एमालेलाई प्रतिवाद गर्न नेपाली काङग्रेसले पत्रकार सम्मेलन गर्दै
सत्तारुढ नेपाली कांग्रेसले प्रमुख प्रतिपक्षी नेकपा एमालेले आफूविरुद्ध लगाएका आरोपको प्रतिवाद गर्ने भएको छ । एमालेले मतदाताका लागि जारी गरेको ६७ बुँदे अपिलमा आरोपै आरोप लगाएपछि कांग्रेसले पत्रकार सम्मेलन गरेर प्रतिवाद गर्न लागेको हो ।
कांग्रेसले मंगलबार बिहान ११ बजे केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन आयोजना गरेको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतको सचिवालयले पत्रकार सम्मेलन एमालेले मतदाताका लागि जारी गरेको अपिलमा केन्द्रित हुने जनाएको छ । एमालेले ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा सोमबार पत्रकार सम्मेलन गरेर ६७ बुँदे अपिल जारी गरेको थियो ।
वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि ६७ बुँदे अपिलमार्फत एमालेले कांग्रेसविरुद्ध दर्जनौं आरोप लगाएर मतदाता रिझाउने प्रयास गरेको छ । स्थानीय तह, प्रदेश र संघबीच उचित समन्वय र सहकार्य गर्दै संविधानको प्रभावकारी कार्यान्वयन गरिरहेका बेला कांग्रेसको षड्यन्त्र चरम उत्कर्षमा पुगेको आरोप लगाउँदै एमालेले आक्रोश पोखेको छ ।
कांग्रेसले सुशासन र विकासको मार्गमा तीव्र गतिमा अघि बढिरहेको देशलाई राष्ट्रियता, लोकतन्त्र र जनताप्रतिको कर्तव्यबोधका कमजोर रहेका तत्वहरूलाई खोजेर राजनीति र देश हितविपरीत बाटो समातेको एमालेको आरेप छ । कांग्रेसले राजनीतिक दलको आधारभूत मर्ममै प्रहार गरेर संसदीय मूल्य र मान्यतालाई नै कुल्चिएको आरोप एमालेले लगाएको छ ।
चुनावी सभा सम्बोधन गर्न देउवा र प्रचण्ड धनगढीमा
धनगढी – प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सत्ता गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्न धनगढी पुगेका छन् । देउवा आइतबार साँझ नेपाली सेनाको हेलिकोप्टरमार्फत धनगढीस्थित बोराडाँडी आर्मी ब्यारेकमा ओर्लिएका थिए भने प्रचण्ड आज बिहान पुगेका हुन् । देउवा आइतबार राति धनगढीस्थित आफ्नै निवासमा बसेका थिए ।
धनगढीमा बिहान ११ बजे आमसभा हुने कांग्रेस कैलालीका सचिव नृप सुनारले जानकारी दिए। यो सभालाई देउवा, प्रचण्डसहितले सम्बोधन गर्ने छन् । यस्तै, देउवा आजै गृहजिल्ला डडेल्धुरा जाने छन् । प्रचण्डले धनगढीबाहेक कैलारीको हसुलियामा माओवादीको कैलारी गाउँ कमिटीले आयोजना गर्ने चुनावी सभालाई सम्बोधन गर्नेछन् । उनी कञ्चनपुरको बेलौरी र बैतडी पनि जाने कार्यक्रम छ। गठबन्धनले आइतबार मात्र दाङमा सभा गरेको थियो ।
धनगढीमा गठबन्धनबाट कांग्रेस नेता नृपबहादुर वड मेयरमा प्रतिस्पर्धा गरिरहेका छन् । त्यस्तै, एमालेबाट रणबहादुर चन्द र स्वतन्त्र उम्मेदवार गोपाल हमालसहित चुनावी मैदानमा छन् । धनगढी प्रधानमन्त्री देउवा पत्नी आरजु राणाको चुनावी क्षेत्र पनि हो । २०७४ को प्रतिनिधिसभा चुनावमा आरजु एमाले नेता नारदमुनी रानासँग पराजित भएकी थिइन् ।