माओवादीको चुनावी पोष्टरमा कुलमानको तस्बिर, सामाजिक सन्जालमा चर्को आलोचना
काठमाडौँ — नेकपा माओवादी केन्द्रले आफ्नो चुनावी पोस्टरमा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको तस्बिरसमेत राखेको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहालको आधिकारिक फेसबुक पेज ‘क. प्रचण्ड’ बाट बुधबार सार्वजनिक गरिएको डिजिटल पोस्टरमा अध्यक्ष दाहालसँगै अर्थमन्त्रीसमेत रहेका नेता जनार्दन शर्मा र प्राधिकरणका कार्यकारी निर्देशक घिसिङको तस्बिर राखिएको छ ।
‘अँध्यारोबाट उज्यालोको यात्रा’ लेखिएको उक्त पोस्टरमार्फत माओवादीले लोडसेडिङ अन्त्यलाई आफ्नो ठूलो सफलताका रूपमा चित्रण गरेको छ । साथै अब नि:शुल्क बिजुलीको अभियानलाई अगाडि बढाउनेसमेत माओवादीले जनाएको छ ।
निर्वाचन आचारसंहिता २०७८ मा भने सरकारी कर्मचारीले कुनै पनि राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रचारप्रसारमा संलग्न हुन रोक लगाइएको छ । कार्यकारी निर्देशक घिसिङले भने आफ्नो सहमतिबिना तस्बिर राखिएको प्रतिक्रिया दिएका छन् । ‘मेरो तस्बिर नराख्नु भनेको थिएँ । मेरो सहमतिविपरीत उहाँहरूले तस्बिर राख्नु भएछ । त्यसमा मेरो विमति छ,’ घिसिङले कान्तिपुरसँग संक्षिप्त प्रतिक्रिया दिँदै भने ।
यसअघि माओवादीले आफ्ना चुनावी प्रचार सामग्री अध्यक्ष दाहालका साथै माओ,लेनिनलगायतका तस्बिर राखे पनि यस पटक भने विद्युत प्राधिकरण कार्यकारी निर्देशक कुलमान घिसिङसमेतको तस्बिर राखेको हो ।
चुनाबी पोष्टरप्रति सामाजिक सन्जालमा चर्को आलोचना
त्यस्तै सत्तारुढ दल नेकपा माओवादी केन्द्रले चुनावी प्रचारमा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको तस्बिर दुरुपयोग गरेपछि चर्को आलोचना भएको छ। नेताहरुले बुधबार फेसबुकमा घिसिङको तस्बिर राख्दै माओवादी केन्द्रलाई मत माग्न थालेपछि सामाजिक सञ्जालमा आलोचना हुन थालेको हो।
तस्बिरमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’,अर्थमन्त्री जनार्दन शर्मासँगै नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमानको तस्बिर राखिएको छ। माओवादी केन्द्रले निर्वाचन आचारसंहिता विपरित कर्मचारीको तस्बिर पार्टीको चुनाव प्रचारमा दुरुपयोग गरेको हो। निर्वाचन आयोगले स्थानीय तह निर्वाचनको प्रचारमा सरकारी कर्मचारी सहभागी हुन आयोगले रोक लगाएको हो। त्यसैगरी चुनावी प्रचारमा सार्वजनिक निकाय वा गैरसरकारी संघ संस्थाबाट कुनै पनि प्रकारको आर्थिक सहयोग लिन नहुने उल्लेख गरिएको छ।
माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको आधिकारिक फेसबुकमा ‘लोडसेडिङ अन्त्य एउटा फड्को, अब पालो निशुल्क बिजुलीको’, #VoteForCPNMaoist लेखेर प्रचार गरेपछि कार्यकर्ताले शेयर गरेका छन्। त्यसैगरी पोस्टरमा अँध्यारोबाट उज्यालोको यात्रामा लेखिएको छ।
समाचार सार्वजनिक भएपछि सामाजिक सञ्जालमा आएकामध्ये केहि प्रतिक्रिया :
राजेन्द्र सुवेदी लेख्छन् :
माओ लेलिनका फोटा नबिकेर कुलमानको फोटो बेच्नुपर्ने बाध्यता !
पासाङ शेर्पा लेख्छन् :
कुलमानको फोटो नराखी माओवादी बिक्नु पनि त पर्यो नि ? एउटा चुनावी एजेन्डा नभेटेपछि कुलमान घिसिङको फोटो दुरुपयोग गर्नु त भएननी,कुलमान कर्मचारी अभियानता होइन्न भन्ने कि नेता बइसके…
गोपाल घिमिरे लेख्छन् :
एउटा कर्मचारी को फोटो राखेर चुनाबी प्रचार गर्नु यहि बाट प्रस्ट हुन्छ कि माओबादी मा तेस्ता कोइ नेता रहेनछन कि जो जन्ता बिच मा जान सकुन।। सबै नालायक आतंककारी भ्रस्टाचारि
ज्ञानेश्वर अर्याल लेख्छन् :
कुलमानको तस्बिर छाप्न भन्दा त लम्जुङ्गका शिक्षक मुक्ति अधिकारीलाई रुखमा बाँधेर मारेको तस्बिर राख्नु पर्थ्योनि चुनाबमा, भोट दिने भए देऊ नत्र यस्तै गरि मार्दिन्छौ भनेर भनेको भए त शिक्षकहरु जति सबैले भोट दिन्थे होलानि ब्यर्थैमा कुलमानको फोटो हालेछ।
अरुण शाह (@arunshah240)लेख्छन् :
कुलमान अघोषित रुपमा माओवादी कार्यकर्ता थिए अब प्रचण्डले चुनावी पोस्टरमा उनको फोटो राखेर आधिकारिक रुपमै नेता नै बनाएर छाडे।
विमल पोखरेल (@bimalwin) लेख्छन् :
माओवादीले आफ्नो चुनावको पोस्टरमा वि.प्रा.का कुलमान घिसिङको फोटो राखेछ। सरकारी कर्मचारी भएर पार्टीको चुनाव प्रचार देश र जनता विरोधी काम हो। राज्यशक्तिको चरम दुरुपयोग भयो। प्रधानमन्त्री
@SherBDeubaज्यू, कुलमान घिसिङलाई तत्काल बर्खास्त गरियोस्। यस्ता कर्मचारीले देश चल्दैन !
कमल पौड्याल लेख्छन् :
एउटा चुनावी एजेन्डा नभेटेपछि कुलमान घिसिङको फोटो दुरुपयोग गर्नु त भएन नि?कुलमान कर्मचारी हुन अभियानता होइन्न भन्ने कि नेता भैइसके…कुलमान घिसिङ सरकारी कर्मचारी हुन् कि माओवादी नेता? सरकारी कर्मचारीलाई आचारसंहिता लाग्छ हैन र ?
उमेश भण्डारी लेख्छन् :
कुलमान घिसिङ विद्युत प्राधिकरणका कार्यकारी हुन् कि माओवादी केन्द्रका।
सरकारले आगामी बैशाख ३० गते स्थानीय तहको निर्वाचन घोषणा गरेको छ। सत्तारुढ गठबन्धनले प्रमुख प्रतिपक्षी दल एमालेविरुद्ध निर्वाचनमा गठबन्धन गरेर जाने निर्णय गरिसकेको छ ।