सांसदहरुको पदावधि मंसिर २१ सम्म
काठमाडौं । निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले वर्तमान प्रतिनिधिसभा र प्रदेश सभाका सदस्यहरुको पदावधि आगामी मंसिर २१ गतेसम्म कायम रहनेगरी सरकारलाई लेखी पठाएको जानकारी गराउनुभएको छ ।
मन्त्रिपरिषद बैठकले निर्वाचन मंसिर ४ गते आइतबारका लागि गर्ने निर्णय गरेपछि आयोगमा विहीबार आयोजित पत्रकार सम्मेलनमा प्रमुख आयुक्त थपलियाले सो जानकारी गराउनुभएको हो । उम्मेदवारी दर्ता गरेपछि सो पद स्वतः सकिने भए पनि कानुनमा व्याख्या गरेर त्यसलाई सल्टाउनुपर्ने उहाँको भनाइ छ । आयोगले सरकारलाई २१ गतेसम्मको समयावधि लेखेर पठाएको उहाँले जानकारी गराउनुभयो ।
आयोगको परामर्शमै सरकारले आगामी मंसिर ४ गतेका लागि निर्वाचन तय गरेको उहाँले स्पष्ट पार्नुभयो । निर्वाचन सफल बनाउन आयोगले आन्तरिक तयारी गरिरहेको र थप काम तत्कालै शुरु गर्ने उहाँले बताउनुभयो । आयोगलाई निर्वाचन गराउन सामान्यतः १२० दिन समय लाग्ने भए पनि सरकारले घोषणा गरेको मितिले १०७ दिनको समयावधि आयोगलाई उपलब्ध छ । निर्वाचनको आन्तरिक तयारीमा आयोग निरन्तर लागिरहेकाले सो समय आयोगलाई पर्याप्त रहेको उहाँको भनाइ छ ।
प्रमुख आयुक्त थपलियाले भन्नुभयो, “सरकारले तय गरेको अवधिमा निर्वाचन सफल पार्न आयोग अर्जुन दृष्टि लगाएर काम गर्नेछ । निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, भयरहित र निष्पक्ष तरिकाले सम्पन्न गर्ने सबै तयारीमा आयोग लाग्छ ।” आयोगको तयारीका विषयमा सूचनाहरु पत्रकारसमक्ष सहजरुपले पु¥याउनेगरी आयोगले व्यवस्थापन गर्ने उहाँले जानकारी दिनुभयो । आधुनिक प्रविधिको प्रयोग गरी आयोगले सूचना प्रवाह गर्ने उहाँको भनाइ छ ।
सुरक्षाको भरपर्दो व्यवस्था
एक जिज्ञासामा प्रमुख आयुक्त थपलियाले निर्वाचनसम्बन्धी कानुनले कर्मचारीलाई समानुपातिकतर्फ मतदान गर्न पाउने व्यवस्था गरेको भए पनि अन्य अधिकारका विषयमा आयोगले परामर्श गरी टुङ्गो लगाउने बताउनुभयो ।
आउने निर्वाचनमा छुट्टाछुट्टै मतपत्र र छुट्टाछुट्टै मतपेटिकाको व्यवस्था गरिने प्रमुख आयुक्त थपलियाले बताउनुभयो । सवारी साधन लगायत आवश्यक निर्वाचन सामग्री सहयोगका लागि सरकारमार्फत अन्तर्राष्ट्रिय समुदायसँग आग्रह गर्ने पनि उहाँले जनाउ दिनुभयो । आयोगले सिधै सहयोग लिंदैन, परराष्ट्र मन्त्रालय मार्फत विदेशी सहयोग लिन सक्छ उहाँले थप्नुभयो ।
मतदान स्थलहरु छिट्टै पुनरावलोकनको काम पनि शुरु हुनेछ । निर्वाचनमा सुरक्षाको भरपर्दो सुरक्षाको व्यवस्थाका लागि सरकारसँग आग्रह गरिने प्रमुख निर्वाचन आयुक्त थपलियाले बताउनुभयो । सुरक्षाका विषयमा अझै योजना बनाउन बाँकी रहेकाले भरपर्दो सुरक्षा योजना बनाएर आयोग अघि बढ्ने पष्ट पार्नुभयो ।
सरकारको निर्णयको स्वागत
आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले सरकारको निर्णयलाई आयोगले स्वागत गरेको बताउनुभयो । आवधिक निर्वाचनका लागि आयोग निरन्तर आन्तरिक तयारी गरिरहेकाले तोकिएको समयावधिमा निर्वाचन सफल पार्न आयोग तयार रहेको उहाँले जानकारी दिनुभयो । मतदाता नामावली संकलन कार्य साउन २० गते शुक्रबारदेखि स्थगित हुने उहाँले जानकारी दिनुभयो । मतदान स्थल र मतदान केन्द्रको पुनरावलोकनको व्यवस्था मिलाइने छ । प्रतितिनिधिसभा र प्रदेश सभा निर्वाचन ऐन बमोजिम आवश्यक काम गरिने उहाँले जानकारी दिनुभयो ।
निर्वाचनका लागि आवश्यक जनशक्ति र बजेट व्यवस्थाका लागि आयोगले यथाशक्य सरकारलाई योजना पठाइने तयारी गरेको छ । निर्वाचन प्रयोजनका लागि चाहिने अन्य सामग्री तत्काल बनाई कार्यान्वयनमा लगिने उहाँले बताउनुभयो । निर्वाचनका लागि सबै पक्षबाट आयोगले सहयोगको अपेक्षा राखेको पनि उहाँको भनाइ छ ।
पत्रकार सम्मेलनमा आयोगका प्रमुख आयुक्त थपलियासहित आयुक्तहरु ईश्वरीप्रसाद पौड्याल, रामप्रसाद भण्डारी, डा. जानकीकुमारी तुलाधर, सगुन शमशेर ज.ब.रा., सचिव गोकर्णमणि दुवाडीको पनि सहभागिता थियो ।