पोखराको मेयर नपाए एमालेसँग मिल्ने कास्की एसका अध्यक्षको धम्की !
पोखरा – आगामी निर्वाचनमा गठबन्धन गर्ने विषयमा सोमबार कास्की चर्चामा रह्यो। कांग्रेस सचिवद्वयको विज्ञप्तिले बिच्किएको गठबन्धनमा अर्को एउटा समस्या थपियो । घटना थियो एकीकृत समाजवादी कास्कीका अध्यक्ष धनराज आचार्यको वक्तब्य । उनले मेयर आफूले नपाए एमाले जानसक्ने धम्की दिए ।
बैठकमा गठबन्धनका दलले अपमान गरिरहे एमालेसँग मिल्न सक्ने अध्यक्ष आचार्यले चेतावनी दिएको गठबन्धनका अरु सदस्यहरुले बताएका छन् । केन्द्रबाट कांग्रेस र एकीकृत समाजवादी दुवैले मेयरमा उम्मेद्वार उठाउने र माहोल हेरेर एउटाले फिर्ता लिने छलफल चलेको खबर पाएपछि आचार्यले उक्त प्रस्ताव ठिक नहुने बताएका हुन् ।
‘माधवजीले कांग्रेस र एसका उम्मेद्वारले उम्मेद्वारी दिन लगाउने र जसको माहोल राम्रो हुन्छ, उसैलाई अगाडी बढाऔं भन्नुभएछ । त्यो कुरा मैले यहाँ सुनाएँ, र हुन्छ भनें,’ कांग्रेस सभापति किशोरदत्त बराल भन्छन्, ‘धनराज जीले नेताहरुलाई फोन गर्नुभयो । त्यसपछि नोमिनेसन नै गर्दिनँ । हामी कुनै पनि ठाउँमा दर्खास्त दिँदैनौं बरु एमालेसँग मिल्छौं भन्नुभयो ।’
कांग्रेसले कास्कीमा एकीकृत समाजवादीसँग गठबन्धन गर्न नसकिने विज्ञप्तिनै जारी गरेर स्पष्ट पारेको छ ।
पोखरामा कांग्रेसबाट मेयरका लागि १८, उपमेयरका लागि १० जना आकांक्षी
वैशाख – नेपाली कांग्रेसबाट पोखरा महानगरपालिकाको मेयरमा १८ र उपमेयरमा १० जनाले आन्तरिक उम्मेद्वारी दिएका छन् । कांग्रेस पोखरा महानगर समितिले आइतबार ४ बजेसम्म इच्छुकहरूलाई उम्मेदवारी दर्ता गराउन निर्देशन जारी गरेको थियो ।
सोही निर्देशन अनुसार मेयरका लागि १८ जनाले आवेदन दिएको कांग्रेस पोखरा महानगर समितिका सचिव गणेशबहादुर थापाले जानकारी दिए । भने उपमेयरमा १० जनाले आकांक्षा व्यक्त गरेको छन् । मेयरमा गण्डकी प्रदेशका कानुन, सञ्चार तथा प्रदेश सभा ममिला मन्त्री विन्दुकुमार थापासहित सुदीपमोहन भट्टराई, डा. परमेश्वर पोखरेल, निर्मलप्रसाद कर्माचार्य, कृष्णबहादुर केसी, बाबुराम आचार्यले आवेदन दिएको उनले बताए । यस्तै, सरस्वती गुरुङ, नन्दप्रसाद तिवारी, गंगाधर पराजुली, वीरेन्द्रनारायण बिजुक्छे, विश्वशंकर पालिखे, किशोरदत्त बराल, बाबुराम गिरी, गणेशबहादुर भट्टराई, कोपिला रानाभाट, किरण केसी, विश्व घिमिरे र ऋषि सापकोटाले उम्मेद्वारी दिएको थापाले बताए ।
यस्तै उपमेयरका लागि माया बराल कार्की, लक्ष्मी पाण्डे, आनन्दी राणा कार्की, रंगिला आचार्य, टिकाकुमारी गुरुङ, दिपक मल्ल, मिलन थापा, चिनु गुरुङ, शिव केसी र गोविन्द नेपालीले उम्मेदवारी दर्ता गराएका छन् । आवेदन दिनेहरूमध्येबाट पार्टीले मेयर र उपमेयरका उम्मेद्वार चयन गर्नेछ । आकांक्षी मध्येबाट केन्द्रलाई सिफारिस गर्ने नामको टुंगो बैठक बसेर लगाउने थापाले जानकारी दिए । ‘पहिला हाम्रो बैठक बस्छ त्यसपछि कसरी जाने के गर्ने टुंगोमा पुग्छौं,’ उनले भने, ‘महानगर समितिमा उम्मेद्वार छनोट उपसमिति पनि छ यसैबाट छनोटको काम अघि बढ्छ ।’
कांग्रेस पोखराः मेयर, उपमेयरमा जेठाजु बुहारीदेखि रामचन्द्रका ज्वाईंसमेतको दाबी
पोखरा – नेपाली कांग्रेसले पोखराको मेयर र उपमेयरको नाम संकलन गरिसकेको छ । दुई दिनसम्म संकलन गरिएको नामबारे मतदानबाट संख्या घटाउने वा सबै नाम सिफारिस गर्ने भन्ने छलफल सुरु भएको छ । मेयरमा १८ र उपमेयरमा १० जनाले आकांक्षा देखाएका छन् । उनीहरूले मेयरमा २५ र उपमेयरमा २० हजार तिरेर नाम टिपाएका हुन् ।
पोखराको मेयर र उपमेयरमा एउटै घरबाट पनि दाबी परेको छ । मेयरमा जेठाजु (मन्त्री विन्दुकुमार थापा) र उपमेयरमा बुहारी (मिलन थापा) ले नाम टिपाएका हुन् । उनीहरु दुवै जना महाधिवेशन प्रतिनिधि पनि हुन् । महधिवेशनकै बेला जेठाजु बुहारीलाई महाधिवेशन प्रतिनिधिमा रोक्ने प्रयास नभएको होइन । तर, दुवै जनाले अत्यधिक मत ल्याएर महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका हुन् ।
मेयरमा रामचन्द्रका छोरीज्वाईं परमेश्वर पोखरेल पनि दाबेदार छन् । उनी हाल पार्टीमा कुनै पनि पदमा छैनन् । गत मंसिरमा भएको १४औं महाधिवेशनअन्तर्गत कास्की सभापतिमा पराजित भएका सुदिपमोहन भट्टराई र जितेका किशोरदत्त बराल दुवैजना मेयरको आकांक्षी छन् ।