पच्यु चिवा जीत गुरुङ सिक्लेस पार्चे समाज यूकेको अध्यक्षमा निर्बाचित

ह्यमसायर । कास्कीको पर्यटकिय गाउँ सिक्लेस पार्चे पुर्ख्यौली घर भई हाल बेलायत बसोबास गरिरहेका सिक्लेस तथा पार्चेलीहरुको समाज- सिक्लेस पार्चे समाज यूकेको अध्यक्षमा गुरुङहरुको (तमुहरुको) खेगी (धर्म ग्रन्थ) ज्ञाता तथा समाजसेवी पच्यु चिवा जीत गुरुङ निर्बाचित हुनुभएको छ । तमु धि यूकेको मिचेट स्थित भवनमा हिजो मिति अप्रिल ३० तारिख २०२२ साल आइतबार सम्पन्न समाजको पाँचौ अधिबेसनले जीत गुरुङलाई अध्यक्षमा सर्बसम्मत चयन वा निर्बाचित गरेको हो ।

पहिलो र दोस्रो गरी दुई चरणमा सम्पन्न समाजको पहिलो सत्र- वार्षिक साधारण सभामा समाजको आर्थिक प्रतिबेदन देखी समाजले यस आर्थिक बर्ष सम्पन्न गरेका बिभिन्न कृयाकलापहरुको पुन: स्मरण, जानकारी तथा समिक्षा गरिएको थियो । समाजको कोषाध्यक्ष मेजर धन बहादुर गुरुङ बिशेष कारण नेपाल जानुभएको हुँदा उहाँको अनुपस्थितीमा समाजको अध्यक्ष कोल प्रसाद गुरुङलेनै समाजको आर्थिक प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो । वार्षिक साधारण सभामा बिधान बिधान संशोधन समितिका संयोजक सल्लाहकार वीरधोज गुरुङले बिधान संशोधन सम्बन्धि प्रकाश पार्नुभएको थियो । बिधान संशोधन पस्चात वार्षिक साधारण सभाले समाजको पूर्व अध्यक्ष तथा तमु धिं यूकेका निबर्तमान अध्यक्ष नन्दजङ गुरुङलाई सर्बसम्मत समाजको संरक्षकमा नियुक्ती गरेको छ ।

दोस्रो सत्र अन्तर्गत, समाजको पाँचौ अधिबेशनले आगामी छैटौ कार्यसमिती चयन गरेको थियो । समाजको सल्लाहकार वीरधोज गुरुङ प्रमुख अयुक्त रहेको निर्वाचन मण्डलले समाजको अध्यक्षमा जीत बहादुर गुरुङ, उपाध्यक्षमा रुप प्रसाद गुरुङ, महासचिवमा टंक मार्टिन गुरुङ, कोष-अध्यक्षमा शेर बहादुर गुरुङ, संस्कृतिक सचिबमा गम बहादुर (गोरे) गुरुङ, उपसचिवमा किर्तिमान गुरुङ, सह-कोषाध्यक्षमा लाल बहादुर गुरुङ, सह-संस्कृतिक संयोजकमा लाल क्होला गुरुङ र सदस्यहरुमा- जुनेश गुरुङ, इन्द्र प्रसाद गुरुङ, टंक गुरुङ (पार्चे), विकास गुरुङ, सुनिल गुरुङ र टंक प्रसाद गुरुङ (सभाथर) गरि १४ सदस्य कार्यसमिति चयन भएको घोषणा गरेका थिए । नवनिर्वाचित कार्यसमितिलाई निर्वाचन आयुक्तले अगामी जुलाई ३ तारिख समाजको बार्षिक भेटघाट कार्यक्रममा शपथ ग्रहण गराउनेछ ।

कार्यक्रममा छिमेकी गाउँ ताङतिङको चेली प्रथम नेपाल स्टार बिजेता एलिना गुरुङलाई बधाई, स्वागत तथा सम्मान गरेको थियो ! त्यस्तै कार्यक्रममा सल्लाहकार तथा पुर्ब अध्यक्षहरु क्रमस: मिन प्रसाद गुरुङ, भिम प्रसाद गुरुङ, सुल बहादुर गुरुङ तथा नन्द जंग गुरुङले शुभकामना मन्तब्य दिनुभएको थियो । वार्षिक साधारण सभाको अध्यक्षता निबर्तमान अध्यक्ष कोल प्रसाद गुरुङले गर्नुभएको थियो भने कार्यक्रम महासचिब टंका मार्टिन गुरुङले संचालन गर्नुभएको थियो ।

स्मरण रहोस्- कास्कीको पर्यटकिय गाउँ सिक्लेसमा हरेक बर्ष माघको एक गते त्यस क्षेत्रको ठुलो मेला (माघे मेला) लाग्ने गर्दछ । मेलामा परम्परागत खेल छेल्लो (ठेलो) प्रतियोगिता साथै बिभिन्न खेलकुद तथा सांस्क्रितिक कार्यक्रमहरु आयोजना गरिन्छन् । कला संस्कृतिको धनी गाउँ सिक्लेस लमजुङको भुजुङपछि दोस्रो ठुलो गुरुङ गाउँ हो ।