१३ औं सागको स्वर्ण पदक विजेता सञ्जु चौधरी मृत फेला

काठमाडौं : १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा स्वर्ण पदक विजेता भारोत्तोलन खेलाडी सञ्जु चौधरी मृत भेटिएकी छन् । नेपाल भारोत्तोलन संघका अध्यक्ष रामकृष्ण श्रेष्ठले ललितपुरको लुभुस्थित संजय महर्जनको घरमा खेलाडी सञ्जु मृत भेटिएको अन्नपूर्णलाई जानकारी गराए ।

प्रशिक्षक महर्जनको घरमा आयोजित रात्री भोजमा सामेल भएकी उनी बिहान मृत भेटिएकी हुन् । प्रहरीले घटनाको अनुसन्धान गरिरहेको जनाएको छ। एसियाली खेलकुदको तयारीका लागि केहि दिन अगाडि मात्र उनी आएकी थिइन् ।

१३ औं दक्षिण एशियाली खेलकुद (साग) अन्तर्गत भारोत्तोलन प्रतियोगितामा नेपालकी सञ्जु चौधरीले स्वर्ण पदक जित्दै इतिहास रचेकी हुन्। महिला ५९ केजी तौल समूहमा सञ्जुले श्रीलंकाका खेलाडीलाई पछि पार्दै स्वर्ण इतिस रचेकी थिइन् ।

पोखरा माटेपानीस्थित एसआर केसी बैंक्युटमा भएको प्रतियोगितामा सञ्जुले स्न्याचमा ७४ र क्लीन एण्ड जर्कमा ९७ सहित १७१ केजी भार बहन गर्दै राष्ट्रिय कीर्तिमान (स्न्याच, क्लीन एण्ड जर्क तथा टोललतर्फ) का साथ साग भारोत्तोलनमा महिलातर्फ पहिलो स्वर्ण जित्न सफल भएकी हुन् ।