सप्तकोसी बस्ती पसेपछि बेहाल, पशुचाैपायासहित सयाैँले गाउँ छाडे
उदयपुरको बेलका नगरपालिका– ८ डुम्रिबोटेमा पर्ने लाहुरखोँचबाट बाँध भत्काएर सप्तकोसी नदी बस्ती पसेपछि गाउँलेको भागाभाग भएको छ । लगातारको वर्षासँगै बुधबार बिहान २ बजेतिर सप्तकोसीको बाढी बस्ती पसेपछि गाउँलेको बिचल्ली भएको हो । बेलका नगरपालिका– ३ का वडाध्यक्ष टंकप्रसाद आचार्यले ठूलो भंगालो बस्ती बस्दा धेरैको बिचल्ली भएको बताए । ‘हामीले हिजैदेखि सुरक्षित स्थानमा सर्न गाउँलेलाई अनुरोध गरेका थियौँ । राति एक्कासि ठूलो भंगालो बस्ती पस्न थालेपछि धेरैको बिचल्ली भयो,’ आचार्यले नयाँ पत्रिकासँग भने ।
गएको ५ असारदेखि कोसीमा पानीको बहाव बढेसँगै कटान बढेको थियो । उनले भने, ‘जहाँबाट अहिले सप्तकोसी मानवबस्तीमा पसेको छ, त्यहाँ ०४५ सालमा कोसी बगेको थियो । पछि मानिसहरूले त्यहाँ घर बनाए । ३४ वर्षपछि नदी फेरि त्यही ठाउँबाट बग्न सुरु भएको छ ।’
नदी बस्ती पस्दा झन्डै दुई सय परिवार विस्थापित भएका छन् । यकिन तथ्यांक अझै संकलन भइसकेको छैन ।
३४ वर्षपछि पुरानै धारमा फर्कियो सप्तकोसी
सप्तकोशी नदी ३४ वर्षपछि पुरानै धारमा फर्किएको छ । लगातार दुई दिनसम्म परेको अविरल वर्षापछि ठूलो बाढी आउँदा तटबन्ध भत्काएर सप्तकोसी नदी पुरानै धारमा फर्किएको हो । उदयपुरको बेलका नगरपालिका– ३ का वडाध्यक्ष टंकप्रसाद आचार्यले ०४५ सालमा कोसी जहाँ बग्थ्यो, गएरातिबाट त्यही धारमा फर्किएको बताए ।
‘जहाँबाट अहिले सप्तकोसी मानवबस्तीमा पसेको छ, त्यहाँ ०४५ सालमा कोसी बगेको थियो । पछि मानिसहरुले त्यहाँ घर बनाए । ३४ वर्षपछि नदी फेरि त्यही ठाउँबाट भग्न सुरु भएको छ,’ आचार्यले नयाँ पत्रिकासँग भने । अहिले पूर्वतिर सुनसरीबाट बगेको सप्तकोसी पश्चिममा पर्ने उदयपुरतर्फ मोडिएको छ । उदयपुरतर्फ कोसीले धार परिवर्तन गर्दा बेलका नगरपालिका–८ को सिसौली बस्ति, वडा नम्वर ९ को रंशशाला क्षेत्र, वडा नम्वर ३ को जगनाथ, जुलेसी, एबिसी, सिर्जना, एकता, दुर्गा मन्दिर, जाल्पादेवीलगायतका गाउँमा सप्तकोसी बगेको छ ।
कोसीले धार परिवर्तन गरेपछि उदयपुरको बेलका नगरपालिकाको १, २, ३, ८ र ९ वडाको धौरीटापु, श्रीलंका टापु, भागलपुर, करैया, तपेश्वरी, छिमेकी जिल्ला सप्तरीको सप्तकोसी र कन्चनरुप नगरपालिकाकासँगै सुनसरीको बराहक्षेत्र नगरपालिकाको वडा नम्बर ६ र ७ पनि प्रभावित भएको बेलका नगरपालिका प्रमुख अशोक कार्कीले जानकारी दिए ।
उद्धार र राहतको व्यवस्थापनमा कमी हुन नदिन गृहमन्त्री खाणको निर्देशन
काठमाडौं, साउन १८ गते । उदयपुरको बेलका नगरपालिकाका वडा नं १, २, ८ र ९ मा सप्तकोशी नदीमा पानीको बहाब बढेर कटान सुरु गरेपछि त्यहाँका नागरिकलाई स्थानान्तरण, राहत र उद्धारको तत्काल व्यवस्थापन गर्न गृहमन्त्री बालकृष्ण खाणले सम्बन्धित सबै निकायलाई निर्देशन दिनुभएको छ ।
