ललितपुरको औद्योगिक क्षेत्रभित्र अक्सिजन प्लान्ट विस्फोट, एकको मृत्यु

काठमाडौं । ललितपुरको औद्योगिक क्षेत्रभित्र रहेको सगरमाथा अक्सिजन प्लान्टमा विस्फोट हुँदा एकजनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् । एकजना घाइतेको अवस्था गम्भीर छ ।

घटनास्थलमा पुगेका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायका अनुसार घटनास्थल हेर्दा निकै शक्तिशालीका साथ विस्फोट भएको अनुमान गर्न सकिन्छ । ‘मानिसका शरीरका टुक्रा तीन सय मिटर परसम्म पनि भेटिएको छ, उद्योगको छाना केही बाँकी छैन’ उनले भने, ‘धेरै नै इनर्जीका साथ विस्फोट भएको देखिन्छ । घटनास्थलको अवस्था निकै भयावह देखिन्छ ।’ टाढा–टाढाका घरहरुका सिसा पनि फुटेका छन् ।

घाइतेहरुलाई प्रहरीले तत्कालै उद्धार गरेर अस्पतालमा पठाएको उनले बताए । उद्योग सन्चालकका अनुसार विस्फोट हुने बेलामा १० जना कार्यरत थिए । दुई जना उद्योग सन्चालकको सम्पर्कमा आएका छन् । एक जनाको मृत्यु भइसकेको छ । सात जना घाइतेहरु अस्पतालमा छन् । गम्भीर घाइते एक जनाको खुट्टा चुँडिएको छ । उनको पाटन अस्पतालमा उपचार भइरहेको छ । घाइतेहरुको बीएण्डबी र पाटन अस्पतालमा उपचार भइरहेको छ ।

अक्सिजन प्लान्ट विष्फोटनकाे छानबिन गर्न गृहमन्त्रीकाे निर्देशन

काठमाडाैं । गृहमन्त्री बालकृष्ण खाणले ललितपुरको औद्योगिक क्षेत्रभित्र रहेको सगरमाथा अक्सिजन प्लान्टमा भएकाे विष्फोटकाे छानबिन गर्न निर्देशन दिनुभएको छ ।

गृहमन्त्री खाणले गृहसचिव टेकनारायण पाण्डे, ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्याय, महानगरीय प्रहरी परिसर ललितपुरका प्रहरी वरिष्ठ उपरीक्षक यज्ञविनाेद पाेखरेल र सशस्त्र प्रहरीका ललितपुर प्रमुख उपरीक्षक विकास घिमिरेलाई घाइतेको तत्काल उद्धार गर्न र घटनाको छानबिन निर्देशन दिनुभएकाे हाे । ललितपुरका प्रजिअ उपाध्यायका अनुसार विष्फोटमा एकजनाको मृत्यु भएको छ । एक जना गम्भीर घाइते र पाँच जना घाइते भएका छन् ।

मृत्यु हुनेमा भारतीय नागरिक बृज कुमार महतो रहेको र बाँकी सात जना घाइते मध्ये एक जना अवस्था गम्भिर रहेको ललितपुरका एसपी सिद्धिविक्रम शाहले गोरखापत्र अनलाइनलाई जानकारी दिनुभयो । घाइतेहरुको पाटन अस्पताल र विएण्डवि अस्पतालमा उपचार हुँदै शुरु भएको उहाँले जानकारी दिनुभयो । दुई दर्जन बढी कामदार भए पनि अन्य कामदार बाहिरी क्षेत्रमा भएकाले दुर्घटना हुन नसकेको र विष्फोटनले उद्योगमा क्षति पुगेको उहाँले जानकारी दिनुभयो ।