पार्टी काममा फर्किएनन् एकीकृत समाजवादीका पूर्वमन्त्री
एमालेबाट विद्रोह गरेर नयाँ पार्टी गठनमा सक्रिय रहेका नेता मन्त्रीबाट फिर्ता भएसँगै निष्क्रिय
मन्त्रीबाट जबर्जस्ती फिर्ता बोलाएको भन्दै पार्टी नेतृत्वसँग असन्तुष्ट एकीकृत समाजवादीका पूर्वमन्त्री अझै पार्टी काममा फर्किएका छैनन् । एमालेबाट विद्रोह गरेर नयाँ पार्टी गठनमा सक्रिय रहेका नेता मन्त्रीबाट फिर्ता भएसँगै निष्क्रिय देखिनुलाई एकीकृत समाजवादीभित्र अर्थपूर्ण रूपमा हेरिएको छ । उनीहरू मन्त्रीबाट फिर्ता भएको तीन साता भइसकेको छ । तर, असन्तुष्टिको तुष अझै मेटिएको छैन ।
स्वास्थ्यमन्त्री विरोध खतिवडा, सहरी विकासमन्त्री रामकुमारी झाँक्री, पर्यटनमन्त्री प्रेम आले र श्रममन्त्री कृष्णकुमार श्रेष्ठलाई फिर्ता बोलाएर जीवनराम श्रेष्ठ, मेटमणि चौधरी, शेरबहादुर कुँवरलाई मन्त्री बनाएको छ । तत्कालीन स्वास्थ्य राज्यमन्त्री भवानी खापुङ मन्त्रीमा बढुवा भएका छन् । उनको ठाउँमा हिरा केसी स्वास्थ्य राज्यमन्त्री बनेका छन् । एकीकृत समाजवादीको सचिवालय बैठकले गत २२ जेठमा मन्त्री फिर्ता बोलाउने निर्णय गरे पनि कार्यान्वयनमा आउन तीन साता लागेको थियो । मन्त्रीहरूले पदमा कायम रहन अनेक प्रयास गरेका थिए । सचिवालयको निर्णय स्थायी कमिटी, पोलिटब्युरो र केन्द्रीय कमिटी बैठकले सर्वसम्मत अनुमोदन गर्दा पनि उनीहरूले मन्त्री पद छाड्ने अटेर गरेका थिए ।
उनीहरूले मन्त्री नछाड्न कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको समेत ध्यानाकर्षणसमेत गराएका थिए । पार्टी निर्णयलाई चुनौती दिए पनि पद बचाउन नसकेका पूर्वमन्त्रीहरू अहिले असन्तुष्ट रहेको र पार्टी काममा फर्कन आनाकानी गरिरहेको एकीकृत समाजवादीका एक नेता बताउछन ।
एकीकृत समाजवादीले खतिवडा, भाँक्री, आले र श्रेष्ठलाई मन्त्रीको जिम्मेवारी दिएको थियो । मन्त्रीबाट फिर्ता भएपछि उनीहरूको नयाँ जिम्मेवारी पार्टीले तोकेको छैन । उनीहरू पार्टी कार्यालयमा समेत जान छाडेका छन् । बरु नयाँ मन्त्री आउनुभएको छ, पुराना मन्त्रीलाई देखिएको छैन, पार्टी कार्यालय स्रोतले भन्यो । एकीकृत समाजवादीमा झाँक्री सचिव, खतिवडा स्थायी कमिटी, आले पोलिटब्युरो र श्रेष्ठ केन्द्रीय कमिटी सदस्य छन् । मन्त्रीबाट फिर्ता भएपछि राष्ट्रिय परिषद् बैठकको उद्घाटन सत्रमा सचिव झाँक्री उपस्थिति थिइन् । खतिवडा र आले दुवै दिन बैठकमा उपस्थित थिए । श्रेष्ठ भने बैठकमा नदेखिएको एक परिषद् सदस्यले बताए । त्यसपछि बसेको स्थायी कमिटी बैठकमा झाँक्री र खतिवडा दुवै उपस्थित भएका थिए । एक नेताका अनुसार खतिवडा र आले पार्टी काममा लागिसकेका छन् । तर, झाँक्री र श्रेष्ठ भने पार्टी काममा फर्किएका छैनन् ।
