गोर्खा कप २०२२ तयारी पुरा, यसपाली महिला फुटबल र ठेलो खेल पनि समाबेश
लण्डन । तमु धि यूकेले आयोजना गर्दै आएको बेलायतमा नेपाली समुदयाको सबैभन्दा ठुलो खेलकुद कार्यक्रम: गोरखा कप २०२२ को तयारी पुरा भएको कुरा आयोजक तमु धि यूकेले हिजो पत्रकार सम्मेलन गरी जानकारी गराएको छ । मिचेट स्थित तमु धि यूकेको आफ्नै भवनमा आयोजित पत्राकार सम्मेलनमा २० औ संस्करणको गोर्खा कप अल्डरसट स्थित नियमित स्थान क्विन्स एभेन्यु खेल मैदानमा आगमी हप्ता जुन ४ तारिख २०२२ साल शनिबार आयोजना गरिने छ ।
गोर्खा कप २०२२ का संयोजक तथा तमु धि यूकेक खेलकुद सचिब क्याप्टेन देब घलेको अनुसार सधैंको जस्तो मेन/युवा (१६ – ३९ बर्ष) तर्फ ३२ टिमहरु, भेटरान (४० बर्ष भन्दा माथिको) तर्फ ८ टिमहरु र यस बर्ष महिला तर्फ २ टिम गरी जम्मा ४२ टिमहरुबिच प्रतिस्पर्धा हुने जानकारी गराउनुभयो । यसबर्ष प्रथम पटक लेडिज (महिला) फुटबल पनि समाबेश गरेको छ ।
प्रतियोगितामा वेल्स, कोलचेस्टर, अक्सफोर्ड, योर्क, क्याटरिक र गोर्खा ब्रिगेडका टिमहरुहरुबिच प्रतिस्पर्धा हुनेछन भने नेदरल्याण्डबाट पनि एक फुटबल टिमले प्रतिस्पर्धा गर्नेछन । प्रतियोगितामा युवा/मेन तर्फ प्रथम हुने टिमले २५ सय पाउण्ड, दोश्रो हुने टिमले १५ सय पाउण्ड नगद पुरुस्कार प्राप्त गर्नेछन । त्यस्तै भेटरानतर्फ प्रथम हुने टिमले १५ सय पाउण्ड, दोश्रो हुने टिमले ८ सय पाउन्ड नगद पुरुस्कार प्राप्त गर्नेछन । महिलातर्फ बिजयी टिमलाई ५ सय र रनर अप टिमलाई ३ सय पाउण्ड नगद पुरुस्कार प्राप्त गर्नेछन । बिजयी टिम र खेलाडीहरुलाई सधैंको जस्तो ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछन । त्यस्तै युवा/मेन र भेटरान तर्फ वेष्ट प्लेयर, हाइ स्कोरर र वेष्ट म्यानेजरलाई पनि ट्रफी दिइनेछ ।
तमुधिं यूकेको अध्यक्ष हित काजी गुरुङको अध्यक्षतामा सम्पन्न पत्रकार सम्मेलनमा अध्यक्ष गुरुङले गोर्खा कप मुनाफाको लागि नभई मनोरन्जन, युवालाई कुलतबाट जोगाउन, नेपाली समुदयाबिच सम्बन्धहरु अझ मजबुत र प्रगाढ बनाउन गोर्खाकप आयोजना गरिँदै आएको कुरा जानकारी गराउनुभयो । साथै नेपालीहरुको ब्यापार ब्यवसाय एवं कला संस्कृतिको संरक्षण, संम्बर्ध्दण र प्रबर्ध्दन गर्न गोर्खा कप आयोजना गरिदै आएको कुरा बताउनुभयो । अध्यक्ष गुरुङले यो इभेन्ट पूर्ण रुपमा च्यारिटी (परोपकारी) कार्यक्रम रहेको कुरा अवगत गराउनुभयो ।
गोर्खाकप २०२२ को संयोजक क्याप्टेन देब घलेले बेलायतमा बसोबास गरिरहनुभएका नेपाली युवाहरुबिच फुटबल लगयात अन्य खेलहरुतर्फ युवाहरुको आकर्षण बढोस् र खेलकुदको स्तरोन्नती होस् भन्ने उध्देश्यले गोर्खा कप आयोजना गरिदै आएको कुरा बताउनुभयो । सँगसंगै यस किसिममको प्रतियोगिताहरुबाट नेपाली युवाहरुहरुलाई लागु औषध तथा अन्य कुलतबाट जोगाउन परोक्ष प्रत्यक्ष सहयोग हुने कुरा बताउनुभयो । संयोजक घलेले बिशेषत सुरक्षित वातावरणमा रमाइलो गर्ने, सुःख दुःख आदानप्रदान गर्ने, सचेतना आदनप्रदान, ब्यापार ब्यवसायको प्रबर्ध्दन र नाफा भएमा उक्त नाफा च्यारिटी (परोपकारी) कामको लागि उपयोग गर्न सकिने कुरा बताउनुभयो । गोर्खा कपले प्रतक्ष्य परोक्ष्य रुपमा समाजलाई धेरै फाईदा हुने कुरा जानकार गराउनुभयो ।
