
निबर्तमान उप-मेयर काउन्सिलर लक्ष्य गुरुङ पुन: काउन्सिलरमा बिजयी
लन्डन । पुरानो घर ताङतिङ कास्की भई पोखरा काठमान्डौ हुँदै हाल लण्डन बस्दै आउनुभएका भुपु गोर्खा तथा सफल ब्यवसायी अनि सामाजिक अभियान्त निबर्तमान उपमेयर काउन्सिलर लक्ष्य बहादुर गुरुङ (लक्ष्य गुरुङ) बार्नेट काउन्सिल अन्तर्गत एजवेयरबरी वार्डबाट बेलायतको स्थानीय चुनाव २०२२ मा पुन: काउन्सिलर पदमा विजयी हुनुभएको छ । हिजो मे ५ तारिख २०२२ साल बिहीवार भएको स्थानीय चुनावमा सत्तारुढ कन्जरभेटिभ पार्टीको तर्फबाट बार्नेट काउन्सिलको एजवेयरबरी वार्डबाट गुरुङलाई उम्मेदवारको रुपमा छनोट गरेको थियो ।
बिहीवार राती गरिएको मतगणनामा 1691 मत ल्याएर गुरुङ निर्वाचित भएको मतदान अधिकृतले घोषणा गरेका थिए । सोही वार्डबाट कन्जरभेटिभ पार्टीकै सारह वार्डल पनि कान्सिलरमा बिजयी भएकी छिन् । राष्ट्रिय राजनितीको कारण स्थानीय तहको चुनाबमा असर परिरहेको बिषम परिस्थितीमा पनि कन्सर्भेटिभ पार्टीको तर्फबाट काउन्सिलरमा पुन: बिजयी हुनुभनेको कठीन थियो तर निरन्तर मेहिनत र लगावाले गर्दा आफु बिजयी हुन सफल भएको कुरा काउन्सिलर लक्ष्य गुरुङले खबर यूकेलाई जानकारी गराउनु भयो ।
बिजयी पस्चात खबर यूकेसँग कुरा गर्दै गुरुङले यो आफ्नो मात्र बिजयी नभएर सम्पूर्ण भूतपूर्व गोर्खा तथा बेलायतमा बस्नुहुने नेपालीहरुको जीत र गौरवको विषय भएको कुरा बताउनुभयो । ‘चुनावी अभियानका क्रममा स्थानीयहरुको माया र सम्मान पाएको थिएँ, आशाबादी थियो नै । बिजयी पनि गराउनुभयो । अब, बिगतमा झै समग्र मतदाताहरुको प्रतिष्ठा बढाउने गरेर उहाँहरुको सेवामा खटिन्ने छु । स्थानीयाहरुको सेवा, सुबिधा र समस्याहरु सुल्झाउने काममा लाग्नेछु” उहाँले भन्नुभयो । ‘चुनाबी अभियानको क्रममा भेटेका धेरैजसो मतदाताहरुले आफ्नो घर अगाडिको सडकपेटी, पार्क, ट्राफिक, स्थानीय स्कूलमा पठनपाठन, चोरीको समस्या तथा त्यसक्षेत्रमा बन्न लागेको नयाँ आवास योजनाबारे आफ्ना समस्याहरु हामीलाई बताएका थिए । स्थानीयहरुको यी समस्याहरु र गुनासाहरु सम्वोधन गर्न ब्यक्तिगत तथा पार्टीको तर्फबाट सकेको सहयोग गर्ने विश्वास दिलाएका छौं’- गुरुङले भन्नुभयो ।
बार्नेट काउन्सिलमा थुप्रै भूतपूर्व गोर्खाको परिवारहरु बसोबास गरिरहेको बताउँदै उनीहरुका दैनिक समस्याहरु लगायत भुपु गोर्खाहरुको राष्ट्रिय स्तरका समस्या सुल्झाउने तर्फ पनि सकेको पहल तथा सहयोग गर्ने कुरा बताउनु भयो । कोभिड महामारीको बेला गुरुङले स्थानीय नेपाली समुदयलाई सकेको सहयोग गर्नुभएको थियो । गुरुङकै पहलमा पोखरा महानगरपलिका र बार्नेट नगरपालिका बिच भगीनी सम्बन्ध (मितेरी सम्बन्ध) गाँसेको छ ।
गुरुङको चुनावी अभियानमा हेण्डन क्षेत्रका सांसद डा. म्याथ्यु अफोर्ड, स्थानीय कन्जरभेटिभ पार्टीका पदाधिकारीहरु, बेलायत स्थित थुप्रै नेपाली समाजहरु अनि अन्य नेपालीहरु सहभागी भएका थिए । उनले आफ्नो चुनावी अभियानमा नैतिक तथा भौतिकरुपमा मध्दत गर्नुभएका सम्पूर्ण नेपाली तथा ब्रिटिश सहयोगीहरु, शुभेच्छुकहरु, नेपाली तथा ब्रिटिश सन्चारमाध्यम तथा सन्चारकर्मीहरुलाई धन्यवाद दिनुभएको छ ।
गत मार्च महिनामा बसेको काउन्सिलको पुर्ण बैठकले आउने सालको लागि गुरुङलाई मेयरमा चुनिसकेको थियो तर हिजो सम्पन्न स्थानीय निर्वाचनमा बार्नेट काउन्सिलमा कर्जरभेटिभ पार्टीले बहुमत गुमाएकोले मेयर बन्ने कुरा अहिलेलाई अधुरो रहयो ।