उहाँहरू सार्वजनिक काममै हुनुहुन्छ होला, केन्द्रीय कार्यालयका सचिवसमेत रहेका उपमहासचिव गंगालाल तुलाधरले भने नेतृत्वसँग उहाँहरू नियमित सम्पर्कमा हुनुहुन्छ । सचिवालयको आगामी बैठकले उहाँहरूको परिभाषित जिम्मेवारी तोक्छ ।
पार्टीले परिभाषित काम नदिएका कारण पूर्वमन्त्रीहरूलाई अप्ठ्यारो भएको हुन सक्ने एक नेताले बताए । पार्टीले परिभाषित जिम्मेवारी तोकेको छैन । परिभाषित जिम्मेवारी नपाएका कारण पनि सक्रिय नभएको हुन सक्छ । सचिवालयले जिम्मेवारी तोक्छ होला ती सदस्यले भने ।
मन्त्रीबाट फिर्ता भएपछि पार्टीले जिम्मेवारी नतोकेको झाँक्रीले बताइन् । मन्त्री हुँदा पिँजडामा थुनिएजस्तो अनुभूतिबाट फुर्सद मिलेको र साथीभाइसँग व्यक्तिगत भेटघाटमा समय बिताइरहेको उनले जानकारी दिइन् । पार्टीमा सचिवका रूपमा छु, तर पार्टीले परिभाषित जिम्मेवारी दिएको छैन । विद्रोेह गरेर पार्टी स्थापना गरेका थिए ।
हुनेबित्तिकै एउटा जिम्मेवारीमा रहेर मन्त्रीका रूपमा काम गरेँ । टिमवर्कमा राम्रै ढंगले काम भइरहेको थियो, उनले भनिन्, मन्त्रालयको कामले फुर्सद पनि मिलेको थिएन । एक प्रकारले भन्ने हो भने पिँजडामा थुनिएजस्तो भएको थियो । अहिले साथीभाइसँग व्यक्तिगत भेटघाटमा समय बिताइरहेकी ।
पार्टीले जिम्मेवारी नदिएको र आफैँ कार्यक्रम बनाएर हिँड्न नमिल्ने उनले बताइन् । पार्टीका कार्यक्रममा निम्तासमेत नआएको झाँक्रीको गुनासो छ । यद्यपि, अध्यक्ष माधव नेपालसँग राजनीतिक रूपमा नभई व्यक्तिगत रूपमा कुराकानी भइरहेको उनले जानकारी दिइन् । उनले भनिन्, पार्टी अध्यक्षसँग आज बिहान मात्रै पनि कुराकानी भएको थियो । व्यक्तिगत रूपमा कुराकानी भइरहेको छ ।
नियमित पार्टी कार्यालयमा पुग्छन् नयाँ मन्त्री
एकीकृत समाजवादीबाट मन्त्री भएका सातामा कम्तीमा एकपटक नियमित पार्टी कार्यालयमा पुग्ने गरेका छन् । समाजवादीले नेता तथा कार्यकर्तासँग मन्त्रीले भेटघाटका लागि दिउँसो २ देखि ३ बजेसम्मको समय छुट्याइएको छ । उक्त समयमा मन्त्रीहरू पार्टी कार्यालय पुग्छन् । पर्यटनमन्त्री जीवनराम श्रेष्ठ आइतबार र शुक्रबार कार्यालय जाने गरेका छन् । स्वास्थ्यमन्त्री भवानी खापुङ सोमबार, श्रममन्त्री शेरबहादुर कुँवर मंगलबार, सहरी विकासमन्त्री मेटमणि चौधरी बुधबार र स्वास्थ्य राज्यमन्त्री हिराचन्द्र केसी बिहीबार कार्यालय जाने गरेका छन् ।