निर्वाचन आयोगले आज संघिय चुनावको मिती सिफारिस गर्ने, मङ्सिर २ शुक्रबार कि मङ्ग्सिर ५ सोमवार ?

निर्वाचन आयोगले आज दिउँसो आगामी सँसदीय निर्वाचनको मिति सिफारिस गर्ने भएको छ । प्रधानमन्त्रीको निजी सचिवालयले आयोग पदाधिकारीहरुलाई आज दिउँसो ४ बजे भेटघाटको निम्ति तयारी अवस्थामा रहन जानकारी गराएपछि सिफारिसको सम्भावना बढेको हो । यसअघि कात्तिक २७, ३० र मंसिर १२ गतेको चर्चा भए पनि अर्कै मितिमा निर्वाचन गर्न उपयुक्त हुने भन्दै सोहीबमोजिम सिफारिस गर्न लागिएको हो । सरकारले कात्तिक ३० गतेको सम्भावना बताए पनि आयोग पदाधिकारीहरु उक्त मितिको लागि तयार देखिएनन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाजस्तै आयोग पदाधिकारीहरु पनि ज्योतिषीमा विश्वास गर्ने भएकाले उनीहरुले मंसिर छुवाउने निधो गरेका हुन् । एक जना आयुक्तले भने,‘हामीहरुमध्ये कसैलाई ज्योतिषले कात्तिकमा चुनाव नगर्नुस्,राम्रो हुँदैन, मंसिरमा गर्नुस् भनेको रहेछ,प्रधानमन्त्री पनि हात नहेराई ठूलो कदम नचाल्ने बानीको भएकाले आज १ बजे मिटिङ्ग बसेर सोहीअनुसार अघि बढ्ने निर्णय होलाजस्तो छ ।’

यसअघि आयोगका पदाधिकारीहरुले अनौपचारिक रुपमा सरकारलाई निर्वाचनको मिति कहिले सिफारिस गर्दा तपाईंहरुलाई सजिलो हुन्छ,के छ राय ? भनेर सोधेका थिए । तर सरकारका मन्त्रीहरुले ठ्याक्कै दिन नभनेपछि आयोगका पदाधिकारीहरुले सबै पक्षलाई ध्यानमा राखेर नयाँ मिति सिफारिस गर्न लागेका हुन् ।

‘हामीहरुमध्ये कसैलाई ज्योतिषले कात्तिकमा चुनाव नगर्नुस्,राम्रो हुँदैन, मंसिरमा गर्नुस् भनेको रहेछ,प्रधानमन्त्री पनि हात नहेराई ठूलो कदम नचाल्ने बानीको भएकाले आज १ बजे मिटिङ्ग बसेर सोहीअनुसार अघि बढ्ने निर्णय होलाजस्तो छ ।’ स्रोत भन्छ,‘मंसिर २ गते शुक्रवार वा ५ गते सोमवार एकै चरणमा गर्न उपयुक्त हुने सिफारिस गरिँदैछ । तर पनि सबै हिसाबले २ गते नै राम्रो हुने देखिएको र कात्तिकमा नगर्ने भनी छिनालेर आज कुरो गरिँदैछ ।’

आयोग उच्चस्रोतले मंसिरको पहिलो साता आगामी संसदीय निर्वाचनको निम्ति ढुक्क भएर बस्न उपयुक्त हुने बताएको छ । यसैबीच आयोगले गत स्थानीय निर्वाचनमा खर्च नभएपछि बचत हुन आएको डेढ अर्ब रुपैयाँ सरकारलाई फिर्ता गरेको छ । उक्त रकम पाँच वर्षअघिको निर्वाचनमा भन्दा मितव्ययी गर्दा पनि डेढ अर्ब बढी भएको बताइन्छ ।

अझै ४० करोड रुपैयाँ फिर्ता गर्ने तयारीमा आयोग छ । खर्च नभएर बाँकी रकम ५० करोड देखिएको तर एक स्थानीय तहमा पुनः निर्वाचन गर्न बाँकी रहेको र केही जिल्लाबाट अन्तिम खर्चको विवरण नआइसकेकाले कम्तिमा ४० करोड रुपैयाँ फिर्ता हुने अवस्था छ ।

निर्वाचन आयुुक्त रामप्रसाद भण्डारी ओली निवास बालकोटमा

त्यस्तै एमाले अध्यक्ष केपी शर्मा ओलीको निवासमा हिजो राति पुगेका निर्वाचन आयोगका पदाधिकारीमा आयुुक्त रामप्रसाद भण्डारी रहेको बालकोट स्रोतले स्पष्ट पारेको छ । हिजो राती ८ देखि १० बजेसम्म बालकोटस्थित अध्यक्ष ओलीको निवासमा बा.२ झ ३२३१ नम्बरको गाडी चढेर पुगेका खाइलाग्दो ज्यानका सरकारी अधिकारी निर्वाचन आयोगका आयुक्त तथा वरिष्ठ अधिवक्ता राम्रप्रसाद भण्डारी भएको ओलीका निजी सचिव राजेश बज्राचार्यले बताए ।

यता,आयोग स्रोतले पनि उक्त नम्बरको सवारी साधन आयुक्त भण्डारीकै भएको पुष्टि गरेको छ । प्रमुख आयुक्त दिनेश थपलियाले भने हिजो साँझ त्यसबेला आफू बृद्ध आमासँग भलाकुसारी गर्दै कपनको घरमै टिभी हेरिरहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘म कसैकोमा जान परे दिउँसो झलमल्ल घाम लागेकै बेलामा जान्छु,राति राति जानु छैन । निर्वाचनको मिति तोकेपछि एक पटक सबै शीर्ष नेताहरुलाई भेट्नुपर्ने चलन छ,त्यो काम अब निर्वाचनको मिति घोषणा गरेपछि हुन्छ ।’

उहाँले आफूले एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री ओलीलाई नभेटेको झण्डै एक वर्ष भएको पनि जानकारी दिनुभएको छ । गत वर्ष असारमा तत्कालीन सरकारको विकल्पमा वर्तमान सरकार बन्ने ‘एक्सरसाइज’ भइरहँदा प्रधानमन्त्रीको रुपमा उहाँलाई बालुवाटारमा भेटेपछि अहिलेसम्म एमाले अध्यक्षलाई नभेटेको थपलियाको दाबी छ ।

भण्डारीलाई अघिल्लो वर्ष केपी ओली सरकारले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र समशेर राणाको जोडबलमा आयुक्तमा नियुक्त गरेको हो । उनी पनि अघिल्लो सरकारले संवैधानिक निकायमा नियुक्त गरेका ५२ भाइमध्ये पर्छन् । उक्त नियुक्तिलाई लिएर मुद्दा बिचाराधीन छ ।