
मुक्तिनाथ मन्दिरको भेटी पाँच करोड बढी
जोमसोम : हिन्दू तथा बौद्ध धर्मालम्बीहरुको साझा धार्मिक तीर्थस्थल मुस्ताङको मुक्तिनाथमा भक्तजनले दान पेटिकामा चढाएको भेटी सोमबार गणना गरिएको छ । जिल्ला प्रशासन कार्यालय, मालपोत कार्यालय, नापी कार्यालय, सुरक्षा निकाय, प्रभु बैंकका प्रतिनिधि, मुक्तिनाथ विकास समितिका प्रतिनिधि र मन्दिरमा कार्यरत आनी-झुमाहरुको रोहबरमा भक्तजनले चढाएको भेटी गणना गरिएको हो ।
मुक्तिनाथमा गत जेठ ३१ गते यता १० महिनामा १० लाख ८४ हजार ५ सय ६१ रुपैँया भेटी दान पेटिकामा संकलन भएको मुक्तिनाथ विकास समितिका सदस्य सचिव एवं जिल्ला मालापोत कार्यालय मुस्ताङका अधिकृत हरिबहादुर भुजेलले जानकारी दिए ।
त्यस्तै मुक्तिनाथ मन्दिरमा कर्मचारीले रसिद काटेर उठाएको चन्दा भेटी रकम करिब ३४ लाख संकलन भएको सदस्य सचिव भुजेलले बताए। उनका अनुसार मुक्तिनाथ विकास समितिले दान पेटिका र रसिद काटेर उठाएको रकम बैंकमा जम्मा गर्ने गरेको उनले बताए । गतवर्ष मुक्तिनाथमा दानपेटिकामा सोही अनुपातमा भेटी जम्मा भएको उनको भनाइ छ । तर, मुक्तिनाथ मन्दिरभित्र भक्तजनले चढाएको पैसा समितिले लिन पाउँदैन । मन्दिरभित्र दान गरेको पैसा मुक्तिनथा विकास समितिले राख्न पाउँदैन । त्यो पैसा त्यहाँ कार्यरत आनीभुमाहरुले मात्र राख्न पाउँछन् ।
सोमबार सम्बन्धित सरोकावालाहरुको रोहबरमा दान पेटिकामा जम्मा भएको पैसा मुचुल्का उठाई प्रभु बैंकमा रकम दाखिला गरिएको जनाइएको छ । दान पेटिका गणनामा प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्मासमेत उपस्थित थिए । मुक्तिनाथ विकास समितिले मन्दिर परिसरमा कूल ७ वटा दान पेटिका राखेको थियो। जसमध्ये ४ वटा दान पेटिका प्रयोगमा छन् भने ३ वटा दान पेटिका प्रयोगविहीन छन् । मुक्तिनाथ विकास समितिका सदस्य सचिव प्रयोगविहीन भएका र प्रयोगमा आएका दान पेटिका गरी अबदेखि ५ वटा दान पेटिका सञ्चालनमा ल्याइने उल्लेख गरे ।
मुक्तिनाथ विकास समितिको कोषमा हालसम्म करिब ५ करोड रकम जम्मा भएको सदस्य सचिव भुजेलले जानकारी दिए। उक्त रकम आवश्यक र औचित्यताको आधारमा खर्च हुने उनले बताए । मुक्तिनाथ विकास समितिले रसिदमार्फत् चन्दा संकलन गर्ने कर्मचारी एक जना र दुई जना सरसफाईकर्मीको व्यवस्थापन गरेको छ ।
त्यस्तै कर्मचारीको खर्च र मुक्तिनाथ मन्दिरको आन्तरिक व्यवस्थापन खर्चमा करिब मासिक १ लाख खर्च हुने गर्छ ।



