रुसी अर्बपति अब्रामोभिचलाई शान्ति वार्ताका क्रममा विष खुवाइएको दाबी

एजेन्सी । रुसी अर्बपति रोमन अब्रामोभिचलाई युक्रेनसँगको शान्ति वार्ताका क्रममा विष खुवाइएको दाबी गरिएको छ । युक्रेन-बेलारुस सीमामा रुससँग यही महिनाको सुरुवातमा भएको शान्ति वार्ताका क्रममा उनलाई विष खुवाइएको उनीनिकट स्रोतले जनाएको छ ।

इंग्लिस फुटबल क्लब चेल्सीका मालिकसमेत रहेका अब्रामोभिच अहिले निको भइसकेको जनाइएको छ । उनलाई आँखा सुन्निने र छाला खुइलिने लक्षण देखिएको बताइएको छ ।

साथै दुई जना युक्रेनी मध्यस्थकर्तालाई समेत त्यस्तै लक्षण देखिएको बीबीसीले जनाएको छ । वाल स्ट्रिट जर्नलले वार्ता भाँड्न खोज्ने रुसी कट्टरपन्थीहरूले विष मिसाएको हुन सक्ने बताएको छ ।

अमेरिकी अधिकारीले भने रोयटर्ससँगको कुराकानीमा ती व्यक्तिहरूमा प्रदूषित वातावरणका कारण त्यस्तो लक्षण देखिएको दाबी गरेका छन् । त्यस्तै युक्रेनी राष्ट्रपतिको कार्यालयले पनि अब्रामोभिचसँग कुरा नभए पनि युक्रेनी प्रतिनिधिमण्डलका सबैजना सकुशल रहेको र बाहिर आएका कुरा हल्ला मात्र भएको जनाएको थियो ।

वाल स्ट्रिटले भने स्रोतलाई उद्धृत गर्दै अब्रामोभिचका साथै युक्रेनी सांसद रुस्तेम उमेरोभको अवस्था सुधार हुँदै गएको बताएको छ ।

अब्रामोभिचले युक्रेन र रुसबीचको वार्तामा मध्यस्थकर्ताको भूमिका निभाएको बताइएको छ । तर उनको भूमिका कस्तो थियो भन्ने बारे भने केही खुलाइएको छैन । आइतबार मात्रै युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अब्रामोभिचले रुससँगको द्वन्द्व कम गर्नका लागि सहयोगको प्रस्ताव गरेको बताएका थिए ।

यसबीचमा अब्रामोभिचले मस्को र किभको थुप्रै पटक यात्रा गरेका छन् । उनले यसबीचमा जेलेन्स्कीलाई पनि भेटेको बताइएको छ तर युक्रेनी राष्ट्रपतिको कार्यालयले भने यसबारेमा केही खुलाएको छैन । यही महिनाको सुरुवातमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग सम्बन्ध भएको आरोप लगाउँदै बेलायत र युरोपेली युनियनले अब्रामोभिचमाथि प्रतिबन्ध लगाएको थियो ।

क्रेमलिनले पनि अब्रामोभिचले सुरुमा वार्ताका लागि पहल गरे पनि अहिले भने वार्ता प्रक्रिया दुवै देशका प्रतिनिधिमण्डलको हातमा रहेको जनाएको छ ।

रुससँग शान्ति वार्ताका लागि इस्तानबुल पुग्यो युक्रेनी प्रतिनिधिमण्डल

त्यस्तै रुससँग शान्ति वार्ताका लागि युक्रेनी प्रतिनिधिमण्डल टर्की पुगेको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार युक्रेनका रक्षामन्त्री ओलेक्सी रेज्निकोभको नेतृत्वको प्रतिनिधिमण्डल टर्कीको इस्तानबुल पुगेको हो ।

त्यस्तै राष्ट्रपति कार्यालयका प्रमुख मिखाइल पोडोल्याक पनि वार्ता टोलीमा सहभागी छन् । युक्रेनले वार्तामार्फत युद्धविरामको प्रयास सफल बनाइने बताएको छ । दुई हप्तापछि युक्रेन र रुसबीच वार्ता हुन लागेको हो । दुई देशबीचको वार्ता टर्कीका राष्ट्रपति रेचेप तय्यप एर्दोआनको उपस्थितिमा हुनेछ । वार्ता स्थानीय समयअनुसार मंगलबार बिहान १० बजेदेखि सुरु हुने छ।

रुसले युद्धविरामका लागि युक्रेनले उत्तर एटलान्टिक सन्धि संगठन(नेटो) मा आबद्ध नहुने प्रतिबद्धता चाहेको छ भने युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की उक्त सर्त मान्न तयार रहेको बताइएको छ ।

त्यस्तै वार्तामा पृथकतावादी समूहको नियन्त्रणमा रहेका युक्रेनी भूभागको भविष्यका बारेमा पनि कुरा हुने सम्भावना रहेको छ ।

केही दिनअघि मात्रै रुसले युक्रेनविरुद्ध पहिलो चरणको युद्ध सकिएको घोषणा गरेको थियो । एक महिनाअघि युक्रेनमाथि आक्रमण सुरु गरेको रुसले आफ्नो ‘रणनीति परिवर्तन गर्न’ युद्ध सकिएको घोषणा गरेको ठानिएको छ । रुसी रक्षा मन्त्रालयले युद्धको प्रारम्भिक उद्देश्य पूरा भएको र युक्रेनको युद्ध क्षमतामा कमी ल्याउन सफल भएको दाबी गरेको छ ।