देश नेपाल… आज आयोजना भईरहेको नेपाली मेला-२०२२ ले पनि यसै बिभिधतालाई प्रदर्शन गर्ने, सिङगो नेपालको झझल्को देखाउने र अनेकतामा एकता देखाउन यस मेला सफल हुने विश्वास गर्नुहुँदै आयोजक संस्था तमु धि यूकेलाई धन्यवाद दिनुभयो । त्यस्तै आयोजक संस्था; तमु धिं यूकेको अधक्ष्य हितकाजी गुरुङले नेपाली मेला तमु धि यूकेले आयोजना गरे त पनि यो मेला यूके स्थित सम्पूर्ण नेपालीहरुको साझा कार्यक्रम भएकोले सबैले हर्षोलासका साथ रमाइलो गर्न र मेलालाई सफल बनाउन अनुरोध गर्नुभयो । साथै अधक्ष्य गुरुङले संचारकार्मीलाई मेलाको सम्बन्धि सत्यतथ्य समाचारहरु सम्प्रेषण गरिदिनुहुन अनुरोध गर्नुभयो । उहाँले मेलालाई आर्थिक, भौतिक अनि नैतिक सहयोग गर्नुहुने सम्पूर्ण संघसंस्था, प्रायोजकहरु र ब्यक्तित्वहरुलाई धन्यवाद दिनुभयो ।

औपचारिक कार्यक्रम पश्चात झाँकी प्रदर्शन गरेको थियो । झाँकीमा बेलायत स्थित थुप्रै संघसंस्थाहरुले भाग लिएका थिए । सधैंको जस्तो यस पटकको साँस्कृतिक झाँकीहरु पनि ज्यादै आकर्षक थिए । बिशेष गरेर प्रथम हुने समाज सिक्लेस पार्चे समाज यूके र घान्द्रुक समाज यूकेको झाँकी एकदमै आकर्षक थियो जसमा समाजले गुरुङहरुको पुर्ख्यौली पेशा भेडीगोठ सम्बन्धि र छ्यादु नाच प्रदर्शन गरेको थियो । त्यस्तै दोस्रो र तेस्रो हुने समाजहरु घान्द्रुक समाज यूके, किराँत राइ यायोक्खाको झाँकीहरु पनि उत्तिक्कै राम्रा थिए ।

झाँकी प्रदर्शन सकिए लगत्तै नृत्य प्रतियोगिता आयोजना गरेको थियो । नृत्य प्रतियोगितामा पनि समाजहरुले एकदमै राम्रो नाचहरु प्रतुत गरेका थिए, जसमा प्रथम हुने समाज तमु समाज यूकेको नाच उत्कृष्ट थियो । नृत्यतर्फ घान्द्रुक समाज यूके दोस्रो भएको थियो जसमा समाजले ठेटर नाच प्रदर्शन गरेको थियो ।

१३औ नेपाली मेला-२०२२ को एम्बेसिडोर कप र एनआरएनए यूके कप घान्द्रुक समाज यूकेले पहिलोचोटी जित्न सफल भएको छ भने गत बर्षको बिजेता सिक्लेस पार्चे समाज यूके यस पटक उपबिजेता बन्यो, त्यस्तै तमु समाज यूके तेस्रो बन्यो । बिजेता घान्द्रुक समाज यूकेले नगद ११०० पाउण्ड, प्रमाणपत्र तथा मेडल प्राप्त गर्‍यो । दोस्रो हुने सिक्लेस पार्चे समाज यूकेले नगद ७०० पाउण्ड, प्रमाणपत्र तथा मेडल प्राप्त गर्‍यो भने तेस्रो हुन सफल भएको तमु समाज यूकेले नगद ५०० पाउण्ड, प्रमाणपत्र तथा मेडल प्राप्त गर्‍यो । त्यस्तै झाँकी र नृत्यमा सांन्त्वना पुरुस्कारको पनि ब्यवस्था गरिएको थियो । झाँकी तर्फ सांन्त्वना किराँत याक्थुङ चुलुङ र चार भञ्ज्याङ तमु समाज यूकेले प्राप्त गरे । बिजेता संस्थाहरुलाई प्रायोजकहरु वा उहाँहरुको प्रतिनिधिहरुले पुरुस्कार प्रदान गरेका थिए । झाँकीको निर्णायकहरु- पदम गुरुङ, कल्पना राई, बिमल सेन सुब्बा, गोमा राना, प्रमिला लाबुङ राई हुनुहुन्थ्यो भने नृत्यका निर्णायकहरु- सरु रानामगर, कृष्ण गुरुङ, कबिता घर्तिमागर गुरुङ हुनुहुन्थ्यो ।

मेलामा प्रबेश टिकटको चिठ्ठा कार्यक्रम (राफल ड्र्), दिपक लिम्बु र तारा सिरिशद्वारा गीत गाउनुको साथै अन्य मनोरन्जनका कार्यक्रम भएका थिए । मेलामा विभिन्न नेपाली खाना, हस्तकला र खाद्य सामाग्रीका स्टल पनि राखिएका थिए । त्यस्तै नेपाली मेला २०२२ लाई सफल बनाउन बेलायतका नेपाली ब्यवसायीहरु तथा लब्ध प्रतिष्ठित ब्यक्तित्वहरु आदिले पुरुस्कारहरु प्रायोजन तथा आर्थिक सहयोग गर्नुभएको थियो । औपचारिक कार्यक्रम संचालन तमु धि यूकेको महासचिब पर्शुराम गुरुङले गर्नु भएको थियो भने चर्चित उध्दघोषकहरु सुर्य गुरुङ र योगेश गुरुङले साँस्कृतिक कार्यक्रम तथा अन्य कार्यक्रमहरु सन्चालन गर्नुभएको थियो । कार्यक्रममा नेपाली राजदुताबासको उपप्रमुख रोशन खनाल लगायत अन्य कर्माचारीहरु, छिमेकी देशहरुको डीप्लोम्याटहरु, नेपालीमुलका काउन्सिलरहरु, यूके स्थित बिभिन्न नेपाली संघसंस्थाका अध्यक्षहरु तथा प्रतिनिधिहरु लगयात अन्य प्रतिष्ठित ब्यक्तिहरु उपस्थित हुनुहुन्थ्यो ।

नेपाली मेलाको ईतिहासमा सबैभन्दा बढी दर्शकहरुको उपस्थिति

सन २००९ देखी सुरु भएको नेपाली मेलाको १३ बर्षको ईतिहासमा, यस बर्षको नेपाली मेलामा उल्लेख्य दर्शकहरुको उपस्थिती भएका थिए । आयोजक संस्थाको अनुसार मेलामा आठतिस सय बढी टिकट बिक्री भएको झन्डै चार हजारदेखी पैचालिस सय जत्ती मनिसहरु उपस्थिती भएका थिए । मेलामा आउनुभएका धेरै जना दर्शकहरु पार्किङ् नपाएर घर फर्किनु परेको जानकार भएको छ ।