गोर्खा मुध्दा र नागरिकता बिषय टुङ्ग्याउन एनआरएनए यूकेले पूर्वमन्त्री र सांसदसँग अन्तकृया

अल्डरसट । गैर आवासीय नेपाली संघ (एनआरएनए) यूकेले गोर्खा मुध्दा र नागरिकता बिषय टुङ्ग्याउन हाल बेलायत भ्रमणमा रहेका पूर्वमन्त्रीहरु डा. मिनेन्द्र रिजाल नेपाली काङग्रेस र सुरेन्द्र पाण्डे नेकपा एमाले तथा सांसदहरु प्रमिला राई, जयकुमार राईलगायत नेतासंग अल्डरसट स्थित आफ्नै कार्यालय गत शुक्रबार अन्तकृया गरेका छन ।

अन्तकृया कार्यक्रममा सहाभागी नेताहरुले भुतपुर्ब गोर्खाहरुको मुध्दा र एनआरएनए नागरिकताबारे आफुहरु जानकार रहेको यस्ता संबेदनसील मुध्दाहरु कानुनी र संबिधानिक रुपमा नै हल गर्न सकेको सहयोग गर्ने प्रतिबध्दता ब्यक्त गर्नुभएका छन । पूर्व मन्त्री र सांसदहरुले प्रवासमा रहेका लाखौं नेपालीलाई स्वदेश फर्काउने वातावरण मिलाउन, उनीहरुलाई आवश्यक सुविधा दिन र गोर्खा मुद्दा समाधानमा दत्तचित्त भएर लाग्ने आश्वासन दिए ।

कार्यक्रमका प्रमुख अतिथी पूर्वमन्त्री डा. मिनेन्द्र रिजालले भूतपूर्व गोर्खा मुद्दा सम्बन्धमा नेपाली कांग्रेसका सभापति प्रधानमन्त्री शेरबहादुर देउवाले समस्या हल गर्न पटक पटक पहल गर्नुभएको स्मरण गर्दै यो विषय गम्भीर रुपमा टुंग्याउनुपर्ने बताए । नेता रिजालले नागरिकता विधेयक संसदमा प्रस्तुत भइसकेकाले त्यो पारित हुनेमा विश्वस्त हुन अनुरोध गरे । गैर आवसीय नेपालीको नागरिकता सम्बन्धमा आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारसहितको नागरिकता दिने भनेर संविधानमा लेख्यौं तर कानून नियमले संकुचित गर्न खोज्यौं- उहाँले भन्नुभयो ।

कार्यक्रमका अर्को नेता पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले भूतपूर्व गोर्खा मुद्दा समाधान गर्न सहज नभएपनि समाधान नगरि नहुने भएकाले बेलायत सरकारलाई तीव्र दवाव दिइरहन आवश्यक रहेको बताए । नेता पाण्डेले गोर्खा मुद्दामा ऐक्यवद्धता जनाउंदै आफूहरु नेपाल फर्किएर परराष्ट्रमन्त्री नारायण खड्कालाई भेटी यसबारे थप झकझकाउने आश्वासन दिए । पाण्डेले नेपालको संविधानले प्रदत्त गरेको गैर आवासीय नागरिकता दिने सवालमा खास समस्या नभएको तर वंशजको नागरिकता दिन्छौं भन्न नसकिने बताए । उनले एनआरएनए नागरिकता विधेयक पारित हुने बताए ।

कार्यक्रममा उपस्थित प्राय नेताहरुले गैर आवसीय नेपालीहरुले बिदेशमा आर्जन गरेको ज्ञान, सिप र धन नेपाल पठाएर वा नेपालमा लगानी गरेर नेपालको बिकासमा टेवा पुर्‍याउनुपर्ने आग्रह गरेका थिए ।

त्यस्तै कार्यक्रमका सभापति तथा एनआरएनए यूकेका अध्यक्ष प्रेम गाहामगरले नेताहरुसंग भूतपूर्व गोर्खा मुद्दा समाधानमा पहल गर्न र संसदमा विचाराधिन गैर आवासीय नेपाली नागरिकता विधेयक यथाशिघ्र पारित गर्नको निम्ती उपस्थित नेताहरुलाई पहल गर्न अनुरोध गरेका थिए ।

एनआरएनए यूकेको उपाध्यक्ष तथा कार्यक्रम संयोजक मोहन कार्कीले सञ्चालन गरेको उक्त कार्यक्रममा सांसदहरु पदम गिरी, जयकुमार राई, श्याम श्रेष्ठ, रामबाबु यादव, प्रमिला राई, एनआरएनए यूके प्रमुख संरक्षक शेरबहादुर सुनार, एनआरएनए यूके पूर्व अध्यक्ष योगेन क्षेत्री, पूर्व महासचिव आरके त्रिपाठी, भूतपूर्व गोर्खा अभियन्ता ज्ञानराज राई लगायतले पनि सम्वोधन गरेका थिए ।

फोटो- मिलन तमु, गोर्खा मिडिया