ओलीले झुटमाथि झुट र कान्डै कान्ड : प्रबक्ता नेपाली कांग्रेस
काठमाण्डौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आइतबार मतदातालाई अपिल गर्न भन्दै पत्रकार सम्मेलन गरी दिएका अभिव्यक्तिमाथि नेपाली कांग्रेसले आपत्ति जनाउँदै खण्डन गरेको छ । आज सानेपामा पत्रकार सम्मेलन गरी कांग्रेस प्रवक्ता प्रकाशशरण महतले एमाले अध्यक्ष ओलीले कांग्रेसमाथि झुटा आरोप लगाएको बताए ।
‘हामीलाई नीति नभएको पार्टी रे। कांग्रेसकै नीतिको ब्याज र साँवासमेत खाने पार्टी एमाले हो,’ उनले भने, ‘ओलीजीले झुटो आरोपका पुलिन्दा लगाउनुभएको छ। झुटमाथि झुट।’ उनले एमालेसँग कांग्रेसको विरोध गर्ने कुनै आधार नरहेको पनि दाबी गरेका छन्। एमाले अध्यक्ष ओलीले आइतबार पार्टी कार्यालय च्यासलमा पत्रकार सम्मेलन गरी कांग्रेस उल्टो बाटो हिँडेको आरोप लगाएका थिए।
एमालेले नभएका कुरालाई पनि भएजस्तो गरी प्रचार गरेको आरोप कांग्रेसको छ । ‘हामी एमालेजस्तो प्रचार गर्दैनौं। हामी यथार्थ धरातलमा राजनीति गर्छौं, झुटो राजनीति गर्दैनौं,’ महतले भने, ‘यही फरक एमाले र ओलीजी र हामीमा छ ।’ एमाले समावेशीताको विरोधी भएको पनि कांग्रेसको आरोप छ ।
ओलीको व्यवहार र दृष्टिकोण स्थानीय तह कमजोर पार्ने खालको भएको महतले आरोप लगाएका थिए । ‘ओलीका पालामा संसद विघटनलगायत काण्ड नै काण्ड भएका थिए,’ उनले भने, ‘गुठी विधेयक काण्डसमेत त्यही बेला भएको थियो। जनताले निर्माण गरेको संरचना भत्काउने काम ओलीजीको सरकारले गर्यो ।’
ओलीले प्रधानमन्त्री हुँदा संविधान र कानूनको धज्जी उडाएको पनि उनले बताए। ओली प्रधानमन्त्री हुँदा कांग्रेसले जिम्मेवार प्रतिपक्षीको भूमिका खेलेको दाबी महतको थियो । ओलीले एमसिसीसमेत पारित गर्न नसकेको आरोप कांग्रेसको छ । ‘एमसिसी संसदबाट कसले पास गर्यो? कांग्रेसले गरेन?,’ उनले भने, ‘सडक र विद्युत प्रशारण लाइन बनाउन एमसिसी आएको कुरा जनताले बुझिसके।’
ओलीले घरघरै ग्यास पाइपलाइन जोड्ने जस्ता कुरा मात्रै गरेको आरोप कांग्रेसको छ। ‘कल्पनामा त चन्द्रमामा पुगिन्छ । तर साँच्चिकै चन्द्रमा पुग्न त मेहनत गर्नुपर्छ,’ उनले भने, ‘परराष्ट्र नीति पनि कहिले यता कहिले उता फर्केजस्तो! कसैले विश्वास नै गर्न नसक्ने अवस्थामा उहाँले पुर्याउनुभएको थियो ।’ उनले प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमणमा जाँदा सीमा समस्या समाधान गर्न आग्रह गरेको पनि बताए ।
‘एमाले र कांग्रेस करिब करिब उस्तै अवधि सत्तामा रहेछौं तर उहाँले गलत तथ्यांक दिनुभयो,’ उनले भने, ‘पूर्वाधार सारा हामी गरेको भनेर उहाँ दाबी गर्नुहुन्छ तर त्यो त कांग्रेसले सुरूवात गरेको हो। उहाँ त नारा दिन सिपालु।’ उनले कांग्रेसकै नेतृत्वमा वृद्धभत्ता पनि पाँच सयबाट मासिक हजार पुर्याइएको दाबी गरेका थिए। ओली प्रधानमन्त्री हुँदा वैदेशिक ऋण धेरै लिएको पनि कांग्रेसको आरोप छ ।
‘ओलीजीको पालामा देश ऋणमय भयो,’ उनले भने, ‘ऋण लिएर घ्यू खानेजस्तो भयो। जनताले घ्यू खान पाएनन् सीमित व्यक्तिले घ्यू खाए। ओलीजी प्रधानमन्त्री भइराख्या भए विदेशी ऋणमाथि ऋण लिने काम हुन्थ्यो। श्रीलंकाको बाटोमा जान्थ्यो। हामीले ऋण नलिने र लिए पनि कम ब्याजदरको लिने भनेको छ ।’
ओलीको पालामा काण्डै-काण्ड : कांग्रेस
त्यस्तै नेपाली कांग्रेसले एमाले नेतृत्वको सरकारको पालमा काण्डै-काण्ड भएको बताएको छ । कांग्रेसले सोमबार पत्रकार सम्मेलनमार्फत् केपी शर्मा ओली नेतृत्वको सरकारले जनतालाई सेवा दिने भन्दा पनि काण्डै काण्ड मच्चाएको आरोप लगाएको हो । कांग्रेस प्रवक्ता डा.प्रकाशशरण महतले ओलीको पालामा काण्डैकाण्ड भएको आरोप लगाएका। उनले भने, ‘ओलीको पालामा काण्डै काण्ड भए । संसद विघटन काण्ड, ओम्नी काण्ड उहाँको पालामा । ३३ किलो सुन काण्ड, सिण्डीकेट काण्ड, गुठी विधेयक काण्ड, बुढी गण्डकी काण्ड, रेलवे काण्ड ।’
प्रवक्ता महतले कांग्रेसले झुटो राजनीति नगर्ने बताए । महतले भने, ‘ओली प्रचार गर्न सिपालु छन् । हुँदै नभएका कुरा भएजस्तो, आफूले गरेजस्तो गर्छन् । हामीले झुटो राजनीति गर्दैनौं । यहि फरक छ कांग्रेस र एमालेमा ।’
नेता महतले ओलीले झुटोमाथि झुटो बोलेको बताए ।
‘स्थानीय नीकायलाई कमजोर गर्ने उहाँ(ओली जी)को व्यवहार रहँदै आएको छ । ओली झुटमाथि झुट बोल्छन्। कांग्रेसको नीति र कार्यक्रम छैन भने ओलीले । कसले ५२ प्रतिशत रहेको गरिबी १७ प्रतिशतमा झारेको ?,’उनले भने ।