खेलाडीहरुको सेवा सुबिधाबारे कुरा उठाउँदा रोहित निकालिए

खेलाडीका लागि सेवासुविधाबारे कुरा उठाएपछि रोहित चन्दलाई प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले टिमबाटै हटाइदिए । त्यसबारे कुरा गर्न खोजेका ९ खेलाडीले पनि उनले बारम्बार ‘घर जा’ भनेपछि टिम छाडेका छन् ।

काठमाडौँ — नेपाली राष्ट्रिय फुटबल टिमका खेलाडीहरूले अखिल नेपाल फुटबल संघ (एन्फा) ले सातदोबाटोस्थित आफ्नो होस्टलमा दिइरहेको सेवासुविधालाई लिएर पहिलादेखि नै कुरा उठाइरहेका थिए, गुनासा गरिरहेका थिए । एसियन कप २०२३ छनोटको तयारीमा यसपालि पनि टिमलाई त्यही होस्टेलमा राख्ने भनिएको थियो ।

खेलाडीहरू होस्टेल होइन, होटलमा बस्न चाहन्थे । सेवासुविधा सुधारेको अवस्थामा होस्टेलमै बस्न पनि तयार थिए । त्यसैले खेलाडीहरू होटेलमा नभए सुधारिएको होस्टेलमा बस्न पाउनुपर्नेमा एकमत भए । यसबारे एन्फा र प्रशिक्षकसँग कुरा गर्न तयार भए ।

प्रशिक्षणमा खेलाडीको नेतृत्व रोहित चन्दले गरिरहेका थिए । त्यसैले खेलाडीलाई चित्त नबुझेको कुरा गर्ने जिम्मा पनि उनैले पाए । सबै खेलाडी उनलाई साथ दिन तयार भए । होस्टेलमा बस्न दिन तोकिएको थियो– सोमबार ।

त्यसको अघिल्लो दिन आइतबार दशरथ रंगशालामा ट्रेनिङपछि रोहितले प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीलाई बन्द प्रशिक्षणमा खेलाडीहरूलाई होस्टेल राम्रो नभएकाले होटलमा राख्नुपर्ने बताएका थिए । एन्फा होस्टेलमा राख्ने भए खेलाडीहरूको लागि त्यसलाई सुधार गरेर राम्रो बनाउनुपर्ने विषय रोहितले राखेका थिए ।

मिडफिल्डर/सेन्टरब्याक रोहितले खेलाडीको तर्फबाट कुरा राखेपछि प्रशिक्षक अल्मुताइरीले को–को होस्टेल बस्ने, को होटल बस्ने भन्दै खेलाडीहरूलाई हात उठाउन लगाए ।

अल्मुताइरीले को होटेल बस्ने भनेर सोधे, रोहितले हात उठाए । होस्टेलप्रति गुनासो गर्दै पहिला उनलाई साथ दिने बताएका सबै खेलाडी चुपचाप बसे । रोहित एक्लो भए । तत्कालै अल्मुताइरीले रोहितलाई भनेका थिए, ‘तिमी घर जाऊ ।’ रोहित टिमबाटै निकालिए । उनी घर फर्किन बाध्य भए ।

होस्टेल राम्रो नभएकै कारण वैशाख २ देखि सुरु भएको प्रशिक्षणमा मोफसलका खेलाडीहरूलाई भने पाँचतारे स्तरको झम्सिखेलस्थित होटल भिभान्तमा राखिएको थियो ।

एक दशकयता इन्डोनेसियाको शीर्ष लिग खेलिरहेका रोहितलाई हटाइएको भोलिपल्ट सोमबार बन्द प्रशिक्षण सुरु भयो । खेलाडीहरूलाई एन्फा होस्टेल होइन, त्रिपुरश्वेरस्थित युनाइटेड बिजनेस होटलमा राखियो । रोहितलाई ‘अन्याय’ भएको भन्दै खेलाडीहरूले टिम व्यवस्थापक मधुसुदन उपाध्यायसँग कुरा राखे । तर कुनै सुनुवाई भएन । खेलाडीहरूले प्रशिक्षक अल्मुताइरीसँग कुरा गर्न चाहे । तर, उनी खेलाडीको कुरा सुन्न तयार भएनन् ।

