तमु समाज युकेको पन्ध्रौं साधारण सम्पन्न, नेपाली र अङ्ग्रेजी भाषाको कक्षाहरु संचालन गर्ने

नारायण सिंह गुरुङ- मिडिया सचिब तमु समाज युके

५ जुन २०२२ आईतबार, वेम्बली । तमु समाज यूकेले ५ जुन २०२२ आईतबार वेम्बली स्थित बारहम पार्कको आफ्नै भवनमा समाजको पन्ध्रौ वार्षिक साधारण सभा-२०२२ भब्यताको साथ सम्पन्न गरेको छ । समाजको अध्यक्ष श्री शिव कुमार गुरुङ, संस्थापक अध्यक्ष श्री चित्र बहादुर गुरुङ, समाजको सल्लाहकार तथा हाल सालै बार्नेट बोरोका नव निर्वाचित काउन्सिलर श्री कमल गुरुङ र आमा समुहका अध्यक्ष श्रीमति उमा देवी गुरुङले संयुक्त रुपमा पानसमा दीप प्रज्वलन गरेर बिधिवत पन्ध्रौ वार्षिक साधारण सभा शुभारम्भ गरेको थियो । त्यसपछि यस बर्ष समाजले तीन जना आजीवन सदस्यहरु गुमाउन पुगेकोले दिवङ्गत आत्माको चीर शान्तिको कामना गर्दै एक मिनेट मौन धारण गर्यो । त्यस पश्चात हेल्थ एण्ड सेफ्टी बारेमा जानकारी राख्नु भयो । त्यसपछि अरू कार्यक्रम शुरू हुनु पूर्व २०२० सालमा दिवङ्गत हुनु भएको समाजका आजीवन सदस्य स्व. खुशी मान गुरुङ कार्य समिति सदस्य रहदा दिबंगत हुनु भएको हुनाले र उहाँले समाजलाई दिनु भएको योगदानहरूको मूल्यांकन गर्दै तमु समाज युके द्वारा मरणोप्रान्त सम्मान पत्र वहाँको धर्म पत्नी श्रीमति पञ्च गुरुङलाई अध्यक्ष श्री शिव कुमार गुरुङको हातबाट हस्तान्तरण गरेको थियो ।

त्यस लगत्तै समाजका वरिष्ठ उपाध्यक्ष श्री हर्क बहादुर गुरुङले छोटो मिठो शब्दमा उपस्थित सबैलाई स्वागत मन्तब्य राख्नु भयो । त्यसपश्चात समाजका संस्थापक अध्यक्ष श्री चित्र बहादुर गुरुङ, पूर्व अध्यक्षज्यूहरु क्रमश श्री शिव शरण गुरुङ, श्री अर्जुन कुमार गुरुङ, शिवचन्द्र गुरुङ आदिले पन्ध्रौं साधारण सभाको सफलताको शुभकामना दिँदै छोटो मिठो मन्तब्य राख्नु भयो ।

कार्यक्रमको सूची अनुसार महासचिव श्री धरमबल गुरुङले छैटौं कार्यसमितिले यो वर्ष भित्र विशेष गरेर तमु धी युकेसंगको मित्रता तथा सम्बन्ध प्रगाढ भएको उल्लेखनीय काम भएको कुरामा जोड दिँदै यो वर्ष भित्र भए गरेको सबै कामहरूको प्रगति प्रतिवेदन पेश गर्नु भयो । त्यस्तै गरि आमा समुहको अध्यक्ष श्रीमति उमा देवी गुरुङले आमा समुहले समाजको सदस्यहरुको हरेक सुख दुःखमा सरिक हुँदै सहयोग गरेको र आम्दानीको प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।

पहिलो चरणको कार्यक्रम सकिएपछि खाना ब्रेक लिएको थियो र ब्रेक पश्चात दोश्रो चरणको कार्यक्रम शुरू भएको थियो ।

दोश्रो चरणको कार्यक्रममा कोषाध्यक्ष श्री खेम बहादुर गुरुङले शिर्षकबद्द रूपमा आर्थिक विवरण प्रस्तुत गर्नु भयो । त्यसपछि अध्यक्ष श्री शिव कुमार गुरुङले समाजको बारहाम पार्क र रुइसलिप रोड, ग्रीनफोर्टमा रहेको समाज घरको आम्दानी र खर्चको प्रतिवेदन र समाज घरको नाममा सदस्यहरूले दिँदै गरेको मासिक रूपमा दिने गरेको आर्थिक सहयोगको प्रतिवद्धता अर्थात् वचनको स्थिति सबै प्रकाश पार्नु भयो साथै आर्थिक बर्ष २०२१-२०२२ को लेखा परीक्षकको प्रतिवेदन सम्बन्धमा पनि स्पष्ट पार्नु भयो। त्यसैमा समाज घरको मर्मत संहार तथा समाज घरलाई कसरी अझ राम्रो गर्ने भन्ने सवालमा वरिष्ठ उपाध्यक्ष श्री हर्क बहादुर गुरुङले प्रष्ट पार्नु भएको थियो ।

