वायुसेवा सञ्चालक संघले पनि पत्रकार ऋषि धमलाको ब्यबहार असभ्य भएको भनि ध्यानाकर्षण

काठमाडौँ – वायुसेवा सञ्चालक संघले प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमणबाट स्वदेश फर्किने क्रममा नेपाल वायुसेवा निगमको विमानमा प्राइम टेलिभिजनका पत्रकार ऋषि धमलाले गरेको क्रियाकलापप्रति ध्यानाकर्षण भएको जनाएको छ। प्रधानमन्त्रीसहितको भीभीआइपी उडानका क्रममा धमलाले असभ्य र उडान सुरक्षामा गम्भिर असर पुग्ने असंवेदनशील व्यवहार देखाएको प्रति संघले आपत्ती जनाएको हो।

प्रधानमन्त्री सहितको भीभीआइपी टोली सवार उक्त उडानमा मिडिया ग्रुपका व्यक्तिहरुबाट उडानका क्रममा अपनाउनु पर्ने नियमलाई समेत उल्लघंन गर्दै निषेधित कक्षमा क्यामरा सहित प्रवेश गरी अमर्यादित व्यवहार देखाउनु दुर्भाग्यपूर्ण रहेको संघले जनाएको छ।

उक्त उडानमा धमलाले यात्रुलाई अनावश्यक हैरानी हुने कार्य नगर्न चालक दलको पटक पटकको अनुरोधलाई बेवास्ता गर्दै जवरजस्ती भिडियो क्लिपिङ्ग गरी लाइभ समाचार प्रसारण गरेको थिए। साथै धमलाले उडानकै क्रममा देखाएको यस प्रकारको हर्कतले उडानमा भिभिआइपीको सुरक्षा प्रोटोकलको समेत उल्लघंन भएको हुँदा यस्ता अवाञ्छित कार्य आगामी दिनमा नगर्न समेत संघले अनुरोध गरेको छ।

नेपाल नागरिक उड्डयन प्राधिकरण, नागरिक उड्डयन सुरक्षा नियमावली, २०७३ मा वायुयान भित्र शान्ति सु-व्यवस्था र अनुशासन कायम गर्ने सम्वन्धमा कानूनी व्यवस्थाहरु गरिएको र त्यस्तै नेपाल नागरिक उड्डयन प्राधिकरण, विमानस्थल सेवा शुल्क नियमावली, २०६७ मा नागरिक उड्डयन कार्यालयको बिना अनुमति विमानस्थल क्षेत्र भित्र छायाँकन गर्न नपाइने कानूनी व्यवस्थाहरु रहेकोले उडान सुरक्षा र हवाई सुरक्षामा उक्त नियमहरु तथा अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनबाट प्रतिपादित सिद्धान्तहरुको प्रतिकुल हुने गरी कही कतै वा कुनै कृयाकलाप भएमा देशको समग्र हवाई उड्डयन क्षेत्रको छविमा नकारात्मक प्रभाव पर्ने हुँदा वायुयान भित्र सौहार्दपूर्ण व्यवहार गरी हवाई सुरक्षालाई स्-व्यवस्थित तथा अनुशासन कायम राख्ने विषयमा सम्पूर्ण सबैको सहयोगको अपेक्षा गरेको जनाएको छ ।