मेयर बालेन शाहको चुनाव खर्च चार लाखभन्दा कम (विवरणसहित)
काठमाडौं : काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले निर्वाचन खर्च विवरण सार्वजनिक गरेका छन् । स्थानीय तह निर्वाचन सम्पन्न भएको एक महिनापछि सोमबार बालेनले सार्वजनिक गरेको निर्वाचन खर्च विवरणमा तीन लाख ९४ हजार ४८९ रुपैयाँ खर्च भएको उल्लेख छ । निर्वाचन आयोगले महानगरपालिकाको प्रमुख तथा उपप्रमुखले अधिकतम ७ लाख ५० हजारसम्म खर्च गर्न पाउने सीमा तोकेको थियो ।
बालेनले निर्वाचनका क्रममा मतदाता नामावली खरीदमा एक हजार, सवारी साधनमा ९२ हजार, सवारी इन्धनमा ७ हजार ६५४, प्रचार प्रसार सामाग्रीमा ९२ हजार ८५, ढुवानीमा २ हजार ५ सय, गोष्ठी/कार्यकर्ता परिचालनमा १ लाख १३ हजार ५ सय, अन्य प्रचार प्रसारमा ४० हजार, कार्यालय सञ्चालनमा १७ हजार २५० र विविध शीर्षकमा २८ हजार ५ सय रुपैयाँ खर्च गरेको विवरणमा उल्लेख गरेका छन् ।
खर्चको विवरण केही समय अगाडि नै सार्वजनिक भइसक्नुपर्ने भए पनि विभिन्न कारणहरुले ढिलो भएकोमा माफी मागेका छन् ।
उनले मतगणनामा ढिलाई हुँदा यो समयमामात्रै १ लाख भन्दा बढी भएको भन्दै गुनासो गरेका छन्। ‘मतगणना ढिलो भएर निर्वाचन प्रक्रियालाई लामो र बोझिलो मात्रै बनाएको छैन, उम्मेदवारका लागि महंगो बनाइरहेको छ। यसमा सबैको ध्यान जान जरुरी छ,’ उनले भनेका छन्।
महानगरवासीले दिएको मतलाई जिम्मेवारीपूर्वक सदुपयोग गर्ने बालेनले प्रतिबद्धता जनाएका छन्। ‘एउटा उम्मेदवारका रुपमा हामीले जुन साथ र विश्वास पायौँ, त्यसलाई संसारको सबै भन्दा शक्तिशाली कम्प्युटरले जस्तो सुकै तालिकामा कुनै पनि संख्या राखेर देखाउन सक्दैन,’ उनले भनेका छन्, ‘त्यो अमुल्य साथ र विश्वासले दिएको जिम्मेवारी पूरा गराउँन हामी हरसमय खटिरहनेछौँ।’
कांग्रेसकी सिर्जना सिंह र एमालेका केशव स्थापितलाई पराजित गर्दै बालेन भारी मतका साथ मेयरमा निर्वाचित भएका थिए ।
खर्चको विवरण यस प्रकार छ :