संयोजक घलेले प्रतियोगिताको लागि अनुमानित झन्डै ४० हजार पाउण्ड जत्ती खर्च हुन सक्ने कुरा बताउनुभयो । उक्त इभेन्टमा सुरक्षाका लागि पुलिस फोर्ससहित ६० जना सेक्यूरिटी गार्ड मैदानमा तैनाथ रहने कुरा जानकार गराउनुभयो । त्यस्तै घाइते खेलाडी र अन्य दर्शकको आपतकालिन उपचार मध्यनजर गर्दै एम्बुलेन्स र मेडिकल टिम ‘स्टयाण्ड बाइ’ राखिने जनाइएको छ । कार्यक्रमस्थल र अवधिमा अल्कोहल (मदिरा) बिक्री वितरण तथा सेवनमा प्रतिवन्ध लगाइने छ ।
त्यसबाहेक संयोजक घलेले कार्यक्रम; बिशेषत फुटबल खेलहरु बिहान ९ बजेदेखि शुरु हुने जानकारी गराउनुभयो । सधैं जस्तो यसपटक पनि प्यारासुट डिस्प्ले, ठेलो पतियोगिता, तमु परम्परागत पोशाक र अन्य सामग्रीको स्टल, खाना र च्यारिटी स्टल, आर्ट एण्ड क्राफट स्टल आदि गरी ५२ स्टल, सांस्कृतिक प्रस्तुति, गायिका एलिना गुरुङको गायन आदि गोर्खा कपका मुख्य आकर्षण रहने कुरा बताउनुभयो । त्यस्तै टोटेनह्याम महिला फुटबल टिमसँग अबध्द युथ फुटबलर सुश्री अस्मिता आले पनि सहभागी हुनेछिन् । यसपालि गोर्खा कप हेर्न बेलायतभरबाट करिब १० देखि १२ हजार दर्शक सहभागिताको अपेक्षा गरिएको छ ।
महासचिव परशुराम गुरुङले सञ्चालन गरेको कार्यक्रममा वरिष्ठ उपाध्यक्ष हरि गुरुङले स्वागत मन्तव्य दिनुभएको थियो । कार्यक्रममा तमु धि यूकेको मिडिया सेक्रेटरी सबिन्द्रकुमार गुरुङले उपस्थित पत्रकारहरुलाई परिचय गराएका थिए भने उपस्थित सञ्चारकर्मीहरुलाई खादाले सम्मान गरेका थिए । कार्यक्रममा तमुधिं यूके संस्थापक अध्यक्ष मीनपसाद गुरुङ, पूर्व अध्यक्षहरु रामचन्द सूर्जे गुरुङ, ज्ञाम गुरुङ, निवर्तमान अध्यक्ष नन्दजंग गुरुङ, ट्रस्टी, सल्लाहकार र पदाधिकारीहरु, आमा समूह अध्यक्ष सीता गुरुङ लगायतको पनि सहभागिता थियो ।
पत्रकार सम्मेलन मार्फत तमुधिं यूकेका अध्यक्ष हित काजी गुरुङले बेलायतवासी सम्पूर्ण नेपालीलाई कार्यक्रममा सहभागी भइ मनोरञ्जन लिन आग्रह गर्नुभएको छ । अध्यक्ष गुरुङले मिडियाकर्मीलाई पनि आफनो तर्फबाट सक्दो सहयोग गरिदिन पनि अनुरोध गर्नुभयो । सोही पत्रकार सम्मेलनमा गायिका एलिना गुरुङ र मार्सल आर्ट्स खेलाडी भूपेन्द गुरुङलाई सम्मान गरेको थियो ।
खबर यूकेको संस्थापक सदस्य ईन्द्र घोथानेले पुरुस्कार राशी वृद्धि गर्ने सम्बन्धमा राखेको जिज्ञासामा आयोजकले इन्ट्री फी (दर्ता शुल्क) पनि नबढाएको र कार्यक्रम उत्तिक्कै खर्चिलो हुने भएकोले पुरुस्कार राशी बढाउन नसकिने कुरा जानकारी गराउनुभयो ।