सिट बाँडफाँट गर्न बनेको कार्यदलको पहिलो बैठक आज बस्ने

काठमाडौं : आगामी प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि सिट बाँडफाँट गर्न बनेको कार्यदलको पहिलो बैठक आज बस्ने भएको छ । सत्ता गठबन्धनले साउनभित्रमा सिट बाँडफाँटको खाका तयार गर्न गठन गरेको कार्यदलको पहिलो बैठक बस्न लागेको हो । प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार दिउँसो ३ बजे बैठक बस्न लागेको एकीकृत समाजवादीका महासचिव एवम् कार्यदलका सदस्य बेदुराम भुसालले अन्नपूर्ण पोस्ट्लाई जानकारी दिए। कार्यदलमा कांग्रेसबाट ३ जना र अन्य दलबाट २–२ जनाको प्रतिनिधित्व रहेको छ ।

कांग्रेसबाट कार्कीसहित कृष्णप्रसाद सिटौला र महामन्त्री गगन थापा, माओवादी केन्द्रबाट अर्थमन्त्री जनार्दन शर्मा र वर्षमान पुन, नेकपा एकीकृत समाजवादीबाट महासचिव बेदुराम भुसाल र उपाध्यक्ष प्रमेश हमाल, जसपाबाट रामसहाय यादव र रकम चेम्जोङ, राष्ट्रिय जनमोर्चाबाट हिमाल पुरी र आनन्द शर्मा सदस्य छन् । सरकारले आगामी ४ मंसिरका लागि प्रदेश र प्रतिनिधिसभा सदस्यको निर्वाचनको मिति तोकेको थियो। प्रतिनिधिसभामा १ सय ६५ र प्रदेशसभामा ३ सय ३० सिट छन्। गठबन्धनभित्र अब सिट बाँडफाँटका विषयले अब स्थान पाउनेछन् ।

सिटको बाँडफाँट हरेक निर्वाचन क्षेत्रको धरातलीय यथार्थका आधारमा हुने कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल बताउँछन् । ‘सिट बाँडफाँटका विषयमा अब बल्ल छलफल सुरु हुन्छ। सिट बाँडफाँट गर्दा हरेक निर्वाचन क्षेत्रको अवस्था, विगतको मत र अहिले कसले चुनाव जित्न सक्छ भन्ने परिस्थितिको समीक्षा हुन्छ। जुन स्थानमा जसको माहोल राम्रो छ उसैलाई टिकट दिनुपर्छ’ पौडेल भन्छन् ।

धरातल हेरेर दाबी गर्न पनि नेता पौडेल बताउँछन्। ‘कांग्रेसले मात्र जित्न सक्ने सिट एक सय छ। ती ठाउँमा अन्य दलका साथीहरूलाई उठाउन मिल्दैन । अहिलेको चुनाव परिणाममा केन्द्रित हुन्छ ।’ नेता पौडेलले भने ।