दार्चुलाको बिकट स्थानहरु- छाङरु र तिङ्करमा हेलिकप्टरमार्फत निर्वाचन सामग्री र कर्मचारी पठाइयो

दार्चुला । अतिक्रमित भूमि कालापानी नजिकको दार्चुलाको उत्तरी क्षेत्र व्यासमा हेलिकप्टरमार्फत निर्वाचन सामग्री ढुवाँनी गरिएको छ । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि व्यास गाउँपालिका–१ मा रहेका छाङरु र तिङ्करको मतदान केन्द्रमा नेपाली सेनाको हेलिकप्टरले निर्वाचन सामग्री ढुवानी गरेको हो ।

नेपाली भूमीबाट सो क्षेत्र जान बाटो नभएका कारण हेलिकप्टरमार्फत निर्वाचन सामग्रीका साथै कर्मचारी र सुरक्षाकर्मीहरु लगिएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले जानकारी दिनुभयो । सोमवार बिहान नेपाली सेनाको हेलिकप्टरमार्फत छाङरु र तिङ्करको मतदान केन्द्रका लागि मतपत्र, मतदाता परिचयपत्रलगायत सबैखाले निर्वाचन सामग्रीका साथै कर्मचारी र सुरक्षाकर्मीहरुलाई पठाइएको उहाँले बताउनुभयो । छाङरुको कैलाशपति आवि केन्द्रमा ३७५ र तिङ्करको आवि मोति महिला संघ केन्द्रमा २३१ मतदाता रहेका छन् । व्यासबासी वैशाख तेस्रो साता सदरमुकामबाट व्यास उक्लिएका छन् ।

तीन घेरामा सुरक्षाकर्मी परिचालन

दार्चुलामा आसन्न स्थानीय तह निर्वाचनलाई लक्षित गरेर निर्वाचन सुरक्षा रणनीति तयार पारिएको छ । जिल्लास्थित सुरक्षा निकायको समन्वयमा दार्चुलाका ११० मतदानस्थल र १३९ मतदान केन्द्रलाई लक्षित गरी मतदानअघि, मतदान र मतगणनासम्मको अवस्थालाई ध्यानमा राखेर सुरक्षा रणनीति तयार गरी कार्यान्वयनमा ल्याइएको छ ।

निर्वाचनमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभाग, म्यादी प्रहरी र नेपाली सेनासमेत परिचालन गर्ने गरी प्रभावकारी सुरक्षा योजना अनुसार परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी दिर्घराज उपाध्यायले जानकारी दिनुभयो । नेपाली सेना र सशस्त्र प्रहरी पालिकाहरुमा पुगिसकेका छन् भने नेपाल प्रहरी र म्यादी प्रहरी मतदान अधिकृतसँग मतदान केन्द्रहरुमा पुग्ने तयारी रहेको प्रजिअ उपाध्यायले बताउनुभयो । मतदान अधिकृतहरु निर्वाचन सामाग्री बुझेर कार्यक्षेत्रमा खटिन थालेका छन् ।

निर्वाचन अवधिभर जिल्लाभरी झण्डै दुई हजार भन्दा बढि सुरक्षाकर्मी परिचालन हुनेछन् । यही वैशाख २५ देखि २८ गतेभित्रमा सम्पूर्ण मतदानस्थलमा सुरक्षाकर्मी खटिइसक्ने छन् । भौगोलिक अवस्था, सञ्चार र यातायात सुविधा, विगतका चुनावमा भएका घटनाका आधारमा मतदानस्थललाई वर्गीकरण गरिएको छ । ११० मतदान स्थल र १३९ मतदान केन्द्रमध्ये निर्वाचनमा सुरक्षा दृष्टिले ११ वटा मतदान स्थललाई अति संवेदनशील, ११ वटा मतदान स्थललाई संवेदनशील र ८८ वटा मतदानस्थललाई सामान्यमा बर्गिकरण गरिएको छ ।

निर्वाचनलाई स्वच्छ, शान्तिपूर्ण र भयरहित रुपमा सम्पन्न गराउन सुरक्षाकर्मीलाई निर्देशित गरिएको छ । दार्चुला जिल्ला भरिको मतदाता संख्या ४५ हजार १११ पुरुष र ४३ हजार १७४ महिला गरि ८८ हजार २८५ मतदाता रहेको निर्वाचन कार्यालय दार्चुलाले जनाएको छ । निर्वाचनमा जिल्लाभरी एक हजार ८१ कर्मचारी खटिएका छन ।

रासस