सुन चोरेको आरोप लागेका पौडेलको टिकट खोसियो, पोखराको टिकट कृष्ण थापालाई
पोखरा- पोखरा महानगरपालिकाको मेयरमा दीपक पौडेलको टिकट खोसेर कृष्ण थापालाई दिएको छ । शनिबार पौडेललाई टिकट दिएपछि उनको विरोध भएको थियो । उनलाई सुन चोरेको आरोप लागेको थियो । सुन चोरेको पूरानो भिडियोहरू सेयर गर्दै चौतर्फी आलोचना र विरोध भएको थियो । तर उनले आफुलाई फसाउन खोजिएको प्रतिक्रिया दिएका थिए । त्यसमाथि उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र केन्द्रीय सदस्य खगराज अधिकारीको टकरावका कारण कास्की एमाले विभाजित छ ।
पौडेलले गुरुङ प्यानलबाट टिकट पाएका हुन् । त्यसपछि उनीविरुद्ध प्रहार धेरै भयो । अन्ततः उनको टिकट फिर्ता लिएर खगराज प्यानलका थापालाई टिकट दिइएको हो । उपमेयरमा भने पुनः मन्जु गुरुङ नै उम्मेद्वार बनेकी छिन् । यसअघि गुरुङले आफू उम्मेद्वार नबन्ने बताएपनि अहिले मौन छिन् ।
थापा र गुरुङ दुवैजना केन्द्रीय सदस्य हुन् । थापालाई रोक्न पृथ्वीसुब्बाले प्रदेश सरकार आफ्नो बन्ने र त्यहाँ मत नपुग्ने कार्ड फालेका थिए । तर उनको कार्ड सफल हुन सकेन । अन्ततः थापालाई टिकट दिइएको छ । थापा २०५४ सालमा पनि पोखराको मेयर भएर काम गरेका ब्यक्ति हुन् । २०७० मा भने कास्की २ बाट चुनावमा पराजित भएका थिए ।
पोखरा महानगरमा एमालेले गर्यो मेयर परिवर्तन, कृष्ण थापा बने उम्मेदवार
काठमाडौं : नेकपा एमालेले पोखरा महानगरपालिकामा नयाँ उम्मेदवार तय गरेको छ। एमालेका प्रचार विभाग उपप्रमुख विष्णु रिजालले पोखराको मेयरमा कृष्ण थापालाई उम्मेदवार बनाएको जानकारी दिए ।
एमालेले मेयरमा दीपक पौडेललाई दिएको टिकट थापालाई दिएको हो । जुनिएर व्यक्तिलाई उम्मेदवार बनाएको भन्दै एमालेभित्र आन्तरिक विवाद भएपछि एमालेले पौडेललाई हटाएको हो । पोखरामा एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र संगठन विभाग प्रमुख खगराज अधिकारीबीच लामो समयमादेखि टक्कर छ ।
यसैबीच मेयरको टिकट पाउने बित्तिकै पौडेल सिक्री काण्डमा मुछिएको पूरानो भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो । एमालेले यस अगाडि नै उपमेयरमा मञ्जुदेवी गुरुङलाई उम्मेदवार बनाएको छ। गुरुङ अघिल्लो निर्वाचनमा पनि उपमेयरमा निर्वाचित भएकी थिइन् ।