नवनियुक्त उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूसँग उद्योगी व्यवसायीको भेट

काठमाडौँ — उद्योगी व्यवसायीले नवनियुक्त उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूलाई भेटेर आफ्ना समस्या सुनाएका छन् । उद्योग वाणिज्य महासंघ र उद्योग परिसंघले मन्त्री बडूलाई छुट्टाछुट्टै भेटेर निजी क्षेत्रका समस्याबारे अवगत गराएका हुन् । महासंघका अध्यक्ष शेखर गोल्छाको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले तरलता अभाव र चर्को व्याजदरले उद्योग व्यवसाय सञ्चालनमा सकस परेको गुनासाे गरेको छ ।

साथै विद्युत् कटौती र इन्धनको चर्को मूल्यका कारण लागत अत्याधिक बढेकाले निकास दिन मन्त्री बडूसमक्ष महासंघले आग्रह गरेको छ । सो क्रममा मन्त्री बडूले यस क्षेत्रको समग्र समस्या समाधानका लागि पहल गर्ने प्रतिबद्धता जनाए ।

त्यस्तै उद्योग परिसंघले नियमनकारी निकायहरूबाट नियन्त्रणमुखी नीति जारी गर्दै आर्थिक गतिविधि संकुचित गर्ने काम भइरहेको गुनासो गरेको छ । परिसंघका कार्यबाहक अध्यक्ष राजेशकुमार अग्रवालले निजी क्षेत्रले हाल तरलता अभाव, उच्च ब्याजदर, चालु पुँजी कर्जाको समस्या, वैदेशिक व्यापारमा नियन्त्रणको समस्या ब्यहोरिरहेको जानकारी गराए । राष्ट्र बैंकले वस्तु आयातमा नियन्त्रण गर्दा बजारमा नकारात्मक असर पर्नेतर्फ सचेत हुन पनि परिसंघले आग्रह गरेको छ । आयात बन्द हुँदा बजारमा कृत्रिम अभाव, मूल्यवृद्धि जस्ता समस्या सिर्जना हुन सक्ने परिसंघको भनाइ छ । अग्रवालले नेपालको औद्योगीकरणमार्फत उत्पादन वृद्धि गर्नुपर्ने आजको आवश्यकता रहको भन्दै त्यसका लागि परिसंघले ‘मेक इन नेपाल’ अभियान अघि बढाएको जानकारी गराए ।

भेटका क्रममा नवनियुक्त मन्त्री बडूले महत्वपूर्ण आर्थिक मुद्दाहरूमा सम्पूर्ण सरोकारवालाहरू एकै ठाउँमा हुनुपर्ने बताए । ‘हामीले अहिलेदेखि नै सामूहिक प्रयास नगर्ने हो भने अर्थतन्त्रमा समस्या आउन सक्छ,’ मन्त्री बडूले भने ‘अर्थ मन्त्रालय, उद्योग मन्त्रालय, नेपाल राष्ट्र बैंकसहित सबै निकायहरू एकै ठाउँमा हुनुपर्छ । निजी क्षेत्रलाई पनि साथमै लिएर अघि बढ्छाैं ।’ मन्त्री बडूले निजी क्षेत्रलाई विश्वासमा लिएर अघि बढ्ने उल्लेख गरे । ‘अर्थतन्त्र निजी क्षेत्रले चलायमान बनाउने हो, सरकारको भूमिका तपाईंहरूका लागि सहजीकरण गरिदिने हो,’ उनले भने ‘औद्योगिक वातावरण निर्माणका लागि निजी क्षेत्रलाई के आवश्यक छ हामीलाई जानकारी दिनुस्, सहयोग गर्न तयार छाैँ ।’