श्रीलंकाको राष्ट्रपति निवास प्रदर्शनकारीको कब्जामा, प्रधानमन्त्रीको निजी निवासमा लगाए आगो
काठमाडौँ — श्रीलंकामा सरकारविरोधी प्रदर्शन हिंसात्मक बन्दै गएको छ । शनिबार प्रदर्शनकारीहरूले राष्ट्रपति निवास घेराउ गर्न थालेपछि राष्ट्रपति गोताबाया राजापाक्षे सरकारी निवास छाडेर भागेका छन् । यद्यपि उनलाई अज्ञात र सुरक्षित स्थानमा सारिएको बताइएको छ । यससँगै प्रदर्शनकारीहरूको समूहले राजधानी कोलम्बोस्थित उनको निवासलाई लगभग कब्जामा लिएको छ । सामाजिक सञ्जालमा सार्वजनिक भएका भिडियोमा भने राष्ट्रपति निवासभित्र प्रवेश गरेका प्रदर्शनकारीहरूले स्वीमिङ खेल्नुका साथै चिया पिइरहेको दृश्य देखिएको छ ।
राष्ट्रपतिको राजीनामा माग गर्दै उठेको प्रदर्शन हिंसात्मक बन्दै गएको हो। हजारौंको संख्यामा रहेका प्रदर्शनकारीहरूले ‘पुलिस ब्यारिकेड’ साथै राष्ट्रपति कार्यालयको गेट तोडफोड गरेका छन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार उक्त आन्दोलन यस वर्षको सबैभन्दा ठूलो प्रदर्शनमध्ये एक हो । जहाँ प्रदर्शनकारीहरूले श्रीलंकाको राष्ट्रिय झण्डा प्रदर्शन गर्नुका साथै राष्ट्रपति सरकार विरोधी ब्यानर देखाएका छन् । प्रदर्शनलाई नियन्त्रणमा लिन ठूलो संख्यामा सुरक्षाकर्मी खटाइए पनि प्रदर्शन रोकिएको छैन ।
सेना र प्रहरीले भीड नियन्त्रणमा लिन संयुक्त रुपमा प्रयास गरे पनि भीड अनियन्त्रित बन्दै गएको छ । यस क्रममा सुरक्षाकर्मीले थुप्रै अश्रुग्यास प्रहार गर्नुका साथै हवाइ फायर पनि गरेको छ । प्रहरीले कर्फ्यू लगाए पनि प्रदर्शनकारीहरू त्यसको अवज्ञा गर्दै सडकमा उत्रिएका हुन् ।
यसैबीच प्रधानमन्त्री रनिल विक्रमासिंघेले सबै राजनीतिक दलका नेताहरूलाई आकस्मिक बैठक बोलाएका छन् । साथै उनले विज्ञप्ति जारी गर्दै संसद बैठक बोलाउन पनि सभामुखलाई आग्रह गरेका छन् । प्रदर्शन हिंसात्मक बन्दै जाँदा प्रधानमन्त्री विक्रमासिंघे पनि शनिबार नै सुरक्षित स्थानतर्फ स्थानान्तरण भएको रोयटर्सले जनाएको छ ।
निशानामा राजनीतिज्ञहरू
प्रदर्शनकारी र सुरक्षाकर्मीबीच झडप हुँदा दर्जनौं प्रहरी अधिकृतसहित ठूलो संख्यामा मानिसहरू घाइते भएका छन् । गत वर्ष मार्चदेखि हुँदै आएको प्रदर्शनमा मानिसहरूले सहज जीवनयापनको माग गर्दै आएका छन् । श्रीलंकामा इन्धन तथा खाद्यान्न अभाव हुन थालेपछि एक वर्षदेखि नै पटकपटक हिंसात्मक प्रदर्शन हुँदै आएको छ।
२ करोड २० लाख जनसंख्या भएको दक्षिण एसियाली मुलुक श्रीलंकामा आर्थिक संकट गहिरिँदै जानुमा यहाँका राजीनिज्ञहरू नै दोषी रहेको बताइन्छ । विश्लेषकहरूले पनि यस्तो अवस्था आउनुमा प्रमुख नेताहरूलाई नै दोषी देखेका छन् । विशेषगरी राष्ट्रपति गोताबाया राजापाक्षे यसका लागि जिम्मेवार रहेको भन्दै प्रदर्शनकारीहरूले उनको राजीनामा मागिरहेका छन् । यतिसम्म कि प्रदर्शनकारीले राजापाक्षले देश नै छाडेर जानुपर्ने नारा लगाइरहेका छन् । विदेशी मुद्राको अभाव साथै औषधिलगायत खाद्यान्न अभाव झेल्दै आएको श्रीलंकाले पछिल्लो ७० वर्षयताकै ठूलो संकटको सामना गरेको बताइन्छ ।
