चुनावको मुखमा पनि दैनिक एक हजारले नेपाल छाड्छन् : बैदेशिक रोजगार
भन्छन- चुनावमा भोट हालेर गरिबीको ग्राफ मात्रै बढ्ने हो, मरुभूमिमा दु:ख गरे ऋणको भार अलि घट्छ कि !
काठमाडौँ- शिरमा ‘फोकस नेपाल’ लेखिएको टोपी छ । हातमा पासपोर्ट र सेतो कागज बोकेर उभिएका छन् उनी अर्थात अर्जुन मुखिया । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको गेट ‘टु’ अगाडिको लाममा मुखिया भेटिए । मुखिया पहिलोपटक कतार जाने तयारीसहित विमानस्थल पुगे । इलेक्ट्रिसियनको काममा जान लागेका उनलाई न कम्पनीको नाम थाहा छ न त उनलाई बसाइ कस्तो ठाउँमा हुन्छ त्यो थाहा छ । मात्र उनलाई थाहा म कतार जाँदैछु । उनले भने, ‘कागजपत्र हेर्दै कम्पनीको नाम भन्छु । अंग्रेजीमा छ, पढ्न सक्दिन्।’
देशमा स्थानीय तहको निर्वाचन हुन अब ३६ दिन मात्र बाँकी छ । आगामी वैशाख ३० गते निर्वाचन गर्न सरकार र निर्वाचन आयोग तयारीमा छन् । तर, विमानस्थलमा वैदेशिक राेजगारमा जान लाम लागेका युवाहरूको लाइन लामै छ । प्रत्येक दिन एक हजार हाराहारीमा युवाले जन्मभूमि छोडिरहेका छन् ।
उनीहरूको आँखाले जन्मभूमिभन्दा पनि कर्मभूमिलाई खोजिरहेको जस्तो देखिन्थ्यो । निर्वाचनलाई पर्खेका छैनन् । उम्मेद्वारहरू पनि प्राथमिकतामा छैनन् । हात र झोलामा पासपोर्ट बोकेर उभिएकालाई स्थानीय तहमा को-को प्रमुख छन्, त्यो पनि थाहा छैन । यति मात्र थाहा छ, ‘आफू र आफ्नो परिवारलाई गरिबीले पिरोलेको छ । चुनावमा भोट दिएर नेता जिताएर के काम छ र । गरिबीको संख्या झन् दिनदिनै बढ्ने मात्रै त हो नि । बरु मरुभूमिमा दु:ख गरे ऋणको भार अलि घट्छ कि ।’
गरिबीले बीचैमा विद्यालय छोड्दै
जनकपुर उपमहानगरपालिका–२० का मुखियालाई राजनीतिमा कुनै चासो छैन । दलको झण्डा बोकेर ठूलाे बन्नुभन्दा घरकाे आर्थिक अवस्थालाई लिएर उनलाई चिन्ता छ । स्वदेशमा काम पाउने अवस्था नभएकाले विदेश जानु परेको बाध्यता उनले सुनाए । स्वदेशमा भन्दा उनले तातो मरुभूमिमा आफ्नो भविष्य देखेका छन् । ‘चुनावले भविष्य बनाउँदैन तर, विदेश गए गरिबीलाई थोरै भए पनि हटाउँछ’ उनले भने । साेहीअनुसार उनी विदेश जाने निधाे गरे ।
चैतको महिना छ, तराईमा गर्मी बढ्दैछ । ताप बढेसँगै अभाव र पीडाको चाङ पनि २० वर्षीय मुखियाको जीवनमा थपिएको छ । अभावलाई कम गर्न सक्ने आशामा देश छोड्ने लाइनमा छन् उनी । आफ्नो पढाइलाई कक्षा ८ बाट उनले बिट मारे । गरिबीको कारण विद्यालय जान सकेनन् । आर्थिक अवस्था कमजोर भएकाले बीचमा विद्यालय छोड्नु परेको उनी बताउँछन् । दुई कठ्ठा जमिन छ । एक कठ्ठामा घर र बाँकी जमिनलाई परिवारले करेसाबारी बनाएको उनले बताए ।
