मधेशमा गठबन्धन नहुने संकेत: सबैले आ-आफ्नै उम्मेदवार उठाउँदै

जनकपुरधाम – आगामी स्थानीय तह निर्वाचनका लागि सत्ता गठबन्धनबीच भएको चुनावी तालमेलको सहमति मधेश प्रदेशमा कार्यान्वयन नहुने अवस्था देखिएको छ । गठबन्धनभित्र रहेका दलहरूले मधेशका अधिकांश पालिकामा आ-आफ्ना उम्मेदवार घोषणा गरिरहेका छन् भने कतिपय ठाउँमा त अधिकारिक निर्णय नै गरिसकेका छन् । हुनत सता गठबन्धनले उम्मेदवार टंग्याउन सोमबारदेखि जिल्लाध्यक्षहरूसँग बैठक जारी राखेका छन् । बैठकमा आफूले जितेका पालिका गठबन्धनका कुनै पनि दलले अडान नछाडेपछि सोमबारको बैठक निष्कर्षविहीन भएको छ ।

स्थानीय तहको चुनाव संयुक्त रूपमा लडाउने भनेर गरिएको ७ बुँदे चुनावी तालमेल सम्झौता गरेका पाँच दलीय सत्ता गठबन्धन दलबीच स्थानीय तहमा भागबण्डा आ-आफ्नै उम्मेवार घोषणा गर्न थालेपछि टुंगो नलाग्ने अवस्था देखिँएको हो । प्रदेशका राजधानी समेत रहेको जनकपुरधाम उपमहानगरपालिकामा गठबन्धनका प्रमुख दल कांग्रेस र जसपा दुवैले दाबी गर्दै आ-आफ्ना उम्मेदवार घोषणा गरिसकेका छन् । दुवै दलका उम्मेदवार चुनावी तयारी स्वरूप घरदैलो कार्यक्रम गरी प्रचार प्रसारमा जुटेका छन् । कांग्रेसबाट मनोजकुमार साह र जसपाबाट पुनः मेयर लाल किशोर साहलाई नै दोहर्‍याउनेगरी उम्मेदवार आन्तरिक रूपमा घोषणा गरिसकिएको छ ।

धनुषाको मुखियापट्टी मुसहरनीया गाउँपालिकामा नेपाली काँग्रेसले उम्मेदवारी घोषणा गर्ने भएपछि नेकपा माओवादी केन्द्रले पनि आफ्ना उम्मेदवारको नाम सिफारिस गरेको छ । माओवादीले गाउँपालिकाको अध्यक्ष पदका लागि धर्मेन्द्र यादवको एकल नाम सिफारिस गरेको छ । कांग्रेसबाट विश्वनाथ यादव, मुन्ना चौधरी र रामबाबु यादव सहित तीन जनाको नाम सिफारिस गरेको छ । माओवादीले आफू जितेको धनुषाको शहीदनगर र विदेह नगरपालिका नछोड्ने अडानमा छन् भने कांग्रेसले उपमहानगरपालिकासहित आफूले जितेका १० वटा पालिकामा दाबी गरिरहेका छन् । पालिका कमिटीको बैठकले यादवलाई अध्यक्षको उम्मेदवार बनाउन पार्टीको जिल्ला समन्वय समिति र प्रदेश कमिटीलाई सिफारिस गरेको नेकपा माओवादी केन्द्रको मुखियापट्टी मुसहरनिया गाउँपालिका कमिटीका अध्यक्ष महेश यादवले जानकारी दिए ।

रौतहटमा त गठबन्धन दल जसपा, नेकपा एकीकृत समाजवादी र कांग्रेसबीच उम्मेदवारको जुहारी नै चलेको छ । रौतहट क्षेत्र नं १ मा रहेको पाँच पालिकामध्ये चारवटा पालिकामा जनता समाजवादी पार्टी नेपालले गठबन्धन नगर्ने निर्णय गरेको छ । जसपा नेपालका क्षेत्र नं १ का केन्द्रीय सदस्यसहितका नेताहरूको शनिबार बसेको बैठकले आसन्न निर्वाचनामा चार वटा पालिकामा गठबन्धन नगरी एक्लै चुनाव लड्ने निर्णय गरिसकेको छ । रौतहट क्षेत्र नं १ को पाँचवटा पालिकाहरूमध्ये गौर नगरपालिका, माधवनारायण नगरपालिका, दुर्गाभगवती गाउँपालिका र यमुनामाई गाउँपालिकामा जसपाले एक्लै चुनाव लड्ने निर्णय गरेको हो । ती पालिकाहरू समाजवादी र कांग्रेसले नछोडने अडानमा छन् । ती दलका उम्मेदवारहरू चुनावी प्रचार प्रसार समेत गरिरहेका छन् ।

जसपा मजबुत रहेका पालिकामा नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीसहित कुनै पनि दलसँग गठबन्धन नगरी एक्लै चुनाव लड्ने निर्णय गरेको बैठकमा सहभागी पार्टीका केन्द्रीय सदस्य रेवन्त झाले जानकारी दिए । यी चारवटा पालिकामा जसपा एक्लै चुनाव लड्न सक्षम रहेकोले यहाँ कसैसँग गठबन्धन गर्नुपर्ने आवश्यक्ता नरहेको बताउँदै नेता झाले राजदेवी नगरपालिकामा गठबन्धनमा आवद्ध दलसँग तालमेल गरेर अगाडि बढ्ने निर्णय भएको बताए । रौतहटमा १८ वटा स्थानीय तहहरू रहेकोमा एमालेको पकड क्षेत्र रहेको मौलापुर नगरपालिकामा कांग्रेस, माओवादी, नेकपा एकिकृत समाजवादी र जसपा नेपालबीच गठबन्धन गरेर अगाडि बढ्ने जसपाको निर्णय छ ।

मौलापुर, कटहरिया र राजदेवी नगरपालिका बाहेकका पालिकाहरूमा जसपाको राम्रो पकड रहेकोले अन्य पालिकाहरूमा जसपा नेपालले गठबन्धन गर्ने पक्षमा नरहेको तर पार्टीले गठबन्धन गर्न बाध्य बनाएको अवस्थामा आवश्यकता र औचित्यको आधारमा तालमेल गर्न सक्ने निर्णय जिल्ला कमिटीको रहेको झाले बताए । त्यस्तै महोतरीको बर्दिबास नगरपालिका माओवादी र प्रदेशका एकमात्र महानगरपालिका वीरगंज जसपाले कुनै पनि हालतमा नछोडने अडानमा छन् ।

एमाले र लोसपा जितेका केही पालिकामा मात्र चुनावी तालमेल गर्नेगरी सबै दलको आन्तरिक तयारी रहेको कारण चुनावी तालमेल सहमति कार्यान्वयन हुन नसक्ने अवस्था रहेको कांग्रसका एक नेताले बताए ।