स्थानीय तह निर्वाचन आज : ३५ हजार पदका लागि १ लाख ४५ हजार उमेदवार चुनावी मैदानमा
काठमाडौं । स्थानीय तह निर्वाचन आज मतदान हुँदैछ । निर्वाचन आयोगले मतदानका लागि बिहान ७ बजेदेखि साँझ ५ बजेसम्मको समय निर्धारण गरेको छ ।
निर्वाचनबाट ६ महानगरपालिका, ११ उपमहानगरपालिका, २७६ नगरपालिका तथा ४६० वटा गाउँपालिका र ६ हजार ७४३ वडामा गरी ३५ हजार २२१ जनप्रतिनिधि चुनिनेछन् । जसका लागि १ लाख ४५ हजार ११ उमेदवार चुनावी मैदानमा छन् । जसमध्ये ३५५ जना पदाधिकारी निर्विरोध निर्वाचित भएका छन् । जसमा ६ वडा अध्यक्षसहित ३५ जना स्वतन्त्र सदस्यहरु समेत निर्विरोध निर्वाचित भएका छन् ।
त्यस्तै विभिन्न स्थानीय तहका ९ स्थानमा भने उमेदवारको मृत्यु भएकाले मतदान रोकिएको छ । त्यहाँ पुनः निर्वाचन प्रक्रिया सुरु भएको छ । जसअनुसार निर्वाचनमा देशभर एक करोड ७७ लाख ३३ हजार ७२३ मतदाता छन् । जसमा ८७ लाख ४१ हजार ५३० महिला मतदाता छन् । ८९ लाख ९२ हजार १० पुरुष र १८३ जना अन्य मतदाता छन् ।
मतदानका लागि देशभर १० हजार ७५६ मतदानस्थल र २१ हजार ९५५ वटा मतदान केन्द्र तोकिएको छ ।
शुक्रबार स्थानीय तह निर्वाचनका दिन भारी वर्षा र निरन्तर वर्षा नहुने मौसम विज्ञान विभाग पूर्व अनुमान महाशाखाले प्रक्षेपण गरेको छ। विभागले शुक्रबार भारी वर्षा र निरन्तर वर्षा नहुने प्रक्षेपण गरेको हो ।
यस्तो छ शुक्रबारको मौसम
पश्चिमी वायुमा स्थानीय वायु मिसिँदा मौसम सक्रिय भएकाले हल्कादेखि मध्यम खालको वर्षा हुने सम्भावना रहेको मौसम विद् बरुण पौडेलले बताए । उनका अनुसार पानी परेपनि तत्काल रोकिने र एउटै जिल्लामा पनि मौसम फरक फरक रहने छ । उनले खण्ड खण्डमा पानी पर्ने भएकाले वर्षाले धेरै ठूलो असर नपर्ने बताए । तर सामान्य वर्षा हुँदा मतदाताले होसियारी अपनाउन नसक्दा मतपत्र भिज्न सक्ने भएकाले होसियारी अपनाएर मतदान गर्न पौडेलले आग्रह गरे । पश्चिमी वायुसँग स्थानीय वायु समेत मिश्रित भइ मौसम सक्रिय भएकाले पहाडी क्षेत्रमा बढी वर्षा हुन सक्ने उनले जानकारी दिए ।
शुक्रबार दिउँसो प्रदेश एक, मधेस प्रदेश,बाग्मती र गण्डकी प्रदेशमा हल्कादेखि मध्यम वर्षा हुने पौडेलले बताए । यस्तै शुक्रबार बेलुका पनि सोही क्षेत्रमा दिउँसोकै जस्तो मौसम रहने भएको छ ।
दिउँसो : प्रदेश नं १, मधेश प्रदेश र बागमती प्रदेशमा सामान्य बदली रही अन्य प्रदेशमा आंशिकदेखि सामान्य बदली रहनेछ। प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरुमा मेघ गर्जन र चटयाङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। अन्य प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चटयाङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
राती : प्रदेश नं १ मा सामान्य बदली र देशका अन्य प्रदेशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रहने छ । प्रदेश नं १ का केही स्थानहरूमा साथै बागमती र गण्डकी प्रदेशका एक/दुई स्थानहरूमा मेघ गर्जन र चटयाङ्गसहित हल्का देखि मध्यम वर्षाको संभावना रहेको छ ।