टिमका एक खेलाडीले भने, ‘होस्टेल राम्रो छैन, होटेल बस्ने भन्नुपर्छ भनेर हामी सबैको बोली रोहितले बोलेका हुन् । हामी सबै डराएर बोल्न, हात उठाउन सकेनौं । होटल बस्ने भनेकै कारण रोहितलाई घर पठाउनु ठीक थिएन । आखिर त्यही दिन टिमका लागि होटल मिलाइसकेको रहेछ ।’

उनीहरूले यसबारे प्रशिक्षक अल्मुताइरीसँग कुरा गर्न चाहेका थिए । सबैको कुरा रोहितले बोलेको भनेपछि बल्ल अल्मुताइरी पाँच जनालाई बोल्न दिन तयार भए ।

टिमका २५ खेलाडीमध्ये कप्तान/गोलकिपर किरण चेम्जोङ र डिफेन्डर देवेन्द्र तामाङ बाहिर छन् । रोहितलाई घर फर्काइएको थियो । बाँकी २२ खेलाडीमध्ये नवयुग श्रेष्ठ, विशाल श्रेष्ठ, विशाल राई, सुजल श्रेष्ठ, तेज तामाङ, सुमन लामा, अञ्जन विष्ट, विमल घर्तीमगर, दिनेश राजवंशी र अनन्त तामाङ प्रशिक्षक अल्मतुाइरीसँग कुरा गर्न गए । तर, अल्मुताइरीले कुरै सुन्न मानेनन्, उल्टै ती खेलाडीहरूलाई घर जाऊ भनिदिए । उनले जुनियर खेलाडीहरूलाई पनि ‘मेरो टिममा बस्ने कि रोहितको टिममा जाने’ भन्दै भोटिङ गर्न भने ।

अल्मुताइरीसँगको भेटबारे खेलाडीले भने, ‘प्रशिक्षकले हाम्रो कुरा सुन्नै मानेनन् । हामीलाई ‘तिमीहरूलाई विश्वास छैन रहेछ, नेगेटिभ भाइब्स ल्याइस् । घर गइहाल । टिममा तिमीहरू चाहिँदैन, म भएसम्म तिमीहरू कोही टिममा हुँदैन घर गइहाल’ भने । समस्या समाधान गर्ने उद्देश्यले पुगेका हामीलाई पनि लगातार ‘घर जा’ भनिरहे । त्यसैले मंगलबार बेलुकी हामीले होटल छाडेका छौं । ओके, बाइ बाइ भनेर राम्रैसँग निस्केका हौं । व्यवस्थापकलाई भनेरै आएका हौं ।’ अल्मुताइरीसँग कुरा गर्न गएका १० जनामध्ये विभागीय टिम आर्मीका फरवार्ड नवयुग भने टिमसँगै होस्टलमा छन् ।

प्रशिक्षक र खेलाडीबीच विवाद चर्किएपछि एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाले खेलाडीहरूलाई एन्फा कम्प्लेक्स सातदोबाटोमा बुधबार खलाडीहरूलाई बोलाएका थिए । खेलाडीले एन्फामा कुरा गर्न अस्वीकार गरेपछि अध्यक्ष शेर्पाले बालुवाटार गएर भेटेका थिए । उनले खेलाडीहरूलाई ‘प्रशिक्षकसँग कुरा गरेर खबर गर्ने’ वचन दिएका छन् ।

खेलाडीलाई आफ्नो सेवासुविधाका लागि संघर्ष गर्नुपर्ने बताइरहने अल्मुताइरी आफैंले अहिल फरक व्यवहार गरेको उल्लेख गर्दै एक खेलाडीले भने, ‘कोचले नै पहिला जहिले नि हामीलाई होटलमा राख्छु भन्थे । आफ्नो लागि लड्नुपर्छ भन्थे । अहिले उनी ‘एन्फासँग लड्ने भनेको थिएँ, मसँग लड्ने भनेको हो र ? भन्छन् ।’

यस छनोटको तयारीको पहिलो दिन नै ‘नेपाल एसियन कपमा छनोट हुन नसक्ने’ अभिव्यक्ति दिएका प्रशिक्षक अल्मुताइरीले थप १४ खेलाडीलाई प्रशिक्षणमा बोलाइसकेका छन् । सिनियर खेलाडीहरूसँग उनको व्यवहारले नेपालको तयारीलाई असर गर्ने नै छ । समूह ‘ए’ मा नेपालले जेठ २५ मा जोर्डन, २८ मा कुवेत र जेठ ३१ मा इन्डोनेसियाविरुद्ध कुवेत सिटीमा प्रतिस्पर्धा गर्नेछ ।