महिनौंसम्म चलेको प्रदर्शनसँगै यसअघि राजापाक्षका भाइ महिन्दा राजापाक्षले गत महिना प्रधानमन्त्री पदबाट राजीनामा दिएका थिए । त्यसलगत्तै गोताबायाका अरु दुई भतिजाले पनि मन्त्री पदबाट राजीनामा दिएका थिए । गत मे महिनामा विक्रमासिंघेले प्रधानमन्त्रीको पद सम्हालेपछि केही हदसम्म प्रदर्शन मत्थर हुने अपेक्षा गरिएको थियो । अहिले भने प्रदर्शनकारीले राष्ट्रपति गोताबायासँगै प्रधानमन्त्री विक्रमासिंघेको पनि राजीनामा माग गरिरहेका छन् ।
प्रधानमन्त्री विक्रमासिंघेले यसअघि नै देशको अर्थतन्त्र ध्वस्त भएको घोषणा गरेका थिए । हाल यहाँका अधिकांश जनताले दिनमा तीन पटक खाना खान नसक्ने बताइन्छ । आर्थिक संकटसँगै उत्पन्न राजनीतिक अस्थिरताप्रति रुष्ट जनताहरू यतिबेला राजनीतिक नेतृत्वप्रति आक्रोशित बन्दै आएका छन् ।
राजनीतिक नेतृत्वबाट आर्थिक संकट समाधान हुन नसक्दा आम नागरिकहरू थप आक्रोशित बनेका हुन् । त्यसो त गत महिना पनि राष्ट्रपति विक्रमासिंघेको निवास घेराउ गर्नुका साथै आन्दोलनकारीहरूले पूर्वमन्त्री र सांसदको घरमा आगजनी गरिदिएका थिए । त्यस क्रममा एक सांसदको मृत्युसमेत भएको थियो । शनिबार प्रदर्शन अनियन्त्रित हुँदै गर्दा १६ जना सांसदहरूले संयुक्त रुपमा राष्ट्रपतिको राजीनामा माग गरिरहेका छन् । राष्ट्रपतिले राजीनामा दिएर मार्ग प्रसस्त गरिदिनु पर्ने उनीहरूको भनाइ छ ।
प्रदर्शनकारीले श्रीलंकाका प्रधानमन्त्रीको निजी निवासमा लगाए आगो
त्यस्तै कोलम्बो : श्रीलंकाका प्रधानमन्त्री रनिल विक्रमासिंघेको निजी निवासमा प्रदर्शनकारीले आगो लगाइदिएका छन्। कोलम्बोको फिफ्थलेनस्थित उनको निजी निवासमा प्रदर्शनकारीले आगजनी गरेको डेली मिरर अनलाइनले जनाएको छ । शनिबार साँझ प्रदर्शनकारीहरु प्रधानमन्त्रीको निजी निवास छिरेका थिए । सुरक्षाकर्मी र प्रदर्शनकारीबीच तनावको स्थिति आएपछि आश्रुग्यास प्रहार गरिएको थियो। त्यसका बावजुद प्रदर्शनकारीहरुले घरमा आगजनी गरेको समाचारमा उल्लेख छ ।
कोलम्बो नगर परिषद्ले पनि प्रधानमन्त्री निवासमा आगलागी भएको पुष्टि गरेको छ । सहरमा प्रदर्शनकारीद्वारा भएको अशान्तिका कारण दमकल पुग्न समस्या भएको परिषद्का अधिकारीले डेली मिरर अनलाइनसँग भनेका छन् । श्रीलंकामा आर्थिक संकट चुलिएपछि प्रदर्शनकारीहरुले आज बिहानैदेखि सरकारविरुद्ध प्रदर्शन गरिरहेका छन्। उनीहरुले आज बिहानदेखि राष्ट्रपति निवास घेरेका थिए। दिउँसो प्रदर्शनकारी निवासमै छिरेपछि राष्ट्रपति गोटाबाया राजपक्षे सुरक्षित स्थानमा भागेको एजेन्सीहरुले उल्लेख गरेका छन् ।
यसैबीच प्रधानमन्त्री रनिल विक्रमासिंघे आफू राजीनामा दिन तयार रहेको बताएका छन्। उनले पदबाट राजीनामा दिन र सर्वदलीय सरकार गठनका लागि बाटो खोल्न तयार रहेको प्रधानमन्त्री कार्यालयलाई उद्धृत गर्दै डेली मिरर अनलाइनले लेखेको छ । उनले ट्वीटरमार्फत् पनि आफू सरकार छोड्न तयार रहेको उल्लेख गरेका छन्। बीबीसीका अनुसार त्यहाँको नागरिकको सुरक्षाका लागि प्रधानमन्त्रीले विपक्षीको प्रस्ताव स्वीकार गरेका छन् ।