सगरमाथा आरोहण गर्न दुई सयले अनुमति पाए, अमेरिकाबाटै ४९ जना

काठमाडौँ – ​ दुई सय जनाले यो सिजनको लागि सगरमाथा आरोहण गर्न अनुमति पाएका छन् । सगरमाथा आरोहणका लागि यो सिजनमा ४१ वटा देशबाट आरोहीहरू नेपाल आउने भएका छन् ।

४६ जना महिला र १५४ जना पुरुष रहेको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ ।

सगरमाथा आरोहण गर्ने अनुमति पाउनेमा सबैभन्दा धेरै अमेरिकी नागरिक छन् । यो सिजनमा १० महिला र ३९ पुरुष अमेरिकी नागरिकले सगरमाथा आरोहणको लागि अनुमति पाएका हुन् । सर्वोच्च शिखर सगरमाथा आरोहण गर्न अनुमति पाउनेमा दोस्रो धेरै बेलायती नागरिक छन् ।

अनुमति पाउनेमा ४ महिला र २१ पुरुष गरी जम्मा २५ बेलायती नागरिक छन् । यस्तै महिला ५ र पुरुष १० गरी १५ जना भारती, अस्ट्रेलियाबाट १० जना, रसियाबाट १४ जनाले अनुमति पाएका छन् ।

यस्तै अनुमति पाउनेमा क्यानडा ११, चीन ९, फ्रान्स, जर्मनी, जापानबाट ३–३ जनाले अनुमति पाएका हुन् । अर्जेन्टिना, इरान, इटाली, मलेसिया, मेक्सिको, साउथ अफ्रिका, स्विडेनबाट २– २ जनाले सगरमाथा आरोहण गर्न अनुमति पाएका हुन् । यस्तै २० वटा देशबाट एक एक जनाले सगरमाथा आरोहण गर्ने भएका हुन् ।

त्यसैगरी यो सिजनमा १० जना नेपालीले समेत सगरमाथा आरोहणको लागि अनुमति पाएका छन् ।

राजु लामा र दिया पुन सगरमाथा आरोहण गर्दै, क्याम्प २ मा कन्सर्ट

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि जान लागेका मङ्गोलिन हार्टका गाएक राजु लामा र अभिनेत्री दिया पुनलाई आज बिदाइ गरेका छन् ।

मन्त्रालयमा आयोजना गरिएको एक कार्यक्रममा मन्त्री आलेले लामा र पुनलाई नेपालको राष्ट्रिय झन्डा प्रदान गरेर बिदाइ तथा आरोहणको शुभकामना दिएका हुन् । मन्त्री आलेले सगरमाथा आरोहण गर्न लागेका गायक लामा र अभिनेत्री पुनलाई आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाए ।

मन्त्री आलेले भने, ‘सतर्कता र सावधानीपूर्वक हिमाल चढ्नुहोला, आवश्यक पर्ने सहयोग भन्नु होला हामी सहयोग गर्न तयार छौँ ।’ जलवायु परिवर्तनले ल्याएको असरको सन्देश दिन गाएक लामा र नायिका दियाले हिमाल आरोहण गर्न लागेको बताए।