‘सानैदेखि परिवारलाई सहयोग गर्न मजदुरी सुरु गरेँ’, झोला राखेको ट्रली गुडाउँदै उनी भन्छन्’, पाँच वर्षको लागि कतार जाँदैछु । घर र विदेश जाँदा लागेको ऋण तिरि सकेर फर्किने छु ।’
टोल-टोलमा नेता पुग्न थाले
सबै स्थानीय तहमा निर्वाचनको चहलपहल बढ्दैछ । केन्द्रका नेताहरू जिल्लातर्फ गइसकेका छन् । यतिखेर टोल-टोलमा राजनीतिक दलका कार्यकर्ता छलफलमा व्यस्त देखिन्छन् । नेता तथा कार्यकर्ताहरूको पाइला मतदाताहरूको आँगनतर्फ लम्किन थालिसकेका छन् । निर्वाचनको समयमा उनलाई विदेश नजान भन्दै पार्टीका नेता तथा कार्यकर्ता घरमा पुगेका थिए । ‘चुनाव आइसकेको छ । भोट हालेर जानु भन्दै मोटरसाइकलमा उहाँहरु आएका थिए । चुनाव आउँछ जान्छ,’ मुखियाले इकागजसँग भने ‘, त्यसको बदलामा हामीले केही पाउँदैनौँ । हामीमाथि लागेको ऋण झन्-झन् चुँलिदै जान्छ। जितेका कुनै नेताले पनि मेराे ऋण तिर्दैनन् ।’
सरकारले वैदेशिक रोजगारीमा जानेलाई ‘फ्रि टिकट’ र भिसाको घोषणा गरिसकेको छ । प्रभावकारी ढंगले कार्यान्वयन हुन नसक्दा अहिले पनि रोजगारीका लागि विदेश जानेहरू लाखाैँ रकम तिर्न बाध्य छन् । उनले म्यानपावरलाई दुई लाख रुपैयाँ बुझाएकाे बताए । उनी त्यहाँ ओभर टाइमसहित १३ सय रियल पाउँछन् । लाइनमा बस्दा भिडियो कलमार्फत भन्दै थिए’, साथी हो । म जाँदैछु । सबलाई मिस गरिरहेकाे छु ।’
काम गरेर खान जन्मभूमि छोड्दै
विमानस्थलमा देश छोड्ने लाइनमा मुखिया मात्र थिएनन् । महोत्तरी बलवा–९ का ह्यान शेख पनि त्यही भेटिए । उनी मुखिया जस्तो पहिलोपटक कतार जान लागेका भने होइनन् । दोस्रो वर्षको विदा सकाएर कर्मभूमि जान लागेका हुन् । बलवामा पनि निर्वाचनको चहलपहल सुरु भइसकेको छ । नेपालीदेखि भारतीय नम्बर प्लेटका सवारीसाधनहरू गुड्न थालिसकेका छन् । चुनावको तयारी गर्न साँझदेखि टोलका दोकानमा मानिसहरू छलफल गर्न भेला हुने गरेको उनले बताए ।
मधेस प्रदेशबाट प्रतिनिधित्व गर्ने मुख्य-मुख्य दलका कार्यकर्ताहरू घुम्न घरदैलो गर्न थालिसकेका छन् । ‘निर्वाचनले काम गरेर खानेलाई केही पनि दिँदैन, मत पाएपछि आफूले गरेका बाचाहरू बिर्सँदै जान्छन्’, उनले इकागजसँग भने ,’ नेताले गर्ने भए घरमा बसेका अन्य दाजुभाइहरू बेरोजगार बस्नु पर्दैन थियो ।’
शेखले क्लिनर काम गरेको चार वर्ष भयो । ओभरटाइम गरेर १३ सय रियल पाउँछन् । ९ कक्षासम्म पढेका उनले विद्यालयको शिक्षा पूरा गर्न सकेनन् । उनले भने, ‘राम्रो पढाइ भएको भए तलब र काम पनि राम्रो पाइन्थ्याे ।’