पूर्वप्रधानमन्त्री आबेको सम्मानमा भोलि राष्ट्रिय शोक मनाउने
काठमाडौँ — जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेको निधनमा नेपाल सरकारले राष्ट्रिय शोक मनाउने निर्णय गरेको छ । शुक्रबार गोली प्रहारपछि उपचारको क्रममा आबेको निधन भएको हो । शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले आबेको निधनमा शनिबारका लागि राष्ट्रिय शोक मनाउने निर्णय गरेको हो । यस्तै सरकारले उनको निधनमा दु:ख व्यक्त गरेको थियो ।
प्रधानमन्त्री शेरबहादुर देउवाले आबेको निधनको खबरपछि गहिरो दु:ख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेका थिए । उनले ट्वीटरमार्फत् आबेको निधनप्रति श्रद्धाञ्जली व्यक्त गरेका हुन् । साथै परिवारका सदस्यमा समवेदना व्यक्त गरेका थिए । मन्त्रिपरिषद्ले पारित गरेको शोक वक्तव्यमा भनिएको छ, ‘मित्र राष्ट्र जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेको गोली प्रहार गरी हत्या भएकोमा उक्त निन्दनीय कार्यको नेपाल सरकार घोर भर्त्सना गर्दछ । उहाँको निधनप्रति गहिरो दु:ख प्रकट गर्दै जापान सरकार, जापानी जनता र स्वर्गीय आबेको परिवारजनप्रति नेपाल सरकार हार्दिक समवेदना व्यक्त गर्दछ । नेपाल सरकारले स्वर्गीय आबेको सम्मानमा मिति २०७९ असार २५ गते शनिबार राष्ट्रिय शोक मनाउने निर्णय गरेको छ ।’
शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले आबेको हत्याको भर्त्सना पनि गरेको छ । यसअघि नै विभिन्न देशका सरकारले पनि आबेको निधनमा दु:ख व्यक्त गर्नुका साथै शोक मनाउने निर्णय गरेका छन् । शुक्रबार चुनावी सभालाई सम्बोधन गर्ने क्रममा आबेमाथि गोली प्रहार भएको थियो । गोली प्रहारपछि ढलेका आबेको उपचारका क्रममा निधन भएको हो ।
आबेको निधनप्रति प्रधानमन्त्रीद्वारा दुःख व्यक्त
कठमाडौं । प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले जापानका पूर्व प्रधानमन्त्री शिन्जो आबेको निधनको खबर सुनेर गहिरो दुःख लागेको बताउनु भएको छ । प्रधानमन्त्री देउवाले आबेप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्नुभएको छ ।
प्रधानमन्त्री देउवाले ट्वीट गर्दै आबे विश्वका चर्चित नेता मात्र नभएर नेपालको असल मित्र पनि हुनुहुन्थ्यो भन्नुभएको छ । प्रधानमन्त्रीले यस दुखद घडीमा जापानका जनता र शोक सन्तप्त परिवारका सदस्यहरुप्रति हार्दिक समवेदना प्रकट गर्नुभएको छ ।
ओलीद्वारा दुःख व्यक्त
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ । उहाँले आज ट्विटमार्फत आबेको हत्याको भत्र्सना गर्दै निधनप्रति दुःख व्यक्त गर्नुभएको हो ।
जापानका पूर्वप्रधानमन्त्री आबेको जघन्य हत्याको म घोर निन्दा गर्दछु, उहाँले ट्विटरमा भन्नुभएको छ, “उहाँ नेपालको असल मित्र हुनुहुन्थ्यो र उहाँले प्रधानमन्त्री हुँदा नेपाल–जापान सम्बन्धलाई मजबुद बनाउन महत्वपूर्ण भूमिका खेल्नुभएको थियो ।”