बुध्द एयरले आफ्नै नयाँ अनलाइन समाचार पोर्टल खोल्ने

बुद्ध एअरका मालिक वीरेन्द्र बस्नेतले आफ्नै एअरलाइन्सको लगानी र सञ्चालन खर्चमा नयाँ अनलाइन सञ्चालन गर्न लागेको बुझिएको छ । उकालो डट कम नामको उक्त अनलाइन संविधान दिवशको दिन पारेर असोज ३ गतेबाट थालनी गर्न लागिएको हो ।

यो सँगै व्यवसायीहरु आफ्ना सञ्चारमाध्यम खोल्ने अभियानमा फेरि लागेको देखिन्छ । यसअघि खुलेका धेरै वटा सञ्चारमाध्यममा व्यवसायीहरुको सामान्य लगानी र कुस्त आम्दानी भएको चर्चा छ । उकालो डट कममा अजयभद्र खनाल सम्पादक रहनेछन् भने सुजित महत र रामेश्वर बोहोरा सम्पादक समूहका मुख्य व्यक्ति हुनेछन् ।

बस्नेत निकट स्रोतले उक्त अनलाइन विज्ञापन नराख्ने पहिलो अनलाइन समाचार पोर्टल हुने दाबी गरेको छ । विज्ञापनरहित समाचार पोर्टलको खर्चबारे राखिएको जिज्ञासामा स्रोतले भन्यो, ‘बुद्ध एअरको नाफाबाट छुट्ट्याइने सामाजिक उत्तरदायित्व कोषको रकम यसमा प्रयोग गरिने छ । कर तिरेर लगानी गर्ने बुद्ध एअर र उसका मालिकको सोच हो ।’

तर सामाजिक उत्तरदायित्वको परिभाषामा कोषको रकमबाट त्यसरी व्यवसाय सञ्चालन गर्न पाईंदैन । कुनै पनि कर्पोरेट हाउसले निश्चित प्रतिशतका आधारमा छुट्टयाएको रकम समाजका विभिन्न क्षेत्रमा सर्वसाधारणको हित हुने कार्यमा प्रयोग गर्नुपर्ने हुन्छ ।

अहिले बैंक तथा वित्तीय संस्थाहरुसँग त्यस्तो रकम दशौं करोड पुगेको छ । अघिल्लो वर्ष उनीहरुले धेरै रकम सरकारको केन्द्रीय कोभिड कोषमा हस्तान्तरण गरेका थिए । कतिपयले अक्सिजन सिलिण्डर,अक्सिजन प्लान्ट,विद्यालयमा कम्प्युटर,विद्यालयको भौतिक संरचना निर्माणमा प्रयोग गर्दै आएका छन् ।

तर बुद्ध एअरले भनेझैँ उक्त कोषको रकम आफ्नो स्वार्थ अनुकूलको सञ्चार माध्यम स्थापना गरेर त्यहाँ खर्च गर्न नपाइने कर विज्ञहरुको भनाइ छ ।