सरकार फेरियो, मन्त्री फेरिए तर मलको कथा फेरिएन : गगन थापा

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगन थापाले सरकार र मन्त्री फेरिए पनि मलको कथा नफेरिएको बताएका छन् । संसद्मा जारी मन्त्रालयगत बजेट छलफलमा भाग लिँदै थापाले यस पटक पनि मलको अभाव हुने भन्दै सरकारलाई फरक तरिकाले काम गर्न आग्रह गरे ।

‘आज मात्रै कृषि मन्त्रालयले निकालेको वक्तव्यअनुसार असार मसान्तसम्ममा १ लाख ९२ हजार मेट्रिक टन मल आउँछ भनिएको छ,’ उनले भने, ‘तर त्यति मल आउँदैन । आउन सक्दैन ।’ उनले दिनको २ हजार मेट्रिक टन भन्दा बढी आउन नसक्ने बताए ।

‘अहिले मौज्दात ७ हजार मेट्रिक टन छ । २० हजार बाटोमा छ भनिएको छ,’ उनले भने, ‘दिनको २ हजार मेट्रिक टन भन्दा बढि आउन सक्दैन । यो फेरि अहिले मात्रै भएको होइन । गएको सालपनि मनसुन राम्रो भयो तर मलको कारणले हामीले ठूलो लस गर्‍यौँ । त्यो भन्दा अगाडिको साल पनि सरकार फेरियो । मन्त्री फेरिए । तर मलको कथा जहिल्यै पनि यस्तै रह्यो ।’

अघिल्ला सालका पत्रिका पल्टाएर हेर्दा मलको कथा उस्तै देखिने उनले बताए । मनसुनको सहजता हुँदा मलको कारणले उत्पादनमा चुकेको उनकाे भनाइ छ । उनले यसका लागि नयाँ तरिकाले काम गर्न समेत सरकारलाई आग्रह गरे ।

यो सरकार मलमा ‘माल’ खोजिरहेको छ : भट्टराई

काठमाडौँ — एमालेका सांसद योगेश भट्टराईले वर्तमान सरकार कृषि मलमा अनियमितता गर्न खोजिरहेको आरोप लगाएका छन् । किसानले समयमा मल नपाउनुको कारण सरकारमा रहेका व्यकतिहरूले नै मल आयातमा अनियमितता गर्न खोजेर भएको बताए । प्रतिनिधिसभाको बुधबारको बैठकमा कृषि मन्त्रालयका लागि विनियोजित बजेटमाथि आफ्ना धारणा राख्दै सांसद भट्टराईले उक्त आरोप लगाएका हुन् । ‘आज बालिनाली लाउने बेला भइसकेको छ, मलको हाहाकार छ । मल छैन ।’

मल खोज्न कृषिमन्त्री महिन्द्रराय यादव भारत भ्रमणमा रहेको अवस्थामा मल आउला त भन्ने पनि भट्टराईले प्रश्न गरे । ‘हामीले सुनिराख्या छौं मल खोज्न कृषिमन्त्री भारततिर जानुभएको छ, कहाँ पुग्नुभयो ? उहाँको हालखबर के छ ? मल आउँछ कि आउँदैन ? मल ल्याएर आउनुहुन्छ कि आउनुहुन्न ? मल नपाएर कृषिमन्त्री थकित भएर उतै निर्वासित हुने हो कि भन्ने आशंका पनि छ,’ उनले भने ।

सरकारले नै मल ल्याउने नखोजेको भट्टराईको आशंका थियो । ‘मल आउँछ तर यो सरकारले मल ल्याउन खोजेको छैन । मलमा माल खोजिरहेको छ माल !,’ उनले भने, ‘जबसम्म माल आउँदैन मलमा, तबसम्म मल आउनेवाला छैन । त्यसरकारण हामीले मल खोजकेो हो मालको पछाडि लाग्ने खोजेको होइन ।’