चुनावी सभा सम्बोधन गर्न ओली मोरङमा, काठमाण्डौमा अन्तिम चुनावी सभा

झापा – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अकस्मात झापा आएका छन् । सोमबार साँझ उनी झापा आएका हुन् । चुनाव प्रचारको अन्तिम दिन ओलीले मोरङ, झापा र काठमाडौंका ६ वटा आमसभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको ओलीको सचिवालयले जनाएको छ ।

सोमबार साँझ गृहनगर दमकमा आएका ओलीले आज बिहान ८ बजे मोरङको मिक्लाजुङ गाउँपालिकामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम छ । त्यसपछि झापाको गौरीगञ्ज, दमक, कमल र गौरादह नगरपालिकामा आयोजना हुने कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम रहेको सचिवालयले जानकारी दिएको छ ।

ओली आजै काठमाण्डाैँ फर्केर त्यहाँ आयोजित अर्को कार्यक्रमलाई सम्बोधन गर्ने तालिका रहेको बताइएको छ ।

त्यस्तै नेकपा एमालेले आज काठमाडौँमा चुनावी सभा गर्ने भएको छ । भृकुटीमण्डपमा आज चुनावी सभा गर्न लागेको हो । सभामा एमाले अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने काठमाडौँ जिल्ला कमिटी सचिव राजेश शाक्यले जानकारी दिए । ‘नेकपा (एमाले)ले आज गर्ने सभा स्थानीय तह निर्वाचन केन्द्रित अन्तिम सभा हो,’ शाक्यले भने, ‘देशभरी नै सन्देश दिने उदेश्यले काठमाडौँमा अन्तिम चुनावी सभा गर्न लागेका हौँ ।’

आजको सभामा काठमाडौँ महानगरपालिकासहित काठमाडौँ जिल्लाका ११ वटै पालिकाका एमाले तर्फका उम्मेदवार आ–आफ्नो पालिकाको जुलुस र झाँकीसहित दिउँसो २ बजे भृकुटी मण्डपमा भेला हुने पनि शाक्यले जानकारी दिए । स्थानीय तह निर्वाचनअन्तर्गत आज प्रचार–प्रसार गर्ने आज अन्तिम दिन हो । आज रातिदेखि मौन अवधि सुरु हुँदैछ ।