एनआरएनए यूकेमा विवाद : महासचिब खुशी लिम्बुलाई स्पष्टीकरण माग
लण्डन । एनआरएनए यूकेमा पुन बिबादमा आएको छ । बिशेष गरेरा महासचिब खुशी लिम्बुले परस्पर बिरोधाभास सुचना सम्प्रेषण गरेको भन्दै कार्यसमितिले स्पष्टीकरण सोध्ने र अबको सुचनाहरु महासचिब मार्फत नभई सचिबहरुमार्फत सम्प्रेषण गर्ने निर्णय गरेको छ । एनआरएनए यूकेको गत जुन २५ तारिख शनिबार बसेको कार्यसमिति बैठकले उक्त निर्णय गरेको छ ।
संघले हिजो आइतबार जारी गरेको बिज्ञप्तीका अनुसार – ‘महासचिव खुशी लिम्बुले कार्यसमितिको बैठक लगायतमा आफू खुशी परस्पर विरोधी सूचनाहरु संप्रेषण गरी भ्रम श्रृजना हुने वातावरण बनाउनु भएको विषयलाई गम्भीर रुपले लिने निर्णय भयो । बैठकले महासचिवलाई आफ्ना यस्ता असंगत गतिविधिका बारेमा स्पष्टिकरणसहित अर्को बैठकमा उपस्थित गराउने तथा आफू खुशी सप्रेषण गरिएका यस्ता असंगत सूचनाहरुको गलत प्रभाव परेको महसुस गरी आइन्दा संगठनको अहित हुने वा भ्रम पर्ने गरी यस्ता कार्य नगर्ने प्रतिवद्धता नगर्दासम्म गैर आवासीय नेपाली संघ यूकेको आधिकारिक पत्राचार वा सूचना महासचिवमार्फत नगर्ने नगराउने निर्णय गरेको छ ।’
त्यस्तै महासचिव लिम्बुले आफुखुसी छुट्टै वाट्स अप ग्रुप खोलेर ग्रुपिजम गरेको, एनआरएनए यूकेको आधिकारिक फेसबुक पेजको एडमिनबाट अध्यक्ष र प्रवक्तालाई हटाएर व्यक्तिगत लाभका लागि प्रयोग गरेको जानकारी आएको छ । जुन २५ तारिखको कार्यसमिती बैठकबारे एक महिना अगावै जानकार गराएको र एक हप्ता अगाडि एजेण्डा समेत गइसकेको अवस्थामा रेल हड्ताललाई बहानामा बनाएर बैठक स्थगन/रध्द भएको बि भनी महासचिब लिम्बुले भ्रम फैलायो भनी स्पष्टीकरण मागिएको श्रोतको दावी छ । स्कटल्याण्ड र नर्दन आयरल्याण्डबाट उपाध्यक्षहरु अल्डरसट आउंदा महासचिवले भने रेल हड्तालले उपस्थित हुन नसकिने बहाना बनाएका थिए । महासचिव लिम्बु एनआरएनए यूकेले गरेका हरेक जसो कार्यक्रममा पनि अनुपस्थित भएका थिए ।
महासचिव र अध्यक्षबीचको तिक्तता उत्कर्षमा पुग्दा महासचिव लिम्बुलाई कार्यसमितिको अफिसियल भाइबर ग्रुपबाट समेत निकालिएको एक पदाधिकारीले बताए ।
विवाद मिलाउन केन्द्रीय अध्यक्ष सहितको उच्चस्तरिय समिति गठन
त्यस्तै संघको (एनआरएनए यूके)को विवाद मिलाउन आईसीसीले एक उच्चस्तरिय समिति गठन गरेको छ । संघको आइतवार बसेको पदाधिकारी बैठकले कार्यकारी अध्यक्ष कुल आचार्यको संयोजकत्वमा एक समिति गठन गरेको संघका महासचिव गौरीराज जोशीले जानकारी दिए ।
समितिमा यूकेबाट संघको केन्द्रीय समितिमा प्रतिनिधित्व गर्ने सबै पदाधिकारीहरु तथा युरोप क्षेत्रीय संयोजक(आरसी)द्वय सन्तोष भट्टराई र चिन्तामणि सापकोटा सदस्य रहने छन् ।
समितिमा संघका उपाध्यक्षद्धय डा. हेम राज शर्मा र प्रकाश गुरुङ्ग, उपमहासचिवद्धय रामशरण सिमखडा र विनय अधिकारी, सहकोषाध्यक्ष कृष्ण तिमल्सीना, महिला संयोजक संगिता मरहट्ठा, युरोप उप-संयोजकद्धय दयानिधि सापकोटा र ललित न्यौपाने र आइसीसी सदस्यहरु राजेन्द्र पुडासैनी, दिनेश घिमिरे,महेश अधिकारी, कोश्लेश्वर ढकाल,भिमलाल भट्टराई, एलएन पाण्डे र समीर खनाल छन् ।
यसअघि आइतबार एनआरएनए यूकेको प्रबक्ताको ईमेल आइडीबाट दुई फरक फरक बिज्ञप्तिहरु आएका थिए ।