मध्यरातको बैठकमा शेरबहादुर र शेखरबीच चर्काचर्की

काठमाडौं । नेपाली कांग्रेसका शीर्ष नेताहरूको बैठकमा चर्काचर्की भएको छ । हिजो राति बालुवाटारमा बसेको कांग्रेस शिर्ष नेताहरूको बैठकमा विराटनगर महानगरपालिकाको मेयरका विषयमा कुरा नमिल्दा चर्काचर्की भएको हो । सभापति शेरबहादुर देउवा र शेखर कोइरालाबीच चर्काचर्की भएको हो ।

बैठक राति साढे ११ सम्म चलेको थियो । तर, उमेदवार छनोटमा सहमति हुन सकेन ।

“विराटनगरको राजनीति तपाईंहरू बुझ्नुहुन्न,” अमृत अर्याललाई मेयर बनाउनु पर्छ भनेपछि शेखर कोइरालाले भने, “२०५४ सालमा मेयर लडेर हारेको मान्छेलाइ टिकट दिने अहिले ? सांसद , मन्त्री, मुख्यमन्त्री बनाउनुहोस् अलग कुरा भयो । उहाँलाई मेयरमा झार्ने काम नगर्नुहोस् । विराटनगरको निर्णय गर्दा तपाईंले महेश आचार्य र मिनेन्द्र रिजाललाई सोध्नु भयो ?”

जवाफमा देउवाले अमृत अर्याललाई मेयर बनाउने बताएका थिए । फेरि शेखरले आफ्नो अडान दोहोर्याउँदै विराटनगर टुंगो नलगाई अघि नबढ्ने बताएका थिए । बैठकमा नेता कृष्ण सिटौलाले भने भीम पराजुलीलाई मेयर बनाउनुपर्ने अडान राखेका थिए । भीमलाई टिकट दिए जित्ने सिटौलाको दाबी थियो ।

जवाफमा फेरि शेखरले एउटै मान्छेलाई पटक–पटक अवसर दिँदा पार्टीमा न्याय र व्यवस्थापन कसरी हुन्छ ? भन्दै चर्किएका थिए । शेखरको कुरामा नेता विमलेन्द्र निधि र शशांक कोइरालाले भने समर्थन गरेका थिए । शेखर विराटनगरमा नागेश कोइरालालाई टिकट दिनुपर्ने अडानमा छन् ।

शिर्ष नेताहरूको अहिले बैठक सुरू भएको छ । आजै ११ बजेबाट कार्यसम्पादन समितिको बैठक बस्दै छ ।