देशभर १० हजार ५ सय ३३ जनाको उम्मेदवारी दर्ता

काठमाडौँ – यही वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्ने पहिलो दिन अपेक्षा गरेभन्दा निकै थोरै संख्यामा उम्मेदवारी परेको छ । मनोनयन दर्ताको पहिलो दिन मुख्य दलले कतै पनि उम्मेदवारी दिएनन् भने स्वतन्त्र र साना दलले मात्रै विभिन्न स्थानमा उम्मेदवारी दिए ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयमा आइतबार उम्मेदवारी दर्ता गर्न थोरै दलमात्रै पुगेकाले भीडभाड थिएन । निर्वाचनको माहोल भने उत्साजनक देखिन्थो । उम्मेदवार र समर्थकहरु उल्लासका साथ मनोयन पत्र दर्ता गरेको देखिन्थ्यो । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार आइतबार १० हजार ५ सय ३३ जना उम्मेदवारले विभिन्न पदका लागि उम्मेदवारी दर्ता गरेका छन् ।

काठमाडौँ महानगरपालिकामा समेत स्वतन्त्र र साना पार्टीले उम्मेदवारी दर्ता गरेका छन् । सहायक निर्वाचन अधिकृत नेत्र प्रसाद पौड्यालका अनुसार मेयरमा १६ जना, उपमेयर पदमा १७ जनाले उम्मेदवारी दर्ता गरेका छन् । मेयर पदमा ९ जना स्वतन्त्रले र ७ जना विभिन्न पार्टीबाट उम्मेदवारी परेको छ। मेयरमा ४ जना महिला र १२ जना पुरुषको उम्मेदवारी परेको हो । त्यस्तै वडा अध्यक्षमा २३ जनाको उम्मेदवारी परेको छ। सदस्यमा भने ७ जनाको मात्रै उम्मेदवारी परेको छ ।

देशभर ३५ हजार २ सय २१ पदका लागि स्थानीय तहको निर्वाचन हुन लागेको हो । निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्ने कार्यक्रम सोमबार पनि छ। निर्वाचनका लागि मुख्य दलसहित निर्वाचनमा भाग लिन दर्ता भएका ७९ दलले भोलि नै उम्मेदवारी दर्ता गर्ने भएका छन् ।