राजेश हमालले भेटे प्रचन्डलाई : ‘राजनीतिमा आउन पनि सक्छु’
काठमाडौँ — अभिनेता राजेश हमालले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई भेटेका छन् । शुक्रबार दाहाल निवास खुमलटारमा भएको भेटमा समसामयिक विषय, फिल्म क्षेत्र र राष्ट्रिय/अन्तर्राष्ट्रिय राजनीतिबारे छलफल भएको छ ।
दाहालसँगको भेटमा हमालले आफूलाई राजनीतिमा रुचि भएको बताएको गायक/संगीतकार चेतन सापकोटाले जानकारी दिए । भेटको चाँजोपाँजो सापकोटाले नै मिलाएका थिए । सुरुमा सामूहिक रूपमा भेटवार्ता भए पनि पछि दाहाल र हमाल एक्लाएक्लै २० मिनेट छलफल गरेका थिए ।
‘दुवै जनाको अहिलेसम्म भेट भएको रहेनछ । प्रचण्डले हमाललाई सुरुमै यो देशको बारेमा चिन्तन/बुझाइ के हो भनेर सोध्नुभयो । तपाईंलाई म ४/५ वर्षअगाडि देखि नै भेट्न चाहन्थें,’प्रचण्डको भनाई उद्धृत गर्दै सापकोटाले भने,’हमालले देशले अपेक्षित प्रगति गर्न सकेन । तर गणतन्त्रपछि दलित महिलाका मुद्दाहरु जुन स्थापित भए त्यसलाई संस्थागत रूपमा अगाडि बढेर समृद्धिको बाटोमा अगाडि बढ्नुपर्छ । राजनीतिक किचलो गर्नुहुँदैन । गणतन्त्रलाई संस्थागत गरेर सबै मिलेर देश विकासको बाटोमा लाग्नुपर्छ भन्नुभयो ।’
हमालले राजनीतिमा तत्काल प्रवेश गर्ने नबताए पनि राष्ट्रको सेवाका लागि आफ्नो ठाउँबाट सहयोग गर्ने बताएको सापकोटाले जानकारी दिए । ‘राजनीतिमा आउन सक्दिनँ भन्ने पनि होइन आउन पनि सक्छु म । राजनीतिबाट नै देशको नीति बन्ने हो । मेरो राजनीतिमा घृणा छैन भन्नुभयो,’ सापकोटाले भने,’प्रचण्डले हमाललाई हाम्रो पार्टीमा आउनुस्, टिकट दिन्छु भन्नु भएको होइन ।’