चुनावी कार्यतालिका स्वीकृत, असोज २३ मा उम्मेदवारी दर्ता

समानुपातिकका लागि असोज २ र ३ गते बन्द सूची पेश गर्नुपर्ने

काठमाडौं : निर्वाचन आयोगले प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि कार्यतालिका स्वीकृत गरेको छ । आयोगले प्रत्यक्ष (पहिलो हुने निर्वाचित हुने प्रणाली) तर्फको निर्वाचनका लागि प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको उम्मेदवारी दर्ता असोज २३ गते हुने कार्यतालिका बनाएको हो । आयोगले निर्वाचनको तयारी र व्यवस्थित गर्न आन्तरिक प्रयोजनका लागि कार्यतालिका स्वीकृत गरेको हो । सरकारले मंसिर ४ गते एकै चरणमा हुने गरी प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन घोषणा गरेको छ ।

प्रत्यक्ष र समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचनमा भाग लिन २०७९ साउन १९ गतेसम्म दर्ता कायम रहेका राजनीतिक दललाई साउन २२ गतेदेखि ३१ गतेसम्म दल दर्ताका लागि निवेदन दिन सूचित गरिसकेको छ । राजनीतिक दलसम्बन्धी ऐनबमोजिम दुई वा दुईभन्दा बढी दलले एकल चुनाव चिह्न लिइ निर्वाचनमा भाग लिने प्रयोजनका लागि राजनीतिक दलसम्बन्धी नियमावली बमोजिमको ढाँचामा निवेदन दिनुपर्ने आयोगद्वारा जारी सूचनामा उल्लेख छ ।

निर्वाचन आयोग स्रोतका अनुसार असोज ११ गते निर्वाचन अधिकृतको नियुक्ति, २१ गते कार्यालय स्थापना, २३ गते उम्मेदवारी दर्ता, २८ गतेबाट मतपत्र छपाई, कार्तिक १६ गते देखि मतदान सामाग्री ढुवानी, मंसिर १ गतेदेखि मौन अवधि र ४ गते बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म मतदान गर्ने कार्यतालिका स्वीकृत भएको छ । प्रत्यक्षतर्फ १६५ प्रतिनिधि सभा, ३३० प्रदेश सभा सदस्य पदका लागि ७७ जिल्लामा मुख्य निर्वाचन अधिकृतको कार्यालय र ८८ स्थानमा निर्वाचन अधिकृतको कार्यालय स्थापना हुनेछन् ।

यसैगरी समानुपातितर्फको निर्वाचनका लागि साउन ३० गते कार्यालय स्थापना गरिने छ । आयोगले भदौ २० गतेबाट समानुपातिकतर्फको मतपत्र छपाई सुरु गर्ने, असोज २ र ३ गते बन्द सूची पेश गर्ने कार्यतालिका छ । आयोगले औपचारिक रुपमा कार्यतालिका भने सार्वजनिक गर्न बाँकी रहेको छ। आयोगले राजपत्रमासमेत कार्यतालिकाको सूचना प्रकाशित गर्नेछ ।

नेपाल प्रहरी प्रवक्ता टेकप्रसाद राईका अनुसार निर्वाचन प्रयोजनका लागि झण्डै १ लाखको हाराहारीमा म्यादी प्रहरी भर्ना खुलाउने तयारी छ । यसअघि स्थानीय तहको चुनावमा १ लाख १९ हजार म्यादी प्रहरी भर्ना भएका थिए ।

असोज २३ मा उम्मेदवारी दर्ता, मंसिर १ गते रातिदेखि प्रचारप्रसारमा रोक लगाइने

काठमाडौं – आगामी प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि असोज २३ गते उम्मेदवारी दर्ता हुने भएको छ । निर्वाचन आयोगले तय गरेको कार्यतालिका अनुसार असोज २३ गते प्रत्यक्ष तर्फको प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यको उम्मेदवारी दर्ता हुने छ । आगामी मंसिर ४ गते एकै चरणमा प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन हुँदैछ । एक आयुक्तका अनुसार प्रत्यक्षतर्फका उमेदवारको अन्तिम नामावली असोज २६ गते प्रकाशन हुने आयोगले जनाएको छ । असोज २८ गतेदेखि मतपत्र छपाइ सुरु हुने उनले बताए ।

असोज ११ गते मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको नियुक्ति हुने कार्यतालिका छ । असोज २१ गते मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालय स्थापना हुनेछ ।

मंसिर १ गते राति १२ बजेदेखि प्रचारप्रसारमा रोक लगाइनेछ । मंसिर ४ गते बिहान ७ बजेदेखि ५ बजेसम्म मतदान हुनेछ ।