जनमतबाटै तीन तहको सरकार निर्माण गर्ने : अध्यक्ष ओली
मकवानपुर — नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो दलले जनमतबाटै तीन तहको सरकार निर्माण गर्ने दाबी गरेका छन् । हेटौंडामा आइतबार मे दिवसको सन्दर्भ पारेर आयोजित चुनावी सभालाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री ओलीले अहिलेको गठबन्धन सरकार परामेदशबाट निर्माण भएको टिप्पणी गरे ।
‘हामी परमादेशको जवाफ जनादेशबाट दिन्छौं । हामी जनमतबाटै तीन तहको सरकार बनाउँछौं,’ उनले भने । उनले देशभर एमालेमा देखिएको उत्साहका कारण सत्ता गठबन्धन आतंकित भएको टिप्पणी गरे । ‘स्थानीय तहको निर्वाचन नजिकिरहँदा हाम्रा कार्यकर्तामा उत्साह भरिएको छ । हामीलाई सिध्याउन निर्माण भएको गठबन्धन त्रसित अवस्थामा पुगेको छ,’ ओलीले भने ।
ओलीले कांग्रेसप्रति टिप्पणी गर्दै भने, ‘कांग्रेसको देश बनाउने नीति नै छैन । एमालेलाई धारे हात लगाउने मात्र हो ।’ कांग्रेसले स्थानीय तह निर्वाचन लक्षित गरेर जारी गरेको घोषणापत्रमा आफ्नो नाम ४२ ठाउँमा लेखिएको उनले बताए । ‘कांग्रेसको घोषणापत्रमा कांग्रेस सभापतिको नाम ८ ठाउँमा मात्र छ । मेरो नाम ४२ ठाउँमा छ । १०८ ठाउँमा हुनुपर्ने थियो,’ उनले भने । उनले कार्यकर्तालाई वैशाख ३० गतेको निर्वाचनमा सत्ता गठबन्धनलाई पछारेर मात्र निदाउन आग्रह गरेका छन् ।
अहिलेका लडाइँ नेकपा एमाले र गठबन्धनबीच मात्र भएको उनले टिप्पणी गरे । ‘अहिले देशमा जे जति दल दर्ता भए पनि एमाले र गठबन्धनबीचको मात्र लडाइँ हो । यो लडाइँ नेपाल जोगिने कि नजोगिने भन्ने पनि हो,’ उनले भने । उनले अब देशमा कहिल्यै नाकाबन्दी नहुनेसमेत स्पष्ट पारे । ‘हाम्रो सरकारले चीनतर्फको बाटो खोलेको छ । जसका कारण अब हामी चौतर्फी घेराबन्दीबाट मुक्त भएका छौं । अब देशमा कहिल्यै नाकाबन्दी हुँदैन,’ ओलीले थपे ।
उनले संघीय सरकार कमिसनको लोभमा फसेर अर्बौं रुपैयाँको स्वास्थ्य सामग्री खरिद गर्ने तयारी गरिरहेको आरोपसमेत लगाए । सरकारले चुनावको मुखमा कमिसनको लोभमा फसेर स्वास्थ्य सामग्री खरिद गर्न लागेको बताए । ‘अर्बौंको औषधि, सिटी स्क्यान, एक्स–रे मेसिन खरिद गर्ने तयारी भइरहेको छ । कुनै अस्पताल, डाक्टरलाई चाहिएर खरिद गर्न लागिएको होइन । कमिसन चाहिएर खरिद गर्न लागिएको हो,’ उनले भने । उनले स्वास्थ्यमन्त्री विरोध खतिवडाप्रति लक्षित गर्दै २४ लाख कोरोना भ्याक्सिन हराएको विषयमा समेत टिप्पणी गरे ।
ओलीले सत्तारूढ गठबन्धन विकास गर्न नभएर सरकार देश कंगाल पार्न जन्मिएको आरोप लगाए । ‘सरकार अझै पनि चुनाव बिथोल्न खोजिरहेको छ । १२ दिनपछि चुनाव हुँदै छ । तर, गठबन्धन चुनाव हुन नदिने बहाना खोजिरहेको छ,’ उनले भने । उनले संविधानअनुसार दुई महिना अगाडि फागुनमा हुनुपर्ने बताए । उनले प्रदेश सरकारले मन्त्रालय विभाजन गरेर बढाएको विषयमा समेत व्यंग्य गरे ।