त्यस्तै गरि कार्यसूची अनुसार तमु सामज युकेको नेपालीमा रहेको विधानलाई च्यारिटी कमिशन र समाज दुवैमा चल्ने गरी अङ्ग्रेजीमा अनुबाद गर्ने बारेमा छलफल गरेर निर्णय गरियो । समाजमा युवाहरुको संलग्नता र सहभागिता बढाउन युवाहरुको अनुरोध अनुसार युवा समुहका अध्यक्ष श्री ओमकार गुरुङ एउटा फुटबल प्रतियोगिता आयोजना गर्ने सम्बन्धमा छलफल गरेर निर्णय पनि गरेको छ । त्यस्तै गरि साधारण सभाले यस वर्ष भरि समाजमा भएका राम्रा, नराम्रा कामहरूमा गरेको सान्त्वना, मद्दतको मूल्यांकन गरेर आमा समुहलाई र समाजका स्पोर्ट्स सेक्रेटरी श्री हरिमान गुरुङ र वहाँको धर्म पत्नी लक्ष्मी गुरुङलाई र युथहरुमा सविना गुरुङ र सुबिन गुरुङलाई पनि साधारण सभाको सर्व सम्मतिबाट प्रशंसा र धन्यबाद दिने निर्णय पनि गरेको छ ।

त्यस्तै गरि अन्य छलफलहरुमा हाम्रा नानीहरूलाई नेपाली भाषा कक्षा सञ्चालन, सिनियर सिटिजनहरुलाई अङ्ग्रेजी भाषा सम्बन्धमा कक्षा सञ्चालन गर्ने निर्णय पनि गरेको छ ।

त्यसपछि अरू विभिन्न विषयहरुमा छलफल र निर्णयहरु गरेर अन्तमा यो वर्षको क्यालेण्डरमा नोट गर्नु पर्ने मिति र इभेन्टसहरु सम्बन्धमा निर्णय गर्दै अध्यक्ष श्री शिव कुमार गुरुङले सबैलाई धन्यबाद प्रकट गर्नु भयो र आजको स्वादिष्ट भोजनको व्यवस्थापन गर्नु हुने आमाहरुमा अध्यक्ष श्रीमति उमा देवी गुरुङ, उपाध्यक्ष श्रीमति बिन्दु घले, पञ्च कुमारी गुरुङ, श्रीमति मिना गुरुङ, विजयता गुरुङ सबै सबैलाई धन्यबाद दिदै कार्यक्रमको अन्त भएको विधिवत घोषणा गर्नु भएको थियो ।

साधरण सभा अन्त भएको लगत्तै गत मे महिनामा सम्पन्न बेलायतको स्थानिय निर्बाचनमा लेबर पार्टिको प्रतिनिधित्व गरि लन्डन बोरो अफ बार्नेटको बर्न्टओक वार्ड बाट काउन्सिलर पदमा निर्बाचित हुनुभएका तमु समाज युकेका सल्लाहकार कमल गुरुङ र वहाँका धर्मपत्नि तमु समाज युकेका सल्लाहकार तथा आमा समूहका पूर्ब अध्यक्ष माया गुरुङलाई बधाई ज्ञापन तथा सम्मान कार्यक्रम आयोजना गरेको थियो । बधाई तथा सम्मान कार्यक्रममा अन्य संघ संस्थाका व्यक्तित्वहरु र काउन्सिलर गुरुङका आफन्तजन तथा शुभचिन्तक मित्रगणहरुको पनि उपस्थिति रहेको थियो ।कार्यक्रममा काउन्सिलर कमल गरुङको निर्बाचन बारेमा श्रव्य दृष्य प्रस्तुत गर्दै तमु समाज युकेका अध्यक्ष तथा आमा समूहका अध्यक्षले फेटा खादा पछ्यौरि तथा पुष्प गुछ्छा प्रदान गरि काउन्सिलर दम्पतिलाई हार्दिक बधाई ज्ञापन तथा सम्मान गरेका थिए।यसैगरि उपस्थित अन्य सबैले पनि काउन्सिलर दम्पतिलाई खादा लगाई बधाई ज्ञापन गरेका थिए। त्यस पस्चात केक काटि स्यम्पेन खोलेर सबैमा बिजयको खुसि बाँडेका थिए।कार्यक्रममा काउन्सिलर गुरुङको परिवारबाट उपस्थित सबैलाई भोजन र पेय पदार्थको पूर्ण ब्यबस्था गरिएको थियो ।

कार्यक्रममा गायिका तारा श्रृस मगरलाई खादा पछ्यौरी र पुष्प गुछ्छा प्रदानगरि तमु समाज युकेद्वारा सम्मान गरेको थियो भने तारा श्रृस मगरले तमु समाज युकेलाइ माया चिनो प्रादान गरेको छ । कार्यक्रममा तारा श्रृसमगरले मिठा मिठा गीत गाएर सबैलाई नचाएका थिए ।