काठमाडौं उपत्यका छोड्नेको लर्काे, मतदाता ओसार्दै राजनीतिक दलका नेताहरु
गाउँ घरतिर बढ्यो चहलपहल
काठमाडौ । स्थानीय तहको निर्वाचनका लागि भोट हाल्न काठमाडौंबाट गाउँ फर्किनेहरुको चाप उपत्यकाका बस पार्कहरुमा बढेको छ ।
बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन आउँन अब दुई दिन मात्रै बाँकी छ । निर्वाचनको दिन सरकारले सार्वजनिक यातायातका साथै हवाइ सेवा पनि बन्द गर्ने निर्णय गरेको छ । जसले गर्दा बसपार्कमा मात्रै नभई त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलको आन्तरिक उडानमा पनि यात्रुहरुको चाप बढेको छ ।
बिभिन्न जिल्लाबाट कामको सिलसिलामा काठमाडौं आएर बसेकाहरुको मतदाता नामावली आफ्नो स्थानीय तहमा भएका कारण भोट हाल्न उनीहरु गाउँ फर्किन लागेका हुन् । त्यस्तै कतिपय स्थायी रुपमै काठमाडौं उपत्यकामानै बसोबास गर्ने भएता पनि उनीहरुको मतदाता नामावली गाउँमै रहेका कारण मत खसाल्न उपत्यका छोड्न लागेका हुन् । सरकारले स्थानीय तहको निर्वाचनका दिन सार्वजनिक बिदा दिएको छ भने त्यसपछिका तीन दिन निरन्तर बिदा परेका छन् । निर्वाचनको भोलीपल्ट शनिबार परेको छ । त्यस्तै जेठ १ गते आइतबार परेको छ भने जेठ २ गते बुद्ध जयन्ती परेको छ । सरकारले जेठ १ गतेबाट लागू हुनेगरी हप्तामा २ दिन शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय गरिसकेको छ । त्यसकारण निर्वाचनको दिनलाई समेत जोड्दा ४ दिन सार्वजनिक बिदा परेको छ । ४ दिन बिदा परेकाले पनि उपत्यका छोड्नेहरुको संख्या बढेको हो ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले बुधबार बेलुकासम्म १० देखि ११ लाख मानिसले काठमाडौं उपत्यका छोड्ने अनुमान महासंले गरेको इमेजखबरसँग बताउनुभयो ।उहाँले सामान्य दिनको तुलनामा बसपार्कहरुमा घर फर्किने यात्रुको चाप धेरै बढेको बताउनुभयो ।काठमाडौंको कलंकी,कोटेश्वर,बालाजु,माछा पोखरी, बल्खु लगायतका स्थानमा यात्रुहरुको चाप बढी छ । उम्मेदवारहरुले मौन अवधि शूरु हुनु अघिसम्म चुनाव प्रचार प्रसारको सिलसिलामा बिभिन्न जिल्लामा सुमो जीपहरुको प्रयोग गरेकाले त्यस्ता सवारी साधनमा यात्रा गर्ने यात्रुहरुले सुमोको टिकट पाउन नसकेको गुनासो गरेका छन् । चुनाव प्रचार प्रसारमा लगिएका सुमो जीप सबै उपत्यकता भित्रि नसेका व्यवसायीको भनाई छ ।
कतिपय राजनीतिक दल र तिनका उम्मेदवारले मतदातालाई बस रिजर्भ गरेर नै लिन पठाएका कारण पनि उपत्यका छाड्नेको चाप बढेको सिटौलाको भनाई छ । सरकारले निर्वाचनका लागि बुधबारबाट बिद्यालय समेत बन्द गरेको छ । सधैंभरी मानिस र सवारी साधनको चाप देखिने काठमाडौं उपत्यकामा बुधबार भीडभाड देखिएको छैन । काठमाडौं उपत्यकाबाट बाहिरिनेको लर्काेसँगै गाउँ घर तिर चहलपहल बढेको छ ।