चुनावी दौडाहामा ओली अगाडि (फोटो फिचर)
गठबन्धनलाई भारी बन्दै ओली
काठमाडौं : स्थानीय निर्वाचनमा सबैभन्दा बढी चलायमान नेताका रूपमा देखिएका छन्, एमाले अध्यक्ष केपी शर्मा ओली । तुलनात्मक रूपमा शिर्ष नेता मध्ये बढी व्यस्त भेटिन्छन् उनी। दुई पटक मिर्गौला फेरे पनि निर्वाचनमा सक्रियता घटेको छैन ।
पाँच दलीय सत्तारुढ गठबन्धन तालमेल गर्न छलफलमा लाग्दा नै उनी जिल्ला–जिल्ला पुगेर पार्टी प्रवेश कार्यक्रममा सहभागी भइरहे। मधेस प्रदेशबाट मात्रै दुई दर्जन बढी स्थानीय तहका प्रमुख र उपप्रमुख एमालेमा प्रवेश गराए ।
यता सत्तारुढ गठबन्धन लामो समय तालमेलकै सकसमा रुमलियो । तर, ओलीले जिल्ला–जिल्लामा निर्वाचनको माहोल तताउने काम गरे । हुम्लादेखि रौतहटसम्म, सोलुखुम्बुदेखि जुम्लासम्ममा ओली आमसभामा सहभागी भए । निर्वाचनमा माहोल बनाउने काम नै ओलीले गरेको विश्लेषकहरू बताउँछन् । उनले एकैदिन चारवटा आमसभा समेत भ्याए ।
सोमबार मात्रै ओलीले तीनवटा आमसभा भ्याएका छन् । पोखरा महानगर पुगेर आमसभामा भाषण गरे। त्यहाँ कांग्रेसलाई धम्की सुन्ने पार्टी भएको आरोप लगाए । त्यसपछि ललितपुर र कीर्तिपुरको आमसभालाई सम्बोधन गरे। ललितपुरको जाउलाखेलमा भएको सभामा आइतबार केन्द्रीय मुख्यालयबाट आम मतदाताका अपिल सार्वजनिक गरे । केही समयमा नै भरतपुर पुगेर सत्तारुढ गठबन्धनको आलोचना गरे र बुटवलको आमसभामा सम्बोधन गरे। शनिबार प्रदेश १ को एक मात्र महानगर विराटनगरमा सम्बोधन गरे । सुनसरीका दुई उपमहानगरपालिका इटहरी र धरान पुगेर भाषण गर्न भ्याए । उनी भाषण पनि कम्तिमा १ घण्टा गर्छन्। शुक्रबार माधवकुमार नेपालको गृहजिल्ला पुगे । नेपालकै कारण रौटहटको विकास हुन नसकेको आरोप पनि लगाए। बिहीबार ओली धनगढी लगायत कैलालीका दुई ठाउँ पुगे। कञ्चनपुरको बैलोरीमा गएर भाषण गरे। दिनहुँजसो जिल्ला–जिल्ला पुगेर आम सहभागी हुँदै आएका छन् ।
सर्लाही पुगेर पार्टी प्रवेश कार्यक्रममा सहभागी भए। सोलुखुम्बु, हुम्ला, बाँके, बर्दिया, जुम्ला, कालिकोट, पोखरा, वीरगन्ज र झापाका विभिन्न सभामा उनले सक्रिय सहभागिता मात्रै जनाएनन्, घन्टौं भाषण पनि गरे । त्यतिमात्रै होइन जनवर्गीय संगठनका कार्यक्रममा पनि ओली आफैं पुग्ने गरेका छन् ।
उनको व्यस्तता खटाइ देखेर स्वयम् एमालेका युवा नेता पनि छक्क पर्छन् । निर्वाचनको परिणाम के आउँला, त्यो भविष्यले निर्धारण गर्ला । तर, ओलीले पाँच दलीय गठबन्धनलाई हायलकायल र आँच्छुआँच्छु नै पारेका छन् । ओलीका प्रेस संयोजक रामशरण बजगाईंका अनुसार उनी देश दौडाहाबाट आएर राति २ बजेसम्म छलफल, बैठकमा खटिने गरेका छन् ।