नेपाली काङग्रेसबाट काठमाडौं महानगरपालिका लागि यी हुन् मेयरका आकांक्षीहरु ?

काठमाडौं– स्थानीय चुनाव नजिकिएसँगै काठमाडौं महानगरपालिकाकाे चुनावी माहाेल चर्चामा छ । राजधानीसमेत भएकाले यहाँकाे प्रमुख पद आफ्नाे पाेल्टामा पार्न दलहरुबीच रस्साकस्सी चलेकाे हाे । अघिल्लाे स्थानीय तहकाे निर्वाचनमा काठमाडाै‌ महानगरकाे मेयर पदमा एमालेका विद्यासुन्दर शाक्यले चुनावी परिणाम आफ्नाे पक्षमा पारेकाले अहिले त्याे साख जाेगाउनतिर एमाले लागिपरेकाे छ ।

यहाँबाट उपमेयरमा नेपाली कांग्रेसकी हरिप्रभा खड्गी विजयी भइन्। कांग्रेस पनि सत्ता आफ्नाे पक्षमा पार्न दाैडधुप गरिरहेकाे छ। अन्य दलसमेतले महानगरमा आँखा लगाइरहेका छन् ।

देशकै ठूलो महानगरमा सत्तारुढ दल नेपाली कांग्रेसका धेरै नेता महानगरको उम्मेदवार बन्न लालसा लिएर दौडिरहेका छन् । अहिले उपप्रमुख रहकी हरिप्रभा खड्गी प्रमुख दाबेदारको रुपमा देखिएकी छिन् । उनले आउने निर्वाचनमा महानगरको मेयरका लागि आफ्नो दाबी रहेको बताइन् । महानगरको सम्पदा, संस्कृति जोगाउने देखि लिएर यहाँका बेथिति हटाउन आफ्नो उम्मेदवारी रहने जानकारी​ दिइन् ।

यस्तै अघिल्लो निर्वाचनमा एमालेका विद्यासुन्दर शाक्यसँग पराजित भएका राजुराज जोशीले पनि आफ्नो आकांक्षा कायमै रहेको बताए । उनी २०७४ को निर्वाचनमा १९ हजार ६ सय ४४ भोटले हारेका थिए । पार्टीले टिकट दिए आफू उम्मेदवार बन्न तयार रहेको उनले जानकारी दिए । ‘म प्रदेश तिर पनि गइन्,’ उनले भने, ‘अघिल्लो चुनावको उम्मेदवार हो । त्यसैले स्वभाविक रुपले यसपटक पनि मेरो दाबी त रहन्छ नै । पार्टीले टिकटै दिएन भने त के गर्ने, तर मेरो चाहाना यो पटक महानगरमै भिड्ने रहेको छ ।’

कांग्रेस नेता प्रकाशमान सिंहकी श्रीमती सिर्जना सिंह पनि यसपटकको मेयरको दाबेदारीमा छिन् । उनलाई नेपाल महिला संघ काठमाडौंले मेयरको उम्मेदवार बनाउन पार्टीलाई दबाब दिने निर्णय गरेको छ । संघले महानगरपालिकाको लागि केन्द्रित भएर निर्णय गरेको जनाएको छ । यस्तै अहिले काठमाडौं महानगरपालिका २५ का वडाध्यक्ष निलकाजी शाक्य पनि मेयरको दाबेदारीमा छन् ।

उनी कांग्रेसको महानगरपालिकाका वर्तमान सभापति समेत हुन् । उनले आफूले महानगरको मेयरको लागि स्वत टिकट पाउनु पर्ने बताए । ‘मेरो दाबेदारी स्वभाविक हो,’ उनले भने, ‘मलाई पार्टीको १४ औँ महाधिवेशनले ७६ प्रतिशत मत दिएर पठाएको छ । यो भनेको त मेरो नेतृत्व चाहेको हो नि । त्यसैले मलाई यसपालि पार्टीले उम्मेदवार बनाउनु पर्छ । राजनीतिक रुपले निष्क्रिय रहनुभएका कतिपय साथीहरूले पनि दाबी गर्नुभएको छ । तर, त्यो उचित होइन ।’

यस्तै प्रतिमान रञ्जितले पनि मेयर पदमा दाबी गरिरहेका छन् । रञ्जित पार्टीको १४ औं महाधिवेशनमा महानगर सभापतिमा निलकाजी शाक्यसँग पराजित भएका थिए । यस्तै कांग्रेसका नेता तीर्थराम डंगोलले पनि महानगरको मेयर पदको लागि दाबी गरिरहेका छन् । डंगोल पुराना नेता हुन् । उनी यस अघि राज्यमन्त्री पनि बनिसकेका हुन् । तर, पार्टीले कसलाई उम्मेदवार बनाउने भनेर टुङ्गो गरेको छैन् । स्थानीय निर्वाचनका लागि सत्ता गठबन्धनको भागबन्डाको विषयमा छलफस्थानीय निर्वाचनका लागि सत्ता गठबन्धनको भागबन्डाको विषयमा छलफल भइरहेको छ । छलफल नटुङ्गिए सम्मका लागि कांग्रेसले उम्मदवारहरूको नामावाली सार्वजनिक नगर्न तल्ला कमिटीलाई निर्देशन दिएको छ ।