
प्रधानमन्त्री बोरिस जोन्सनले दिए राजीनामा, नयाँ प्रधानमन्त्रीको पर्खाइमा
लण्डन । बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले कन्जरभेटिभ पार्टीको दलको नेताबाट राजीनामा दिएका छन् । राष्ट्रका नाममा आज दिउँसो सम्बोधन गर्दै उनले राजीनामा घोषणा गरेका हुन् । श्रृंखलाबद्ध विवाद र आफ्नै दलको तर्फबाट मन्त्रीपरिषदका अन्य सदस्यहरूले पनि राजीनामा दिएपछि जोनसनले दलको नेता र प्रधानमन्त्रीको पदबाट राजीनामाको घोषणा गर्नुभएको हो । उनले आफू नयाँ प्रधानमन्त्रीको पर्खाईमा रहेको र दलको नयाँ नेतालाई आफ्नो पूर्ण समर्थन रहने बताएका छन् ।
सम्बोधनका क्रममा दलको नयाँ नेता नचुनिएसम्म आफूले प्रधानमन्त्री पदमा रहेर जनताको सेवा गरिरहने र नयाँ नेता चुनिएपछि कार्यभार हस्तान्तरण गर्ने जोन्सनले बताए । अर्को प्रधानमन्त्री नचुनेसम्मा बोरिस नै काम चलाउ प्रधानमन्त्री रुपमा रहिरहनेछ । जोन्सनले ब्रिटेनको हरेक क्षेत्रको क्षमतालाई उजागर र प्रोत्साहित गर्न जरुरी रहेको उल्लेख गर्दै यसरी ब्रिटेन युरोपमै सबैभन्दा समृद्ध देश बन्न सफल हुने जिकिर गरे ।
पद छोड्दा आफूलाई दु:ख लागेको भन्दै जोन्सनले दुनियाँको सबैभन्दा राम्रो जागिर नै जनताको सेवा भएको बताए । जोन्सनको नेतृत्वमा प्रश्न उठाउँदै ब्रिटेनका अर्थ र स्वास्थ्यमन्त्रीले राजीनामा दिएपछि उनी दबाबमा परेका थिए । कन्जरभेटिभ पार्टीले अक्टुबरमा आयोजना गरेको सम्मेलनबाट नयाँ प्रधानमन्त्रीको सुनिश्चितता गर्ने बीबीसीले जनाएको छ ।
चरणबद्ध रूपमा मन्त्रीहरूले राजीनामा दिएपछि जोनसनलाई राजीनामाका लागि चर्को दबाब सिर्जना भएको थियो । यसअघि हिजो बुधवार उहाँले बेलायती संसद्को नियमित प्रश्नोत्तर सत्रमा आफूले सन् २०१९ को निर्वाचनबाट ‘व्यापक जनादेश’ पाएको र त्यो ‘जारी रहने’ बताउनुभएको थियो । अर्थमन्त्री ऋषि सुनक र स्वास्थ्यमन्त्री साजिद जाविदको नाटकीय राजीनामापछि जोनसन सङ्कटमा पर्नुभएको थियो । यसै वर्षको सुरुमा क्रिस पिन्चरलाई सहायक प्रमुख सचेतक नियुक्त गर्ने जोनसनको निर्णयका विषयमा विवाद भएपछि उनीहरूले मङ्गलवार केही मिनेटको फरकमा राजीनामा दिएका थिए ।
उनीहरूको राजीनामासँगै राजीनामाको लहर सुरु भएको थियो र बुधवार अन्य कतिपय मन्त्रीहरूले पनि राजीनामा दिनुभएको थियो । यसअघि जोनसनप्रति असन्तुष्टि जनाउँदै ५० भन्दा बढी कन्जरभेटिभ सांसदहरूले सरकारमा उनीहरूले निर्वाह गर्दै आएका भूमिकाबाट राजीनामा दिएका थिए । यसअघि मंङ्गलवारमात्रै अर्थमन्त्री नियुक्त भएका नदिम जाहावीले पनि पदबाट राजीनामा दिँदै एक पत्र प्रकाशित गरेर प्रधानमन्त्री जोनसनले सरकारलाई अवमूल्यन गरिरहेको र उहाँ पदबाट हट्नुपर्ने बताउनुभएको थियो ।
बेलायतमा मुद्रास्फीतिले पारिरहेको आर्थिक असरले जनजीवन प्रभावित हुने क्रम जारी छ । यस्तो जल्दोबल्दो समस्या सामना गर्नुको सट्टा आफ्नै सत्तारूढ कन्जरभेटिभ पार्टीभित्रैको बढ्दो किचलोले गर्दा प्रधानमन्त्री जोन्सनको राजनीतिक भविष्य अन्ततिर आइपुगेको कतिपय राजनीतिक विश्लेषकहरूले टिप्पणी गर्दै आएका छन् ।
सन् २०१९ मा सम्पन्न आमनिर्वाचनमा स्पष्ट बहुमत ल्याएका जोन्सन आफ्नै पार्टीभित्र सन्तुलन मिलाउन नसक्दा करिब दुई वर्ष अघि नै पदबाट बाहिरिन बाध्य हुनु परेको हो । गत महिना मात्रा सन्सदमा प्रधानमन्त्री बिरुध्दको अविश्वासको प्रस्ताव विफल भएको थियो । जोनसनको सरकार पछिल्लो समय कैयौँ विवादमा परेको थियो। उनीमाथि कोरोनाभाइरस लकडाउन बेला डाउनिङ स्ट्रीटमा पार्टी आयोजना गरेको र त्यस विषयमा संसद्लाई ढाँटेको भन्दै प्रहरी अनुसन्धान समेत भएको थियो ।
जोन्सन २०१९ जुलाई २३ मा ब्रिटेनको प्रधानमन्त्री निर्वाचित भएका थिए ।


