पालिका उम्मेदवार छान्दै दलहरु : स्थानीय तह चुनाव

काठमाडौँ — राजनीतिक दलहरूले आसन्न स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनोटलाई तीव्रता दिएका छन् । महानगर र उपमहानगरका प्रमुख–उपप्रमुख उम्मेदवार भने केन्द्रबाटै टुंग्याउने पार्टी विधानअनुसार दलहरू निर्णायक गृहकार्यमा छन् ।

उम्मेदवारी मनोनयन आइतबार र सोमबार रहेकाले शनिबारसम्ममा नाम टुंग्याउने दलहरूको तयारी छ । सत्ता गठबन्धनमा रहेका पाँच दलले तालमेल सहमतिअनुसार उम्मेदवारी दिने तयारी गरेका छन् । एमाले पनि स्थानीय तहमा हुने तालमेल हेरेर जित्नसक्ने उम्मेदवार चयन गर्ने तयारीमा छ ।

कांग्रेसले महानगर र उपमहानगरका उम्मेदवारबारे छलफल गर्न शुक्रबारका लागि कार्यसम्पादन समितिको बैठक बोलाएको छ । सत्ता गठबन्धनमा रहेका अन्य दलले उम्मेदवार छनोटको गृहकार्य थालेका छन् । एमालेले शनिबार उम्मेदवारको टुंगो लगाउने जनाएको छ । एमालेको केन्द्रीय सचिवालयको बिहीबारको बैठकमा महानगर र उपमहानगरका प्रमुख–उपप्रमुख उम्मेदवार छनोटको विषयले प्रवेश पाएको छ । ‘पार्टी कमिटीबाट सिफारिस भएका नाम बैठकमा पेस भएका छन् । तीमध्येबाट चुनाव जित्न सक्ने उम्मेदवार चयन हुन्छन्,’ एमाले सचिव पृथ्वीसुब्बा गुरुङले भने । प्रदेश र जिल्ला कमिटीबाट सिफारिस हुन छुटेका कोही चुनाव जित्न सक्ने व्यक्ति भए तिनलाई अघि सार्न सकिने पनि उनले बताए ।

एमालेको महानगर कमिटीले ललितपुर, वीरगन्ज र भरतपुरका लागि सर्वसम्मत नाम सिफारिस गरेको छ । ललितपुरबाट प्रमुखमा हरिकृष्ण व्यञ्जनकार र उपप्रमुखमा मञ्जली शाक्य, वीरगन्जमा प्रमुखका लागि विजय सरावगी र भरतपुरमा प्रमुखमा विजय सुवेदी सर्वसम्मत सिफारिस भएका हुन् । ललितपुर प्रमुखका आकांक्षी व्यञ्जनकार गत निर्वाचनमा सोही पदमा पराजित भएका थिए । वीरगन्जका सरावगी अहिले पनि प्रमुख छन् । तत्कालीन संघीय समाजवादी फोरमबाट विजयी उनी हालै एमाले प्रवेश गरेका हुन् । भरतपुरका सुवेदी प्रदेशसभा सदस्य हुन् ।

एमाले महानगर कमिटीले काठमाडौंका लागि संघीय सांसद रामवीर मानन्धर, अहिलेका प्रमुख विद्यासुन्दर शाक्य, पूर्वप्रमुख केशव स्थापित, नेताहरू निर्मल देउला र इन्दिरा पन्तको नाम सिफारिस गरेको छ । उपप्रमुखमा रत्ना गुरुङ, पेम्बा लामा, मीना काफ्ले सिफारिसमा परेका छन् । वीरगन्जमा एमाले–लोसपा तालमेल सहमति भएको छ, जसअनुसार उपप्रमुखमा लोसपाबाट उम्मेदवार हुनेछन् । भरतपुर महानगरमा एमालेले उपप्रमुख पदका लागि सिफारिस गरिसकेको छैन । विराटनगर प्रमुखका लागि रामलाल साह, परशुराम बस्नेत, बाबुराम कार्की, सागर थापा र महेश भट्टराईको नाम सिफारिस भएको छ । उपप्रमुखमा शिल्पा कार्की, अञ्जु उपाध्याय र विमला घिमिरे दाहाल सिफारिसमा परेका छन् ।

पोखरामा एमाले महानगर कमिटीले प्रमुखका लागि दर्शन लामा, दीपकबहादुर पौडेल, कृष्णबहादुर थापा, राजीव पहारी, रश्मि आचार्य, भीमबहादुर कार्की, मीनाकुमारी गुरुङ, पुष्पज्योति ढुंगाना, सावित्री भण्डारी, बिखकल्याण पराजुली, बालकृष्ण काउछामगर र पुष्पराज अधिकारीको नाम सिफारिस गरेको थियो । तर बिहीबारको सचिवालय बैठकले गण्डकी र लुम्बिनीमा प्रदेश सांसदलाई स्थानीय तहमा उम्मेदवार नबनाउने निर्णय गरेकाले प्रदेश सांसद थापा र पहारी उम्मेदवार बन्न नपाउने भएका छन् । उपप्रमुखमा विनकुमारी गुरुङ, टीकाराम पंगेनी, तेजनारायण अधिकारी, जीवनप्रसाद आचार्य, सुष्मा पौडेल, देवका पहारी त्रिपाठी, बलराम गायक, शोभामोहन पौडेल र वामदेव ढुंगाना सिफारिस भएका छन् ।

एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले सबै महानगर र उपमहानगरबाट शुक्रबार साँझसम्म उम्मेदवार सिफारिस भइसक्ने बताए । ‘शनिबार सचिवालयको बैठक बस्छ र त्यहाँबाट सबै उम्मेदवारको टुंगो लाग्छ,’ उनले भने, ‘योग्य र जित्ने उम्मेदवार चयन गरिनेछ ।’ सत्ता गठबन्धनको भागबन्डामा कांग्रेसले ६ मध्ये काठमाडौं, ललितपुर र विराटनगर गरी तीन महानगर प्रमुखमा उम्मेदवार उठाउने भएको छ । कांग्रेस विधानमा महानगरपालिका प्रमुख र उपप्रमुखको उम्मेदवार महानगर कार्यसमितिले सिफारिस गर्ने व्यवस्था छ । उपमहानगर र नगरपालिकाका उम्मेदवार भने प्रदेश समितिले गर्ने विधानको व्यवस्था छ ।

कांग्रेसको महानगर समितिले बिहीबार काठमाडौंको प्रमुखका लागि सिर्जना सिंह, नीलकाजी शाक्य, हरिप्रभा खड्गी श्रेष्ठ, सुसन वैद्य र प्रगतिमान रञ्जितको नाम सिफारिस गरेको छ । शाक्य कांग्रेसका महानगर सभापति, खड्गी काठमाडौंकी उपप्रमुख र वैद्य कांग्रेस महानगर सचिव हुन् । सिर्जना नेता प्रकाशमान सिंहकी पत्नीसमेत हुन् । ललितपुरको प्रमुखका लागि कांग्रेसबाट चिरीबाबु महर्जन, गीता सत्याल, शुभानन ध्वाख्वा, भरतलाल न्याछ्यों, अन्नतप्रकाश श्रेष्ठ, प्रेमकृष्ण महर्जन र राजेश महर्जन सिफारिसमा परेका छन् । चिरीबाबु हाल पनि प्रमुख, सत्याल उपप्रमुख छन् । ध्वाख्वा कांग्रेस महानगर सभापति हुन् ।

विराटनगरमा कांग्रेसबाट जिल्ला उपसभापति नागेश कोइराला, हालका प्रमुख तथा केन्द्रीय सदस्य भीम पराजुली र उपप्रमुख इन्दिरा कार्की, महानगर सभापति दीपक चापागाईं, केन्द्रीय सदस्यहरू डिला संग्रौला, अमृत अर्याल र प्रदेश सदस्य गोपाल रेग्मी सिफारिस भएका छन् । कांग्रेस प्रवक्ता प्रकाशशरण महतले महानगरको उम्मेदवार शुक्रबार टुंग्याउन गृहकार्य भइरहेको जानकारी दिए ।

सत्ता गठबन्धनको दल माओवादी केन्द्रले भरतपुर महानगरपालिकाको प्रमुखमा आफ्नो उम्मेदवार उठाउनेछ । त्यहाँ हालकी प्रमुख रेनु दाहाल नै उम्मेदवार बन्ने करिब निश्चित छ । उनले पार्टीबाट निर्णय नहुँदै चुनावी प्रचार सुरु गरिसकेकी छन् । माओवादीमा महानगर र उपमहानगरका उम्मेदवार केन्द्रले नै टुंग्याउने व्यवस्था छ । त्यसबाहेक माओवादीले २ उपमहानगरको प्रमुख पनि पाएको छ । कतिपय जिल्ला र प्रदेशबाट नाम सिफारिस हुन बाँकी रहेका कारण महानगर र उपमहानगरका उम्मेदवार शनिबार मात्रै टुंगो लगाउने तयारी रहेको माओवादी नेता वर्षमान पुनले बताए ।

एकीकृत समाजवादीले पोखरा महानगरमा प्रमुखमा उम्मेदवारी दिने भएको छ । उक्त पार्टीमा पनि महानगर र उपमहानगरका उम्मेदवार केन्द्रले नै छान्ने व्यवस्था छ । पोखराको प्रमुखका लागि ३ जना आकांक्षीको नाम सिफारिस भएको छ, जसमा पोलिटब्युरो सदस्य एवं गण्डकी प्रदेश उपाध्यक्ष श्रीनाथ बराल, केन्द्रीय सदस्य तथा पोखरा महानगर कमिटी अध्यक्ष धनराज आचार्य र दिलु पन्त छन् । पार्टी केन्द्रले आचार्यलाई उम्मेदवार बनाउने सम्भावना देखिएको छ । ‘सिफारिस नामभित्रैबाट पार्टीले तय गरेको मापदण्डअनुसार उम्मेदवार छान्छौं,’ एकीकृत समाजवादीका महासचिव बेदुराम भुसालले भने । उनका अनुसार एकीकृत समाजवादीले पनि शनिबार साँझसम्म महानगर र उपमहानगरका उम्मेदवार छानिसक्ने छ ।

जनता समाजवादी पार्टीको वीरगन्ज महानगर समितिले प्रमुखमा राजेशमान सिंहको नाम सिफारिस गरेको छ । जसपामा महानगर र उपमहनगरका उम्मेदवार चयन गर्न संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई, पार्टी अध्यक्ष उपेन्द्र यादव र वरिष्ठ नेता अशोक राईलाई जिम्मा दिइएको छ । जसपाले पनि शनिबार साँझसम्म मात्रै महानगर र उपमहानगरका प्रमुख र उपप्रमुखको उम्मेदवार छान्ने नेताहरूले बताएका छन् ।