स्थानीय तह निर्वाचनको सम्पूर्ण तयारी पूरा, मताधिकार प्रयोग गर्न प्रधानमन्त्रीद्वारा अपिल

प्रेस काउन्सिल नेपालले निर्वाचनको मौन अवधिको दोस्रो दिन २० सञ्चार माध्यमलाई कारबाही गरेको छ । कारबाहीमा परेकामध्ये ११ वटा सञ्चार माध्यमले तत्काल क्षमायाचना गरी सम्प्रेषित सामग्री हटाएका छन् । एउटा सञ्चार माध्यमले प्रतिक्रिया पेस गरेको छ । ८ वटा सञ्चार माध्यमबाट कुनै प्रतिक्रिया प्राप्त भइनसकेको प्रेस काउन्सिल नेपालका उपप्रशासकीय अधिकृत एवं सूचना अधिकारी रामशरण बोहराले जानकारी दिए ।

प्रेस काउन्सिलले निर्वाचन आचारसंहिता लागु भएदेखि सञ्चार माध्यममा सम्प्रेषित सामग्री र पत्रकारका सामाजिक सञ्जालमा सम्प्रेषित सामग्री अनुगमन गरिरहेको छ । बिहिबार ४ जना पत्रकारलाई सामाजिक सञ्जालमा पोष्ट भएका सामग्रीका विषयमा ध्यानाकर्षण गराएकोमा सबैले तत्काल आचार संहिताविपरीत सम्प्रेषित सामग्री हटाएका छन् । काउन्सिलको अनुगमनका क्रममा ध्यानाकर्षण गराएको र सचेत गराएका विषय तत्काल भुल सुधार गर्ने सञ्चार माध्यम र पत्रकारलाई धन्यवाद भन्दै उपप्रशासकीय अधिकृत बोहराले जिम्मेवार सञ्चार माध्यम र पत्रकारको दायित्व आचारसंहिता पालना गर्ने नै रहेको बताए । उनले शुक्रबार निर्वाचनका समयमा रिपोर्टिङमा खटिने सञ्चार माध्यम र पत्रकारलाई निर्वाचन आचारसंहिताको विशेष ख्याल गरी समाचार सामग्री सम्प्रेषण गर्न/गराउन अनुरोध गरेका छन् ।

काउन्सिलले हिजो पहिलो दिन २७ सञ्चार माध्यमलाई कारबाही गरेको थियो । योसँगै ४७ सञ्चार माध्यमलाई मौन अवधिमा निर्वाचन आचारसंहिता उल्लङ्घन गरेकोमा कारबाही भएको छ । बिहिबार १२ वटा अनलाइन, ७ वटा पत्रिका र एउटा टीभीलाई कारबाही भएको हो ।

बिहिबार कारबाही भएकामध्ये २ वटा सञ्चार माध्यमलाई उम्मेदवारले गरेको उजुरीका आधारमा र ३ वटा सञ्चार माध्यमलाई आयोगमा परेको उजुरी काउन्सिलमा प्राप्त भएको आधारमा कारबाही गरिएको हो । यसैबीच बिहिबार ६ वटा दर्ता नभएका वेबपोर्टललाई नेपालभित्र सम्प्रेषण हुन नसक्ने व्यवस्था गरी कारबाही गरिएको काउन्सिलले जनाएको छ ।

प्रधानमन्त्री देउवाद्वारा मताधिकार प्रयोग गर्न अपिल

त्यस्तै भोलि हुन गइरहेको स्थानीय तहको निर्वाचनमा निर्धक्कसँग मतदान गर्न देउवाले अपिल गरेका छन् । प्रधानमन्त्री देउवाले निर्धक्कसँग मत दिएर आफ्नो मताधिकार प्रयोग गर्न सम्पूर्ण देशवासीलाई हार्दिक अपिल गरेका हुन् ।

बिहीबार एक अपिल जारी गर्दै प्रधानमन्त्री देउवाले निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सरकारले सम्पूर्ण व्यवस्थापनलाई चुस्तदुरुस्त बनाएको उल्लेख गरेका छन् । मताधिकार तपाईं हाम्रो संवैधानिक अधिकार र लोकतन्त्रको आधारस्तम्भ होु प्रधानमन्त्री देउवाले भनेका छन्, स्थानीय तहदेखि नै लोकतान्त्रिक अभ्यासमा सहभागी भई लोकतान्त्रिक शासन पद्धतिको संस्थागत विकासमा योगदान पुर्‍याउन म सबैमा आग्रह गर्दछु ।

देशभर भोलि स्थानीय तह निर्वाचन हुँदैछ । निर्वाचन आयोगले निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निर्धक्क भएर मतदान गर्न मतदातालाई प्रमुख निर्वाचन आयुक्तको आह्वान

काठमाडौँ – प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्धक्क भएर मतदान गर्न मतदाताहरूलाई आह्वान गरेका छन् । कसैको प्रलोभन वा प्रभावमा नपरी आफूलाई मन परेको उम्मेदवारको निर्वाचन चिह्नमा स्वस्तिक छाप लगाउन उनले आह्वान गरेका हुन् ।

आफूले प्रदान गरेको अमूल्य मत बदर नहुने गरी निर्धक्क तरिकाले मतदान गर्न उनको आग्रह छ । प्रतिनिधिमूलक शासन व्यवस्थाको आधारशिला र लोकतन्त्रको सार्थक अभ्यास गर्ने माध्यम निर्वाचन भएको भन्दै प्रमुख आयुक्त थपलियाले पद, पैसा र पहुँचबाट निर्देशित नहुन र आश्वासनमा नपर्न पनि आह्वान गरेका छन् ।

मतदान सकिनासाथ सुरक्षित तरिकाले मतपेटिका ढुवानी र लगत्तै गणनाको व्यवस्था मिलाइएको आयोगले जनाएको छ । मतदानको अघिल्लो दिनसम्म १८ वर्ष उमेर पूरा भएका नागरिकलाई मतदानको व्यवस्था गरिएको पहिलो अवसर भएको थपलियाले बताए ।