स्थानीय चुनावमा जम्मा एक लाख ५२ हजार ४६५ उम्मेदवार
काठमाडौं, वैशाख १४ गते। स्थानीय तह सदस्य निर्वाचन–२०७९ को कार्यक्रमअन्तर्गत यही वैशाख ११ र १२ गते परेका उम्मेदवारी मनोनयन दर्तामा हालसम्म एक लाख ५२ हजार ४६५ जनाको विवरण सङ्कलन भएको छ । यही वैशाख ३० गते हुने निर्वाचनमा ३५ हजार २२१ पदका लागि मतदान हुँदैछ ।
निर्वाचन आयोगको प्रणालीमा बुधबार साँझसम्म प्रविष्ट भएको विवरणअनुसार दलगत र स्वतन्त्रसहित गरी प्रमुखमा तीन हजार ४९४, अध्यक्षमा तीन हजार ३८७, उपप्रमुखमा दुई हजार ५६ जनाले मनोनयन दर्ता गरेका हुन् । त्यसैगरी उपाध्यक्षमा दुई हजार एक, वडाध्यक्षमा ३५ हजार २५६ र सदस्यमा ५५ हजार ४७१ जनाको उम्मेदवारी परेको छ ।
आयोगको सूचना तथा प्रविधि शाखाका अनुसार छुटपुट भएका र विवरण सच्याइएका तथ्याङ्क प्रणालीमा प्रविष्ट हुने क्रम जारी रहेको छ। आयोगले उम्मेदवारको पूर्ण विवरण बुधबार सार्वजनिक गर्ने भने पनि साँझ ढिलासम्म सार्वजनिक हुन सकेको छैन ।
रासस