मनोनीत राष्ट्रियसभा सदस्य दाहालद्वारा शपथ
काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रियसभा सदस्यमा मनोनीत नारायणप्रसाद दाहाललाई आज पद तथा गोपनीयताको शपथ गराउनुभएको छ । राष्ट्रियसभाको दिगो विकास तथा सुशासन समितिको बैठक कक्षमा आयोजित कार्यक्रममा अध्यक्ष तिमिल्सिनाले सदस्य दाहाललाई शपथ गराउनुभएको हो ।
शपथपछि अध्यक्ष तिमिल्सिनाले सदस्य दाहाललाई सङ्घीय संसद्को लोगो प्रदान गर्नुभएको थियो । अध्यक्ष तिमिल्सिनाले सदस्य दाहाललाई राष्ट्रियसभाको गरिमा उँचो राख्दै काम गर्न शुभकामना दिनुभयो । शपथ ग्रहण कार्यक्रममा सङ्घीय संसद् सचिवालयका महासचिव डा भरतराज गौतम लगायतको उपस्थिति थियो ।
राष्ट्रपति विद्यादेवी भण्डारीले यही चैत २५ गते दाहाललाई मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रियसभा सदस्य मनोनीत गर्नुभएको हो । सरकारले नेपालको संविधानको धारा, ८६ को उपधारा, (२) को खण्ड (ख) बमोजिम उहाँलाई राष्ट्रियसभा सदस्यमा मनोनीत गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो ।
प्रचण्डको परिवार भएकाले अवसर गुमाएको छु : नारायण दाहालको स्पष्टीकरण
काठमाडौं । राष्ट्रियसभा सदस्य नारायण दाहालले आफ्नो मनोनयनको बचाउ गरेका छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको परिवारिक सदस्य भएकै कारण राष्ट्रियसभा सदस्यमा मनोनित गरेको भन्दै आलोचना भइरहेका बेला दाहालले भने आफूले अवसरहरु गुमाएको दाबी गरेका छन्।
मंगलबार राष्ट्रियसभा सदस्यको पद तथा गोपनियताको सपथ लिएपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै दाहालले भने, ‘अध्यक्ष र म एकैदिन होलटाइमर भएर हिँडेको । म निरन्तर पार्टीमा छु, निरन्तर काम गरेको छुु ।’ उनले अघि भने, ‘मेरो दाबी छ, यस्तै बाहिरका कुराले मैले जति अवसरहरु पाउनुपर्ने हो, त्यो गुमाएको छु ।’ माओवादी सशस्त्र विद्रोहमा आफू मात्र होइन, परिवारका सबै सदस्य लागेको र निरन्तर पार्टीमा सक्रिय रहेको उनले बताए ।
अहिले प्रचण्डको परिवारको सदस्य भएकै कारण अवसर पाएको भन्ने भनाइ लगत भएको उनको दाबी छ । ‘हिजो युद्धमा हिँड्दा तपाईंका छोराछोरीहरु के भन्ने प्रश्न आउँथ्यो,’ राष्ट्रयसभा सदस्य दाहालले भने, ‘म गर्वका साथ भन्छु, हाम्रो परिवारमा अध्यक्षकै छोराछोरीदेखि मेरो छोराबुहारी, श्रीमती सबै युद्धमै थियौं ।’
भरतपुरकी मेयर रेनु दाहाल प्रचण्डकी छोरी भएर कार्यकर्ता र नेताका रुपमा पार्टीमा आएको उनले जिकर गरे । दाहालले अघि भने, ‘भरतपुरमा रेनुलाई हामीले खोजेको होइन, भरतपुरका जनताले खोजेका छन् त्यहाँको विकास निर्माणका कामकारबाहीले गर्दा ।’