सप्तकोशीको पानीको बहाबले अहिले करिब ५० मिटर जति जमिन कटान गरिसकेकाले नजिकै रहेका बस्तीका नागरिकलाई अन्यत्र सार्ने काम गृहमन्त्री खाणको निर्देशनमा सुरु भइसकेको उदयपुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुवास बोहोराले जानकारी दिनुभयो ।
गृहमन्त्री खाणले बेलकामा सप्तकोशीको कटानबारे परराष्ट्रमन्त्री डा.नारायण खड्कासँग छलफल गर्नुभएको छ । कटानबाट प्रभावित हुने बस्तीका नागरिकलाई कहाँ स्थानान्तरण गर्ने, उनीहरूलाई तत्कालका लागि बासस्थान, राहतको व्यवस्था कसरी गर्नेबारे छलफल भयो । परराष्ट्रमन्त्री डा. खड्काको गृहजिल्ला उदयपुर हो ।
गृहमन्त्री खाणले गृहसचिव टेकनारायण पाण्डे, राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेल, उदयपुरका प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादव, प्रदेश १ का नेपाल प्रहरीका प्रमुख नायब महानिरीक्षक सुदीप गिरी, प्रदेश १ का सशस्त्र प्रहरी बलका प्रमुख नायब महानिरीक्षक कमलप्रसाद गिरी, उदयपुर प्रहरी प्रमुख उपरीक्षक बोहोरा, उदयपुर सशस्त्र प्रहरी प्रमुख उपरीक्षक कृष्ण अधिकारी र सिँचाइ विभागका उदयपुर प्रमुखलगायतलाई टेलिफोन गरेर तत्काल उद्धार, राहत र तत्कालका लागि अस्थायी बासस्थानको व्यवस्था गर्न र त्यसका लागि के के आवश्यक पर्ने हो मन्त्रालयमा जानकारी गराउन निर्देशन दिनुभएको छ ।
गृहसचिव पाण्डे र प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत पोखरेललाई उदयपुरमा तत्कालका लागि आवश्यक पर्ने उद्धार र राहतका सामग्री तयार गरी पठाउन निर्देशन दिनुभयो । कटानले सबैभन्दा बढी डुम्रिकोट तथा लाहुरेखोँचमा प्रभावित बनाएको छ । विपद्मा परेकाहरूलाई अस्थायी बासस्थान निर्माण, उद्धार, राहत र घाइते भएको भए उपचारमा कुनै कमी हुन नदिन गृहमन्त्री खाणले मन्त्रालय मातहतका निकाय र सम्बन्धित सरोकारवाला निकाय सबैलाई निर्देशन दिनुभएको छ ।
कटानका कारण दुई हजार चार सय घरधुरी प्रभावित हुने प्रहरीका प्रदेश १ प्रमुख डिआइजी गिरीले जानकारी दिनुभयो । अहिले जोखिममा रहेका बस्तीका नागरिकलाई नजिकका सार्वजनिक स्थान र आफन्तकोमा पठाउने काम भइरहेको उहाँले बताउनुभयो । नदीको कटानलाई रोकेर त्यही स्थानमा राख्न सक्ने सम्भावना नदेखिएकाले बस्ती स्थानान्तरणको विकल्प नभएको प्रहरीका उदयपुर प्रमुख एसपी बोहोराले बताउनु भयो ।
आफूहरुले गृहमन्त्री खाणले त्यही विषय जाहेर गरेको र त्यसपछि बस्तीमा रहेका नागरिकलाई सुरक्षित स्थानमा राख्न निर्देशन भएपछि त्यही अनुरुप आफूहरुले काम गरिरहेको बाहोराले बताउनु भयो । केही दिन अघि पनि सप्तकोशीमा बाढी आएपछि कटान रोक्न बनाइएका संरचना नदीले बगाइसकेको पनि उहाँले बताउनुभयो ।