एसपीपी सम्झौता नेपालले चाहेमा रद्द गर्न सक्छ : अमेरिकी दूतावास भन्छ

कुनै किसिमका गतिविधि नभएको स्पष्टीकरण

काठमान्डौ । स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) अन्तर्गत प्रस्तावित सैन्य सम्झौता विवादमा परेपछि नेपालस्थित अमेरिकी दूतावासले नेपालले चाहे यो सम्झौता रद्द गर्न सक्ने जनाएको छ । काठमाडौंस्थित अमेरिकी दूतावासले बिहीबार एक प्रेस विज्ञप्ति जारी गरी नेपालले एसपीपी सम्झौताबाट अलग हुन चाहेमा त्यसो गर्न सक्ने बताएको हो । ‘कुनै पनि देशले एसपीपी कार्यक्रममा भाग लिन चाहँदैन भनेर अमेरिकालाई जानकारी दिन सक्छन्’, दूतावासले भनेको छ ।

दूतावासले बुधबार नेपाललाई कुनै सम्झौता प्रस्ताव नगरिएको र त्यस्तो सम्झौता अस्तित्वमा नरहेको दाबी गरेको थियो। तर बिहीबारको बिज्ञप्तिमा उसले सम्झौता भइसकेको बताएको हो । अहिले एसपीपीमा ९० देश आवद्ध रहेको दूतावासले जनाएको छ। तिमध्ये बेलारुसले सम्झौता रद्ध गरिसकेको छ । सम्झौताका लागि नेपालले नै सन् २०१५ र २०१७ मा पत्रमार्फत आग्रह गरेको अमेरिकी दूतावासले प्रेस बिज्ञप्तिमा जनाएको छ ।नेपालको आग्रहअनुसार अमेरिकाले सन् २०१९ मा एसपीपी स्वीकार गरेको विज्ञप्तिमा जनाइएको छ ।

नेपाली सेनाले हिजो एसपीपी अन्तरगत कुनै सम्झौता नभएको र अब पनि नहुने बताएको थियो । तत्कालीन प्रधानसेनापति राजेन्द्र क्षत्रीले सन् २०१५ मा अमेरिकि राजदूतलाई लेखेको पत्र सार्वजनिक भएको छ। जसमा अमेरिकी एसपीपी अन्तर्गत दैवी विपद् लगायतका काममा अमेरिकी सेनाको सहयोगका लागि आग्रह गरिएको छ ।

नेपालले नचाहेका कारण अहिलेसम्म एसपीपी अन्तर्गत नेपालमा कुनै पनि कार्यक्रम नभएको दूतावासले दाबी गरेको छ। ‘एसपीपीअन्तर्गतका कुनै पनि क्रियाकलाप नेपालको स्वीकृतिमा मात्रै हुनेछन्,’ दूतावासले अगाडि भनेको छ।